
News Summary
Generated by OK AI. Editorially reviewed.- देशका प्रमुख स्वास्थ्य संस्थाहरूमा अर्ब बढी मूल्यका मेडिकल उपकरणहरू प्रयोगमा नआएको पाइएको छ।
- मूल्यवान उपकरणहरूको मर्मतसम्भार र प्राविधिक जनशक्तिको अभावले उपकरणहरूको प्रयोगमा बाधा पुगेको छ।
- अधिकांश उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेकाले प्रभावकारी उपयोग र व्यवस्थापनको आवश्यकताको औंल्याइएको छ।
३१ वैशाख, काठमाडौं । देशका प्रमुख स्वास्थ्य संस्थामा अर्ब बढी मूल्य पर्ने मेडिकल उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार उक्त तथ्य खुलासा भएको हो ।
प्रतिवेदन अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजारको ५ प्रकारका उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् ।
त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायतका ४ करोड २९ लाख ६५ हजारको ७ प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा फेला परेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विगतमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजारको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर पनि प्रयोगमा नआएको पाइएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाखको प्लाज्मा स्टेरलाइजर मेसिन १ थान लगायतका अत्याधुनिक उपकरणहरू समेत प्रयोगविहीन अवस्थामा रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ प्रयोजनका लागि स्थापना गरिएको १०० बेडको अस्पताल, जसलाई पछि डेंगु उपचारको लागि प्रयोगमा ल्याइएको थियो । हाल भेन्टिलेटरसहित मात्र २० बेड आईसीयू सञ्चालनमा रहेको छ । उक्त अस्पतालमा रहेका उपकरण २४ करोड ५१ लाख ५२ हजार महालेखाको प्रतिवेदनले जनाएको छ ।
यसैबीच, ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५०० मूल्यको क्याथल्याब मेसिन (करिब ६७ लाख रुपैयाँ ), २ करोड ५१ लाख ३२ हजारको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार ५ थान सीआर्म मेसिन र ९९ लाख ६६ हजारको क्याकमान काउन्टर बिग्रिएका कारण सञ्चालनमा आउन सकेका छैन ।
विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औंल्याएका छ ।
विज्ञका अनुसार महँगा उपकरणहरू प्रयोगविहीन हुनुको पछाडि मर्मत–सम्भारको कमी, प्राविधिक जनशक्तिको अभाव र व्यवस्थापकीय कमजोरी मुख्य कारण हो ।
प्रतिक्रिया 4