News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले रातभरि काम गर्ने बानीको बारेमा पत्नी राधिका शाक्यले बताइन्, ‘केपी सर दिनको ८–१० घन्टा सुत्नुहोस् भन्ने चाहन्छु।’
 - राधिका शाक्यले ओलीको स्वास्थ्य र राति काम गर्ने बानीलाई सुधार गर्न सकिएको बताइन्, ‘राति धेरै समय काम गर्ने, पढ्ने वा बैठक गर्ने उहाँको बानीलाई मैले सुधार्न सकिनँ।’
 - उनले ओलीको स्मरणशक्ति बलियो रहेको र आफूभन्दा बढी हिमाल चिनाउने गरेको बताइन्, ‘उहाँलाई धेरैजसो हिमालका नाम र विशेषता पनि थाहा छ।’
 - राधिका शाक्यले आफूलाई राजनीतिमा रुचि नभएको र पुस्तक लेख्ने मुख्य कारण अनुभवहरूको दस्तावेजीकरण भएको बताइन्, ‘मैले पुस्तक लेखेर कुनै सन्देश दिन खोजेको होइन।’
 - उनीहरूले देशको विकासमा राजनीतिक स्थिरताको महत्त्व र सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए, ‘राजनीतिक स्थिरता नभए देश नबन्ने ठोकुवा गर्छु।’
 
५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेला गर्वका साथ भन्ने गर्छन्, ‘म रातभरि काम गर्छु, पढ्छु, तीन/चार घन्टा मात्रै सुत्ने गर्छु ।’
प्रधानमन्त्री ओलीसँग रातको १/२ बजेतिर बैठक गर्ने संख्या पनि काठमाडौंमा प्रशस्तै छ । तर प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई यसरी श्रीमान्ले रातभरि काम गरेको वा मिटिङ गर्ने गरेको चित्त बुझेको छैन ।
सोमबार आफ्नो पुस्तक ‘करुणा’का बारेमा सञ्चारकर्मीहरूसँग उनले भनिन्, ‘केपी सर दिनको ८–१० घन्टा सुत्नुहोस् भन्ने चाहन्छु । त्यसले उहाँको स्वास्थ्य अवस्था पनि राम्रो हुने थियो । तर परिस्थितिका कारण उहाँ राति धेरै सुत्न पाउनुहुन्न, सुत्नुहुन्न ।’
ओलीको स्वास्थ्यका लागि पनि उनलाई लामो समय आराम गर्न आफूले आग्रह गरे पनि त्यसमा सफल हुन नसकेको उनले बताइन् । ‘राति धेरै समय काम गर्ने, पढ्ने वा बैठक गर्ने उहाँको बानीलाई मैले सुधार्न सकिनँ ।’
रातको समय ओलीले लेखपढ गर्ने मात्रै नभई अन्य काम पनि गर्ने गरेको राधिकाले बताइन् । ‘कुनैकुनै विशेष अवसरमा उहाँ राति लेखपढ गर्नुहुन्छ । खासगरी कुनै दस्तावेज तयार गर्नुछ वा निर्णय गर्नुछ भने राति लेखपढ गर्ने बानी छ,’ उनले भनिन्, ‘नत्र अन्य समयमा भने उहाँ अरु नै काम गर्नुहुन्छ ।’
ओलीको स्मरणशक्ति निकै बलियो रहेको राधिकाले बताइन् । एकपटक पढेको विषय वा एकपटक थाहा पाएको कुरा उहाँ बिर्सनुहुन्न । म चाहिँ बिर्सिहाल्छु । काठमाडौंबाट पूर्व हवाईजहाजमा जाँदा उहाँले धेरै वटा हिमाल चिनाउनुहुन्छ । उहाँलाई धेरैजसो हिमालका नाम र विशेषता पनि थाहा छ । मलाई पनि सयौंपटक चिनाउनुभयो होला । तर म सगरमाथा, गौरीशंकर र कञ्चनजंघा मात्रै चिन्छु,’ उनले भनिन् ।
केपी ओली र आफूबीच धेरै कुरामा समान धारणा रहेको उनले बताइन् । ‘उहाँ र म बीच जीवन र देशलाई हेर्ने दृष्टिकोणा समान छ,’ उनले भनिन् ।
राजनीतिमा आउँदिनँ
आफूलाई राजनीतिमा आउने कुनै रुचि नभएको पनि प्रधानमन्त्री पत्नी राधिकाले बताइन् । ‘म राजनीति गर्ने खालको मान्छे होइन । अहिले मैले जे पाएको छु, राजनीति गरेको भए त्यो पाउँदिनथें,’ राजनीतिमा प्रवेश गर्ने मनसायले पुस्तक लेखेको हो कि भन्ने प्रश्नको जवाफमा उनले भनिन् ।
आफूले पुस्तक लेखेर कुनै राजनीतिक सन्देश दिन नखोजेको बरु लेखपढमा रुचि रहेकाले पुस्तक लेखेको पनि उनले बताइन् ।
