+

३ सय वर्ष पुरानो कुञ्छाल गाउँ पर्यटकको पर्खाइमा

२०८२ जेठ  ९ गते १७:४२ २०८२ जेठ ९ गते १७:४२

ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । तर, कुञ्छाल गाउँ पुग्नेहरू भने ज्यादै थोरै छन् । अर्थात्, गाउँलेहरू पर्यटकलाई स्वागत गर्न आतुर छन् ।

३ सय वर्ष पुरानो कुञ्छाल गाउँ पर्यटकको पर्खाइमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुञ्छाल गाउँ मकवानपुर जिल्लाको थाहा नगरपालिका भित्रको तीन सय वर्ष पुरानो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको गाउँ हो।
  • गाउँलेहरूले पर्यटकलाई स्वागत गर्न आतुर छन् र यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ, तर पर्यटक संख्या थोरै छ।
  • गाउँको प्राकृतिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्न प्रयास भइरहेको छ।

९ जेठ, हेटौंडा । संघीय राजधानी काठमाडौंबाट मात्र एक घण्टाको दूरी छ, कुञ्छाल गाउँ । यहाँ तीन सय वर्ष पुराना घरमा बास बस्न मात्र होइन, त्यति नै अघि बनेका ढुंगेधाराको पानी पिउन पाइन्छ ।

कुञ्छाल, मकवानपुर जिल्लाको थाहा नगरपालिका भित्रको पुरानो गाउँ हो । हरियालीबीचको वस्ती अत्यन्तै सुन्दर छ, वातावरण रमणीय छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढैबाट पनि निकै आकर्षक देखिन्छन् ।

नेपालको ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । तर, कुञ्छाल गाउँ पुग्नेहरू भने ज्यादै थोरै छन् । अर्थात्, गाउँलेहरू पर्यटकलाई स्वागत गर्न आतुर छन् ।

थाहा नगरपालिकाका अनुसार यहाँ ऐतिहासिक गोपालीहरूको बसोबास थियो । यसलाई पर्यटकीय गाउँ बनाउने प्रयासमा पालिका पनि लागेको छ । त्यसोतः ३८औं विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीनवटा पर्यटकीय गाउँ घोषणा गरेको थियो । तीमध्ये एउटा कुञ्छाल थियो ।

भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको छ ।

‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि कतिपय स्थानीय हजार वर्षको प्राचीन इतिहास यो गाउँले बोकेको दावी गर्छन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्‍याएको स्थानीय बताउँछन् ।

नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौंबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ ।

कुञ्छाल गाउँमा अनौठा प्रचलन पनि छन् । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य परिकार खान निषेध छ । कुञ्छालबासीले कुखुरालाई अपवित्र मान्ने पुरानो प्रचलन अहिले पनि पछ्याइरहेका छन् ।

नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै जाँदा मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो भने ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।

लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिन्छ । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिए पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ छ ।

नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य परिकार खान निषेध छ । कुञ्छालबासीले कुखुरालाई अपवित्र मान्ने पुरानो प्रचलन अहिले पनि पछ्याइरहेका छन् ।

एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । यहाँ बोल्ने भाषा परम्परागत नेवारीभन्दा फरक छ । पुर्खाले बनाएका संरचना जोगाएर राखेका छन् ।

थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको ७० वर्षीया माइजुमाया गोपाली सम्झन्छिन् ।

‘हामीले बोल्ने नेवारी भाषा काठमाडौंमा बोलिनेभन्दा फरक छ,’ विष्णु गोपालीले भने, ‘शब्द, लवजमा धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषा भन्दा हुन्छ ।’ उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।

त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताइन् । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छिन् ।

२०५२ देखि २०६२ सम्म चलेको जनयुद्धको समयमा छोरी गुमाएकी माइजुमायालाई अहिलेको परिवर्तनमा आफ्नो परिवारको पनि रगत मिसिएकोमा गर्न लागेको छ ।

उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको उनी सुनाउछिन् । उनका अनुसार यहाँका पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने गरिन्छ ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौंको केन्द्र हनुमानढोका दरबारसँग रहेको बताए । यो नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन रहेको उनको भनाइ छ ।

उनी भन्छन, ‘कुञ्छाललाई एउटा जीवित संग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिन र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौं ।’

थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौंबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ ।

मकवानपुरको पहाडी भेग अझ काठमाडौं उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले बताए ।

नगरप्रमुख विष्टका अनुसार कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उनी बताँछन् । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैंले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ ।

महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।

पदयात्राको समेत सम्भावना

थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौंबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।

बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।

वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।

वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।

कुञ्छाल गाउँ कुञ्छाल होमस्टे

धेरै कमेन्ट गरिएका

लेखक
अञ्जली थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय