
News Summary
Generated by OK AI. Editorially reviewed.- अञ्जना बराइलीले गत वर्ष ६ फिल्ममा अभिनय गरेकी छन्, जसमा ५ प्रदर्शन भइसकेको छ।
- उनी नयाँ फिल्म ‘परिवर्तन’ साइन गरेकी छन् र ‘महाभोज’ मा सहरी युवतीको भूमिका निर्वाह गरेकी छन्।
- उनी भन्छिन्, ‘महाभोज’ले उनलाई नयाँ भूमिका र दर्शकसँग गहिरो सम्बन्ध बनाउन मद्दत गर्नेछ।
काठमाडौं । अभिनेत्री अञ्जना बराइलीका लागि पछिल्लो वर्ष फलदायी रह्यो । गतवर्ष उनले अभिनय गरेका ६ मध्ये ५ फिल्म प्रदर्शन भैसकेका छन् । ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’जस्ता फिल्म हिट रहे ।
उनी यतिबेलाकी ‘डिमान्डेड’ अभिनेत्री हुन् । एकपछि अर्को फिल्म साइन् गरिरहेकी छन् । आइतबार नयाँ फिल्म ‘परिवर्तन’ साइन् गरिन् । उनको शीर्षमध्येको अभिनय रहेको फिल्म ‘महाभोज’ दर्शकमाझ आउँदैछ ।
अञ्जनाले हालै यो फिल्मका लागि अनलाइनखबरसँग कुरा गरिन् । आफ्ना लागि यो ‘नयाँ फिल्म’ होइन, ‘नयाँ अनुभव’ पनि रहेको उनी बताउँछिन् । फिल्ममा उनले ग्रामिण भूगोलकी पात्रको भूमिका निर्वाह गरेकी छन् ।
धेरैले उनलाई गाउँले युवतीको रोलमा देखिरहेका छन् । उनी यसलाई संयोग मात्र बताउँछिन् । तर, ‘महाभोज’मा सहरीया युवतीको भूमिकामा छिन् ।
‘मैले सधैं गाउँको परिवेशमा आधारित भूमिका गरिरहेकी थिएँ । ‘महाभोज’मा सहरी युवतीको भूमिकामा छु’ भन्छिन्, ‘गाउँले पात्रमा म सजिलै ढल्न सक्छु । त्यो मेरो रुचिसमेत हो । अब सहरी जीवनशैली र पात्रमा पनि आफूलाई विस्तार गर्दैछु ।’
‘पुजार सार्की’बाट उनी आर्यन सिग्देलसँग पहिलोपटक स्क्रिनमा देखिइन् । ‘महाभोज’मा पनि उनी आर्यन को-एक्टर हुन् । सामाजिक यथार्थमा आधारित यस फिल्मले सहकारी ठगी र त्यसले ल्याउने पारिवारिक, सामाजिक तथा राजनीतिक द्वन्द्वको कथा भन्छ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र अञ्जनाको उपस्थिति दर्शकलाई लोभलाग्दो लागिरहेको छ ।
फिल्मबारे उनी भन्छिन्, ‘महाभोजको कथा अहिलेको समाजसँग नजिक छ । यसमा मैले निभाएको पात्रले वास्तविकता र वर्तमानको प्रतिनिधित्व गर्छ ।’
यसअघि ‘पुजार सार्की’मा उनले निर्वाह गरेको ‘मैयाँ’ पात्रले दर्शकको मन छोएको थियो । त्यो भूमिकाले उनलाई नजिकबाट चिनिने मौका दियो । ‘पुजार सार्की’की ‘मैयाँ’ भूमिकालाई उनले अझै आफ्नो मनपर्ने चरित्रको रूपमा लिएको बताइन् ।
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा उनले निर्वाह गरेको ‘बाटुली’ पात्रले पनि दर्शकको मन जित्यो । यो फिल्मको सिक्वेलको चर्चा छ तर निधो छैन । ‘फिल्म आउने पक्का हो, तर कथावस्तु र बाटुलीको पुनरागमनबारे अहिले केही भन्न सक्ने स्थितिमा छैन,’ उनी भन्छिन् ।
‘महाभोज’बारे उनी आशावादी सुनिइन् । ‘यो फिल्मले मलाई नयाँ किसिमको भूमिका दिने मात्र होइन, दर्शकसँग अझ गहिरो सम्बन्ध बनाउन सहयोग पुर्याउने विश्वास छ’ उनी बताउँछिन् । फिल्म छनोट गर्दा उनको सर्त कथा र चरित्र हुनेगर्छ । अभिनयलाई अझै आत्मीय बनाउने उनको लक्ष्य छ । ‘महाभोज’ त्यसै यात्रा को अर्को खुड्किलो सावित हुनेछ भन्ने उनको विश्वास छ ।
‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4