+
+
Shares

हुम्ला पहिरो पीडितको उद्धारका लागि सभामुखसँग रुलिङ माग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको हिमपहिरो पीडितहरूको उद्धार गर्न सरकारको चासो नदेखिएको आरोप लगाए।
  • सांसद शाहीले हिमपहिरो पीडितहरूको उद्धारका लागि सभामुखले रुलिङ गर्न आवश्यक रहेको बताए।
  • उनले कर्णालीलाई अलग गर्न र सरकारको हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरे।

६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको हिमपहिरो पीडित अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूको उद्धारका लागि सभामुखसँग रुलिङको माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हिमपहिरोमा जनता अलपत्र अवस्थामा रहे पनि सरकारले उद्धारमा चासो नदेखाएको टिप्पणी गरे ।

कर्णालीका जनता पनि यही देशका नागरिक भएको भन्दै उनले हिमपहिरो पीडितहरूको उद्धारका लागि सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित तिलागाउँमा हिमपहिरो गएको छ । अहिलेसम्म सरकारले उद्धार गरेको छैन । सरकारलाई म भन्न चाहन्छु । सरकारको दिमागमा जाम लाग्यो कि क्या हो ? कि आँखामा रत्तन्धो लाग्यो ? कि कानमा ढुसी पर्‍यो ? कि हेलिकप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने । हुम्लामा हिमपहिरो हिमताल फुटेर जनताहरू रोइरहेका छन् । एउटा हेलिकप्टर पठाउन सकेको छैन यो सरकारले । कि कर्णालीलाई हेपेको हो ?’

सांसद शाहीले अगाडि भने, ‘कर्णालीलाई हेपेको हो भने म सिधा भन्न चाहन्छु, म निर्वाचित सांसद हुँ कर्णालीबाट । तपाईं कर्णालीलाई अलग बनाउनुस् । तपाईंको राज्य व्यवस्था अन्तै सार्नुस् । हामी चलाएर देखाउँछौं ।’

राज्यमन्त्री घुम्दा हेलिकप्टर लगेर घुम्ने गरेको भए पनि हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न नसकेकोमा सरकारको आलोचना गरे ।

उनले हालै सम्पन्न सगरमाथा संवाद कार्यक्रमप्रति पनि तिखो टिप्पणी गरे । उनले भने, ‘ सगरमाथा संवाद के-को संवाद ? कहाँको संवाद ? कताको संवाद ? हिमपहिरोले मान्छे मरिरहेका छन् । त्यता उद्धार छैन । यहाँको नाटकबाजी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?