+
+
Shares

इन्टरनेट कूकी के हो ? स्वीकार्दा वा नकार्दा अर्थ के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कूकीज साना टेक्स्ट फाइलहरू हुन् जुन वेबसाइटले प्रयोगकर्ताको ब्राउजरमा भण्डारण गर्छ।
  • कूकीजका तीन प्रकार छन्: सेसन, परसिस्टेन्ट र थर्ड–पार्टी कूकीज।
  • Accept Cookies मा क्लिक गर्दा वेबसाइटले प्रयोगकर्ताको प्राथमिकता र गतिविधि सुरक्षित गर्छ।
  • Reject Cookies मा क्लिक गर्दा वेबसाइटले प्रयोगकर्ताको जानकारी राख्दैन र अनुभवमा समस्या आउन सक्छ।

प्रायः हामीले इन्टरनेटमा कुनै वेबसाइट खोल्दा प्रायः एउटा सानो पप-अप सन्देश देखिन्छ- ‘This website uses cookies. Accept or Reject ?’। (यो वेबसाइटले कूकीज प्रयोग गर्छ । स्वीकार गर्ने कि अस्वीकार गर्ने ?)

हामीमध्ये धेरैले त्यो सन्देशलाई नपढीकनै ‘Accept’ मा क्लिक गरिदिन्छौं। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, यी कूकीज के हुन् ? ती कसरी काम गर्छन् ? र कूकीज स्वीकार्दा वा अस्वीकार्दा के फरक पर्छ ?

कूकीज के हो ?

कूकीज भनेको साना साना टेक्स्ट फाइलहरू हुन् जुन तपाईंले कुनै वेबसाइट खोल्दा त्यो वेबसाइटले तपाईंको कम्प्युटर वा मोबाइलको ब्राउजरमा भण्डारण गर्छ। यी फाइलहरूको मुख्य काम तपाईंले वेबसाइटमा गरेको क्रियाकलाप, रोजाइ, र प्राथमिकता (जस्तै भाषा, लगइन जानकारी, वा अनलाइन सपिङ साइटको कार्टमा राखिएका सामान) सम्झनु हो। जसले गर्दा तपाईंलाई अर्को पटक सोही वेबसाइट खोलेर पुरानै काम दोहोराउँदा सजिलो हुनुका साथै ब्राउजिङमा निजी अनुभव पाउन सक्नुहुन्छ ।

उदाहरणका लागि, तपाईंले कुनै वेबसाइटमा भाषा ‘नेपाली’ चयन गर्नुभयो भने, त्यो भाषा सेटिङ कूकीमा सुरक्षित हुन्छ। त्यसैले अर्को पटक त्यही वेबसाइट खोल्दा फेरि तपाईंलाई ‘नेपाली’ भाषा नै देखिन्छ। यसैगरी, किनमेल गर्दा तपाईंले कार्टमा राखेका सामानहरू पनि कूकीज मार्फत सुरक्षित हुन्छन्, ताकि तपाईंलाई बारम्बार फेरी कार्ट भर्न नपरोस।

कूकीजका प्रकारहरू

कूकीज तीन प्रकारका हुन्छन् र तिनीहरूको काम र समयावधि फरक फरक हुन्छ :

सेसन कूकी (Session Cookies) :

यी अस्थायी कूकीहरू हुन् जुन तपाईं ब्राउजर बन्द गरेपछि मेटिन्छन्। जब तपाईं कुनै वेबसाइटमा लगइन गर्नुहुन्छ वा कुनै फारम भर्दै हुनुहुन्छ, त्यतिबेला यी कूकीहरू प्रयोगमा आउँछन्।

परसिस्टेन्ट कूकी (Persistent Cookies) :

यी कूकीहरू लामो समयसम्म तपाईंको डिभाइसमा रहन्छन् – कहिलेकाहीँ केही महिना वा वर्षसम्म पनि। तपाईंले वेबसाइटमा रोजेको भाषा, पासवर्ड वा अन्य प्राथमिकता सम्झिनका लागि यी कूकीहरू प्रयोग गरिन्छन्।

थर्ड–पार्टी कूकी (Third–Party Cookies) :

यी कूकीहरू वेबसाइटले होइन, विज्ञापन कम्पनीहरूजस्ता तेस्रो पक्षहरूले राख्ने गर्दछन्। यसले तपाईंको इन्टरनेटमा गरेको गतिविधि ट्र्याक गरेर तपाईंलाई रुचि अनुसार लक्षित विज्ञापन (targeted ads) देखाउन मद्दत गर्छ।

Cookies स्वीकार्दा के हुन्छ?

जब तपाईं Accept Cookies मा क्लिक गर्नुहुन्छ, वेबसाइटले तपाईंको प्राथमिकता, लगइन विवरण, भाषा र अन्य गतिविधिहरू सम्झेर सुरक्षित गर्छ। यसले तपाईंलाई वेबसाइटको अनुभव अझ सहज र छिटो बनाउँछ। उदाहरणका लागि, तपाईंलाई बारम्बार लगइन गर्न नपर्ने, भाषा सेटिङ फेरि गर्न नपर्ने हुन्छ। साथै, तपाईंलाई तपाईंको रुचि अनुसार विज्ञापनहरू देखाउन सक्छ, जसले व्यवसायलाई पनि मद्दत पुग्छ।

Cookies अस्वीकार्दा के हुन्छ?

जब तपाईं Reject Cookies मा क्लिक गर्नुहुन्छ, वेबसाइटले तपाईंको कुनै पनि जानकारी सुरक्षित गर्दैन। वेबसाइट तपाईंलाई हरेक पटक नयाँ आगन्तुक भनेर मान्छ। यसको मतलब, तपाईंले लगइन गर्नु परे बारम्बार लगइन गर्नु पर्नेछ, भाषा सेटिङ पुनः राख्नुपर्नेछ, र किनमेल साइटमा राखिएको सामान कार्टमा बचत हुँदैन। केही वेबसाइटहरू ठीकसँग चल्दैनन् वा तपाईंको अनुभवमा समस्या आउन सक्छ।

निष्कर्ष

Cookies ले इन्टरनेट चलाउने अनुभवलाई सजिलो र व्यक्तिगत बनाउन मद्दत गर्छन् । तर थर्ड-पार्टी कूकीहरूले कहिलेकाहीं तपाईंको व्यक्तिगत जानकारी ट्रयाक गर्ने खतरा पनि हुन्छ। त्यसैले कुन कूकी स्वीकार्ने र कुन अस्वीकार्ने भन्ने निर्णय गर्नु आवश्यक छ।

जानकारी नबुझी अनावश्यक कूकी स्वीकार गर्नुले तपाईंको गोपनीयता जोखिममा पर्न सक्छ। अर्थात् तपाईंले सुरक्षित तथा सजिलो तरिकाले इन्टरनेट चलाउनका लागि कूकीजको सही प्रयोग र जानकारी आवश्यक रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?