
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराका विभिन्न ठाउँमा श्रृङ्खलाबद्ध चोरी तथा डकैती गर्ने समूहलाई पक्राउ गरी ६९ लाख रुपैयाँभन्दा बढीको चोरी खुलासा भएको छ।
- समूहका सबै सदस्यहरू आफन्त र नातेदार हुन् र उनीहरूले चोरी गर्न र बेच्न समूह बनाएर काम गरेका थिए।
- प्रहरीले चोरीका सामान र प्रयोग भएका मोटरसाइकलहरू समेत बरामद गरेको छ र यस समूहले विभिन्न ठाउँमा धेरै चोरी गरेको अनुसन्धानले देखाएको छ।
२ जेठ, काठमाडौं । पोखराका विभिन्न ठाउँमा श्रृङ्खलाबद्ध चोरी तथा डकैती गर्ने समूह सातौं प्रयासमा समातिएको छ ।
गत मंसिरदेखि अहिलेसम्म पोखराका ७ ठाउँबाट श्रृङ्खलाबद्ध रूपमा ६९ लाख रुपैयाँभन्दा बढीका धनमाल चोरी गर्ने समूहलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । यो डाँका तथा चोरी समूहका ५ सदस्यलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कटप्पा भनिने सुवास विक, सोही स्थानका २३ वर्षीय बिमल विक, शुक्लागण्डकी नगरपालिका-११ दुर्गेका २२ वर्षीय गणेश सुनार, स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक र सोही ठाउँका ५३ वर्षीय दुर्गाबहादुर थापा छन् ।
‘कटप्पा’ समूह भनेर चिनिने यो समूहले पोखरामा केन्द्रित रहेर डकैती धन्दा चलाउँदै आएको थियो । यो समूहका केही व्यक्ति भने यसअघि नै पक्राउ परी कारागारमा रहेको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिए ।
कटप्पा समूहबाट प्रहरीले चोरीका विभिन्न गरगहना बरामद गरेको छ । करिब १२ तोला ८ लाल बराबरका सुनका गरगहना बरामद भएको प्रहरीले बताएको छ । त्यसैगरी २४ तोला भन्दा बढीका चाँदीका गरगहना पनि बरामद भएको एसपी श्यामबाबु ओलियाले बताए ।
यो समूहले १६ मा २०८१ मा पोखराको सिसुवामा अन्दाजी ४ लाख ४९ हजार बराबरको गरगहना तथा धनमाल चोरी गरेको पाइएको प्रहरीले बताएको छ । ११ फागुन २०८१ मा पोखराकै तामुहनो दुर्गा मन्दिर टोलको एक घरबाट १८ लाख ४ हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
पोखराकै शान्तिपथ ठूलढुंगामा २८ फागुन २०८१ मा ८ लाख ८० हजार बराबरको धनमाल चोरी, २५ वैशाख २०८२ मा विजयपुरमा ३ लाख ४३ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी गत चैत २८ मा विजयपुरको सोताटोलको एक घरबाट १४ लाख ४८ हजार २ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । गत १४ मंसिरमो सोताटोलमै १५ लाख ९१ हजार ५६० र गत पुस १२ गते पोखराकै सक्कनेरी नहरकुलोस्थित एक घरबाट ३ लाख ८६ हजार ७५० रुपैयाँ बराबरको धनमाल गरी जम्मा ६९ लाख ३ हजार २६० रुपैयाँ बराबरको चोरी भएको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो ।
साथै अन्य ठाउँबाट समेत जाहेरी आउने क्रम जारी रहेकाले यसको संख्या थपिन सक्ने प्रहरीले बताएको छ ।
आफन्तको समूह बनाएर ‘कटप्पा’ को डकैती
पक्राउ परेको कटप्पा समूहमा रहेका सबै जना आफन्त तथा नातेदार हुन् । आफन्तको समूह बनाएर चोरी गर्नेदेखि चोरीको सामान बेच्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
