१ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत १२औं चरणका दुई खेल दशरथ रंगशालमा पनि हुने भएको छ । बी डिभिजन लिगका खेलहरु अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सञ्चालन भइरहेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार बी डिभिजन लिगको १२औं चरणको खेल स्थल र समय सार्वजनिक गरेको हो । जस अनुसार दुई खेल दशरथ रंगशालमा र पाँच खेल एन्फा कम्प्लेक्समै हुनेछ ।
१२औं चरण अन्तर्गत टुसाल युथ क्लब र झापा फुटबल क्लबबीच जेठ ४ गते दशरथ रंगशालमा खेल हुनेछ । यस्तै सरस्वती युथ क्लब र श्री कुमारी क्लबबीच जेठ ५ बजे दशरथ रंगशालमा खेल हुनेछ ।
११औं चरणको खेल सकिँदा प्लानिङ ब्वाइजले ए डिभिजन लिगमा बढुवा पक्का गरिसकेको छ । ११ खेलमा अपराजित प्लानिङले ८ जित र ३ बराबरीबाट २७ अंक जोडेर शीर्ष स्थानमा छ ।
अर्को अपराजित टोली श्री भवगती क्लब, टोखा २३ अंकसहित दोस्रोमा छ । श्री भगवती पनि बढुवा हुने होडमा छ ।
यस पटक बी डिभिजन लिगमा उपाधि जित्ने भन्दा रेलिगेसनबाट जोगिनका लागि क्लबहरु संघर्ष गरिरहेका छन् । रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको छ ।
प्रतिक्रिया 4