
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रचण्डले डडेलधुरामा भव्य स्वागत पाएको र पार्टीका नेताहरूसँग भेटघाट गरेको बताएका छन्।
- उनी अहिले सरकारको गलत बाटोमा हिंडिरहेको र सुशासनका कामहरूलाई भत्काउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
- प्रचण्डले वाम एकताको सम्भावना अहिले र आगामी चुनावसम्म नरहेको बताएका छन् ।
२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले डडेलधुरा आइपुगेको जानकारी फोनमार्फत् देउवालाई दिएको बताए ।
‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधुरामा स्वागत भन्नुभएको छ ।’
उनले डडेलधुरामा भव्य स्वागत भएको अनुभूति गरेको र राजनीतिक दलका नेताहरूसँग भेटघाट र कुराकानी भएको बताए ।
प्रचण्डले तराई मधेसमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान असाधारण रूपले सफल भएको निष्कर्ष पार्टीले निकालेको सुनाए ।
उनले अहिले सरकार ढलाउनेतिर माओवादीले ध्यान नदिएको बताए । ‘हाम्रो दलको हिसाबले भन्दा अहिले सरकार बनाउने र ढलाउनेतिर हाम्रो ध्यान छैन,’ उनले भने, ‘यद्यपि हामीलाई चिन्ता छ- सरकार गलत बाटोतिर हिंडिरहेको छ ।’
प्रचण्डले देशको घटनाक्रम भने राम्रोसँग अगाडि नबढेको बताए । ‘सरकारले सुशासनका हामीले सुरु गरेका कामहरूलाई भत्काउनतिर लागेको छ राम्रो काम गर्नेलाई दण्डित गर्दैछ नराम्रो काम गर्नेलाई पुरस्कृत गर्दैछ,’ उनले भने, ‘उल्टो बाटो हिंडेकोमा हामी चिन्तित छौं र सरकारलाई खबरदारी पनि सुरुदेखि गरेका छौं ।’
आलोचकलाई जति इमान्दार भए पनि फसाउने र नजिककालाई जसरी पनि बचाउनेगरी सरकार र प्रधानमन्त्री कार्यालय लागेको आरोप लगाउँदै उनले त्यसको विरोध गरे ।
‘तत्काल वाम एकताको सम्भावना छैन’
प्रचण्डले तत्काल वाम एकताको कुनै सम्भावना नरहेको बताए । यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भनेको उनले बताए ।
‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो,’ उनले भने, ‘फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण एनफ इज एनफ ।’
उनले अहिले तत्काल र २०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए ।
प्रतिक्रिया 4