मुख्य नाइके कटप्पा पोखरामै ढुंगा, गिट्टी, बालुवाको टेक्कापट्टा पनि गर्दै आएका थिए । १० कक्षा पास कटप्पाको अर्को धन्दा भने डकैती रहेको प्रहरीको भनाइ छ । उनलाई २९ वैशाखमा पोखराको बुढीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।
चोरी, डकैतीको धन्दा उनका लागि पुरानो हो । यसअघि ११ जेठ २०७४ देखि २२ जेठसम्म पोखराबाट विभिन्न ठाउँबाट १९ लाख ९९ हजार ५६४ रुपैयाँ बराबरको चोरी गरेको आरोपमा उनीविरुद्ध कास्कीबाट मुद्दा चलेको थियो । यो कसुरमा १४ असार २०७४ मा उनलाई कास्की अदालतले ५ वर्ष कैद र ३ लाख ५० हजार ५१५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । कैद भुक्तान गरेर उनी १० जेठ २०७९ कारागारबाट निस्केका थिए ।
कारागारबाट निस्केर कतार गएका कटप्पा ३ महिनामै नेपाल फर्केर पुन: डकैती तथा चोरीको धन्दामा लागेको पाइएको प्रवक्ता बस्नेतले बताए ।
अर्का आरोपी बिमल विक भने चालक हुन् । नाताले उनी सुवासको ठूलो बुवाको छोरा हुन् । कक्षा ११ सम्म अध्ययन गरेका उनलाई पोखराको मजुवा भन्ने ठाउँबाट प्रहरीले २६ वैशाखमा पक्राउ गरेको हो ।
अर्का आरोपी सुरेश पनि सुवासकै नातेदार हुन् । उनी सुवासको फुपुको छोरा रहेको पाइएको प्रहरीले बताएको छ । एसएलसी पास उनी कालिगढको काम गर्थे । सुवासकै योजनाअनुसार उनी पनि डकैतीमा संलग्न भएको प्रहरीको भनाइ छ ।
कालिगढको काम गर्ने गणेश पनि मुख्य प्रतिवादी सुवासकै फुपुका छोरा हुन् । कक्षा १२ पास गरेका उनी पनि कालिगढको काम गर्थे । उनलाई ३१ वैशाखमा पोखराको गौरीमार्गबाट पक्राउ गरिएको हो ।
अर्का प्रतिवादी दुर्गा भने सुवासका मामा हुन् । उनी स्याङ्जामा कोल्माकोट सुनचाँदी पसल चलाउँदै आएका थिए । चोरी तथा डकैती गरिएको सुन चाँदीका गरगहना यही पसलमा बिक्री हुने गरेको पाइएको डीएसपी बस्नेतले बताए ।
दुर्गाविरुद्ध यसअघि ५ मंसिर २०५७ र १ चैत २०६४ मा कास्कीबाट सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको समेत पाइएको छ । ६ असार २०८० मा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट चोरी तथा डाँका कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिएको छ ।

कारागारमा रहेका व्यक्तिको मोटरसाइकल प्रयोग गरेर चोरी तथा डकैती
कटप्पा समूहले चोरीका लागि प्रयोग गर्ने गरेको मोटरसाइकल पनि चोरीकै रहेको खुलेको छ । कटप्पा समूहका नाइके सुवासका दाजु नाता पर्ने एक व्यक्ति अहिले पनि हातहतियार तथा खरखजनाको कसुरमा कारागारमै रहेको प्रहरीले बताएको छ । तिनै व्यक्तिले प्रयोग गर्ने गरेको मोटरसाइकल चोरीका लागि प्रयोग हुने गरेको खुलेको छ ।
प्रहरीले यो समूहबाट ग२२प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल बरामद गरेको थियो । तर यो मोटरसाइकल चोरीकै रहेको खुलेको छ । चोरीमा प्रयोग भएको ग२१प ६७५३ नम्बरको अर्को स्कुटर पनि बरामद भएको छ ।
यो समूहले पोखरामा ९ र तनहुँमा ३ गरी १२ वटा घरमा चोरी तथा डकैती गरेको खुलेको प्रहरीले बताएको छ । सबै प्रतिवादीविरुद्ध चोरी तथा डाँकाको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4