 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेसपाका नेता गंगानारायण श्रेष्ठ नौ वर्षपछि माओवादी केन्द्रमा फर्किंदैछन् ।
- श्रेष्ठ बाबुराम भट्टराईसँगै माओवादीबाट छुट्टिएका थिए ।
- त्यसपछि उनी बाबुरामबाट फुटेको नेपाल समाजवादी पार्टीको सह-अध्यक्ष बने
- नेसपा र माओवादी केन्द्रबीच नै २०८० जेठ ३ गते पार्टी एकता गर्ने सहमति भइसकेको थियो ।
- नेसपाका अध्यक्ष महिन्द्र राय यादव हुन्, र उनले गंगानारायणहरु माओवादी प्रवेश गर्ने र आफूले एकता गर्ने बताएका छन् ।
१२ जेठ, काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किंदैछन् ।
माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रसँग एकता घोषणा गर्दैछन् ।
यसलाई महिन्द्र राय यादवले चाहिँ कसरी लिएका छन् ? यादवले अब माओवादी केन्द्रसँग एकता गर्लान् कि नगर्लान् ? यीनै विषयमा केन्द्रित रहेर नेसपाका अध्यक्ष महिन्द्र राय यादवसँग गरिएको संक्षिप्त कुराकानी –
पार्टी एकताका लागि सबैभन्दा अघि तपाईं सर्नु भएको थियो तर गंगानारायण श्रेष्ठहरु तपाईंलाई पनि उछिन्दै एकतामा अगाडि बढ्नु भएछ है ?
पार्टी एकता होइन, माओवादी पार्टीमा प्रवेश हुन्छ उहाँहरुको ।
तपाईंकै भाषामा गंगाजीहरुको माओवादी प्रवेशलाई कसरी लिनु भएको छ ?
हाम्रा साथीहरु कोही भाग्छ, हतार गर्छ भने म के भनौं । त्यो त उहाँहरुको कुरा हो । उहाँहरुले नौटंकी गर्नुभयो । अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने भन्ने विधानमा उल्लेख छ । विधान गंगाले आफैंले बनाएको हो । तर, उहाँले नै विधि विधान मिच्नु भएको छ । अर्को कुरा हाम्रो पार्टीको नामको विषयमा अदालतमा मुद्दा चलिरहेको छ बाबुराम भट्टराईजीसँग । यो अवस्थामा उहाँहरुको पार्टी प्रवेश हो । अनि माओवादी केन्द्रलाई पनि कोही आउँछ भने प्रवेश गराइहालौं भन्ने लाग्यो होला ।
तपाईं चाहिँ माओवादीमा कहिले जाने ?
माओवादी केन्द्रले २०८० भदौ ३० गते नेसपाको नाममा एउटा पत्र पठाएको छ । त्यसमा स्पष्ट रुपमा नेसपा र माओवादी केन्द्र दुई पार्टीको बीचमा एकता वार्ता चलिरहेको, साझा चुनाव चिह्न लिएको, पार्टी एकताको प्रक्रियामा छलफल भइरहेकोले नेकपा माओवादी केन्द्र पार्टीले आगामी महाधिवेशनमा माओवादी केन्द्र हटाउने छलफल गरी निर्णय गर्ने जानकारी गराइन्छ भनेर लेखिएको छ । स्थायी समिति बैठकको निर्णयको आधारमा लेखिएको त्यो पत्रको आधारमा माओवादी नाम हटापछि एकता हुन्छ ।
गंगा नारायण श्रेष्ठ तपाईंलाई हटाएर संयोजक बनेर जान लाग्नुभएको हो ?
हटाउने, राख्ने कुरा छैन । पार्टी अहिले अदालतमा मुद्दा लडिराखेको छ, बाबुरामजीसँग । तारिखमै छ । हाम्रो विधानमा अध्यक्षले महासचिवको परामर्शमा बैठक बोलाउन सक्ने व्यवस्था छ । उहाँहरू १२ गते जाने भन्ने पहिले नै थाहा थियो । कुनै पनि बैठक आधिकारिक हुँदैन । त्यसैले उहाँले जेजे गरे पनि नेपाल समाजवादी पार्टी त रहन्छ नि ! त्यसैले त्यो गर्न उचित छैन ।
प्रचण्ड जीसँग पनि हामीले कुरा राखेका छौं । उहाँहरुले पनि यो उचित छैन गंगाजी भन्नुभयो । २६ गतेको कार्यकारिणीको बैठकले एकमतले एकताको निर्णय गरेको हो । प्रचण्डकैसामु कुरा भएकै हो । भाग्ने नै हो भने गइहाल्नु न । काँ अप्ठेरो छ र ?
उहाँहरु आत्तिएको हो कि प्रचण्डले तपाईंलाई अप्ठ्यारो पार्न छुटाइदेको हो ?
प्रचण्डले अप्ठ्यारो पारेको होइन । यो प्रवेश नै हो । पार्टी एकताको ब्यानर टांगियो भने हाम्रो पार्टीसँग अप्ठ्यारो हुनसक्छ भनेको छु । आज उहाँहरुको बैठक छ । फेरि पार्टी एकता हुन्छ ।
गंगाजीलाई तपाईंहरु जाँदै गर्नु अरु कुरा मिलेपछि हामी आउँछौं भन्नुभएको हो ?
म समाजवादी पार्टीको अध्यक्षको हैसियतले भन्छु– म पार्टी एकताको प्रक्रियामा छु । माओवादी रुपान्तरसहित आयो भने पार्टी एकता हुन्छ । यो कुरा मैले पहिले पनि भनेको हुँ, अहिले पनि भनिरहेको छु । माओवादीसँग पार्टी एकताको बाटो खुल्ला छ । उहाँहरुको प्रवेश नै हो । प्रवेश गर्दा हुन्छ । अरु पार्टीमा जानुभन्दा त माओवादीमा जानु राम्रो हो ।
पार्टी प्रवेश कि एकता भन्ने हेर्न बाँकी हो ?
माओवादीको बैठक छ । हामीले राखेको प्रस्ताव पदाधिकारीको बैठकबाट माओवादी केन्द्र हटाइयो भने एकता हुन्छ । बैठकले कम्युनिस्ट पार्टी समाजवादी बनाइनेछ भन्ने लेखेपछि हुन्छ । महाधिवेशनले के फैसला गर्छ हेरौँ। हाम्रो पार्टी एकता हुन्छ । सम्मानजनक हुन्छ । र, एकताको महाधिवेशन नै हुन्छ । हामी तयार छौं ।
गंगासँग कति जना जाने हो ?
जतिसुकै भए पनि त्यो सबै अवैधानिक हो । वैधानिक बैठक भए पो वैधानिक हुन्छ । ठीक छ हाम्रो तर्फबाट केही छैन । उनीहरु प्रवेश गर्छन् भने गरुन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4