‘मैले पुस्तक लेखेर कुनै सन्देश दिन खोजेको होइन । आफ्ना अनुभवहरूको दस्तावेजीकरण होस् भनेर किताब लेखेको हो । यसले कसैलाई फाइला होला कि नहोला भनेर हेरेको छैन, मैले अनुभव लेखेको हुँ । यो मेरो सम्पत्ति हो,’ उनले भनिन् ।
राजनीतिमै रुचि नभएपछि आफूलाई प्रधानमन्त्री बन्ने मन पनि नभएको उनले बताइन् । ‘राजनीति राम्रो भयो भने देश राम्रो बन्छ । तर एकजना राजनीतिज्ञ राम्रो भएर न राजनीति राम्रो हुन्छ , देश नै राम्रो बन्छ,’ राधिकाले भनिन् ।
एउटा सामान्य काम गराउन पनि अत्यन्तै कठिन रहेको भन्दै उनले त्यो आफ्नो बसको कुरा नभएको बताइन् । ‘म प्रधानमन्त्री भएँ भने पनि देश यसभन्दा राम्रो हुँदैन,’ उनले भनिन् ।

देश विकास नहुनुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको उनले बताइन् । ‘आज सरकार बन्यो, भोलिबाटै यो सरकार ढल्छ भनेर मिडियामा समाचार आउन थाल्छ, त्यस्तो हल्ला हुन्छ । अनि त्यस्तो सरकारलाई कर्मचारीले टेर्दैन । काम गर्न गाह्रो हुन्छ,’ उनले भनिन् ।
राजनीतिक स्थिरता नभई देश नबन्ने ठोकुवा उनले गरिन् । तर राजनीतिक स्थिरताका लागि आफ्नो भन्दा पनि जनता र मिडियाको भूमिका प्रमुख हुने राधिकाको भनाइ थियो ।
‘यस्तो गरिदेऊ भन्दै मसँग आउँदैनन्’
प्रधानमन्त्रीसँग भेट्न को-को आउँछन्, कस्ता मान्छे आउँछन्, आफूलाई धेरै थाहा नहुने उनले बताइन् । ‘सबै किसिमका मान्छे आउँछन् । तर को आउँछन्, के कुरा गर्छन् । मैले धेरै चासो राख्दिनँ,’ उनले भनिन् ।
आफूहरुले पदको दुरुपयोग गरेर कोही मानिसलाई कुनै पदमा नियुक्ति नदिलाएको उनको दाबी थियो । ‘कसैले केही कुरा गरिदेऊ भन्यो भने पनि म गर्दिनँ भन्ने सबैलाई थाहा छ । त्यसो हुँदा मलाई कसैले पनि यसो गरिदेऊ, उसो गरिदेऊ भनेर अनुरोध गर्दैनन्,’ उनले भनिन्, ‘बरु कसले भन्यो भने मैले मान्छु भनेर चाहिँ मान्छेहरुले मान्दा रहेछन् भनेर मान्छे खोज्दै हिँड्दा रहेछन् ।’
त्यस्ता मान्छेहरूले आफ्नो माइतीका भाइ-बहिनीलाई दुःख दिने गरेको उनले बताइन् । ‘मेरो भाइ र बहिनीलाई भेटेर यस्तो भन्दिनुपर्यो भनेर हैरान बनाउँछन् । यस्तो कुरा सुन्दासुन्दा मेरी एउटी बहिनी आफू बसिआएको ठाउँ नै छोडेर अर्को ठाउँमा बस्न थालिन्,’ राधिकाले भनिन् ।
शाक्यको स्वाभिमान पुस्तकमा छः बस्नेत
वरिष्ठ पत्रकार बबिता बस्नेतले शाक्यको पुस्तक बढ्दा उनी कुनै ठूलो महत्वाकांक्षा नभएकी तर स्वाभिमान भएकी महिलाको रूपमा पाएको बताइन् ।
‘उहाँ प्रधानमन्त्रीपत्नी हुनुहुन्छ, ओली चारपटक त प्रधानमन्त्री भइसक्नुभयो । त्यसअघि परराष्ट्रमन्त्री, गृहमन्त्री बन्नुभयो, तर कहिल्यै पनि शाक्यले भने व्यक्तिगत महत्वाकांक्षा नराखेको देखियो,’ बस्नेतले भनिन् ।
ओली गृहमन्त्री हुँदा शाक्यले टेम्पोमा यात्रा गर्ने गरेको कुरा पुस्तकमा उल्लेख गरेको पनि उनले बताइन् ।
‘शाक्यले राष्ट्र बैंकको अधिकृतको परीक्षामा एक नम्बरमा नाम निकाल्नुभएछ । त्यसबेला ओली गृहमन्त्री हुनुहुँदो रहेछ । त्यसबेला एकजना सांसदले गृहमन्त्रीपत्नीले एक नम्बरमा नाम निकालेको भनेर संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति नै बनेछ, छानबिनमा उहाँले मिहिनेतले एक नम्बरमा नाम निकालेको देखिएछ,’ बस्नेतले भनिन्, ‘कोही प्रभावशालीको श्रीमती भएकै कारण एक योग्य महिनाको क्षमतामा समाजले प्रश्न उठाउँछ, जुन ठिक होइन ।’
प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा प्राडा देवी नेपालले पनि शाक्यको पुस्तकमाथि बोलेका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4