+
+
Shares
नाटक - लस्ट एन्ड फाउण्ड :

२६ सय वर्षअघिको आँखाबाट आजका महिला कस्ता देखिन्छन् ?

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ जेठ १५ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘लस्ट एन्ड फाउण्ड’ नाटक ३ जेठदेखि १७ जेठसम्म मञ्चन हुँदैछ, जसले जीवनका पीडा र सामाजिक समस्यालाई उजागर गर्छ।
  • नाटकले पितृसत्ताको आलोचना र महिलाको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गर्दछ, जसमा कलाकारहरूको स्वाभाविक अभिनय छ।
  • निर्देशकले विगत र वर्तमानको यात्रामा आधारित यस नाटकले मनभित्रका प्रश्नहरूलाई उजागर गर्न प्रयास गर्दछ।

काठमाडौं । शिल्पी थिएटरमा एक साँझ । म दर्शक बनेर गएकी थिएँ, नाटक हेर्न । फर्किंदा मैले मेरै भित्री आवाजलाई भेटेँ । किनभने, म स्टेजअघि कतै हराएकी थिएँ ।

नाटकको नाम हो- ‘लस्ट एन्ड फाउण्ड’ । शीर्षक सुन्दा सामान्य लाग्न सक्छ, तर नाटकले जुन गहिराइमा हृदयस्पर्श गर्‍यो, यसलाई बयान गर्न शब्द कमै भेटिन्छन् ।

घिमिरे युवराजद्वारा लिखित र निर्देशित यो नाटक हेर्दा लाग्छ, एकदिन हेरेर सकिने होइन । भित्र कतै गहिरो छाप छाडेर जाने अनुभव हो । जुन नाटक ३ जेठदेखि मञ्चन भैरहेको छ । १७ जेठसम्म दर्शकले हेर्न पाउनेछन् ।

नाटक सुरु हुन्छ- एक क्याफेबाट । त्यहाँ छन्- २५ वर्षकी भूमी र ४८ वर्षका सागर । दुवै जनाको अनुहारमा थकाइ, मनमा प्रश्न, र आँखामा अधुरोपन देखिन्छ । भूमी एकल आमाकी सन्तान हुन् । राज्यद्वारा बेवास्ता गरिएका अनागरिक युवती, जसको पहिचान कतै हराएको छ ।

सागर भने विदेशबाट फर्किएका, तर घरभित्रको जीवनबाट चिप्लिएका एक थकित पुरुष, जो भूमीसँगको संवादमा आफूलाई भित्रबाट नांगो अनुभव गर्न थाल्छन् ।

तर कुरा यहाँ मात्र अडिँदैन । उनीहरूबीचको संवादले विस्तारै यस्तो मोड लिन्छ, जसले मभित्रको दर्शकलाई पनि आफू स्वयम भूमी वा सागरजस्तै लाग्न थाल्छ । जीवनका ती पीडा, जसलाई हामी कतै भित्र लुकाएर राखिरहेका हुन्छौं, ती एकपछि अर्को गरी मञ्चमा देखिन थाल्छन् ।

निर्देशकले यी दुई पात्रमार्फत दर्शकलाई २६ सय वर्षअघिको युगमा लैजान्छन्, जहाँ सिद्धार्थ र यशोधरा बीचको अन्तद्र्वन्द्व पुनः स्मरण गरिन्छ । सिद्धार्थ र यशोधराको कथा देखिन्छ, तर नयाँ आँखाबाट । भूमी कहिले यशोधरा बन्छिन्, कहिले राहुल, त कहिले अन्य रूप लिएर वर्तमान समाजको गहिरो समस्यालाई उजागर गर्छिन् ।

पितृसत्ताको कठोरता, एकल आमाको संघर्ष, नागरिकताको नाममा हुने विभेद । यी सबै कुरा बोलेर होइन, भावनाले झसङ्ग तुल्याउने गरि देखाइएको छ । नाटकले पितृसत्ताको आलोचना गर्छ । अहिलेको समाजमा यसको जरा कति गहिरोसँग गाडिएको छ त्यो पनि देखाउँछ ।

भूमी पात्रकै माध्यमबाट नाटकले देखाउँछ कि कसरी महिलाहरू अझैपनि राज्य, समाज र परिवारका संरचनाबाट उपेक्षा भइरहेका छन् ।

मञ्चसज्जा भव्य छैन तर त्यसमा अर्थ लुखेको छ । होटलको क्याफेबाट सुरु हुने नाटकको यात्रा विगत र वर्तमानबीचको यात्रामा रूपान्तरण हुन्छ । वेटरको अनुहारमा कहिले हाँसो, कहिले त्रास र कहिले सामाजिक यथार्थ पोतिएको देखिन्छ । जसले नाटकलाई एकै साथ धेरै अर्थ र तह प्रदान गरेको छ ।

नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय छ । सबैको अभिनयमा यस्तो स्वाभाविकता छ कि लाग्छ, उनीहरूले पात्र मात्र होइन, दर्शकको भावनालाई जिउँदो बनाइरहेका छन् । नाटकमा खासै ठूला संवाद छैनन्, तर एउटा नजर, एउटा मौनता पर्याप्त छन् मनको पर्खाल भत्काउन ।

भूमीको चरित्र निर्वाह गर्ने कलाकारको अभिनय अत्यन्तै मर्मस्पर्शी र प्रभावशाली छ । उनले टुर गाइड, अनागरिक महिला, यशोधरा, राहुल, बुद्धजस्ता अनेक स्वरूप लिएर दर्शकलाई कहिले हसाउँछिन् त कहिले रुवाउँछिन् ।

मञ्चसज्जा भव्य छैन तर त्यसमा अर्थ लुखेको छ । होटलको क्याफेबाट सुरु हुने नाटकको यात्रा विगत र वर्तमानबीचको यात्रामा रूपान्तरण हुन्छ । वेटरको अनुहारमा कहिले हाँसो, कहिले त्रास र कहिले सामाजिक यथार्थ पोतिएको देखिन्छ । जसले नाटकलाई एकै साथ धेरै अर्थ र तह प्रदान गरेको छ ।

‘लस्ट एन्ड फाउण्ड’ कुनै ठूला समाधान दिने नाटक होइन । बरु, यसले मनभित्र लुकाइएका असंख्य प्रश्नहरूलाई बाहिर ल्याउने प्रयत्न गर्छ । शब्द नभएका अनुभवलाई, बुझ्न नसकेका भावनालाई एक टुक्रा कला मार्फत उजागर गर्ने प्रयास हो यो नाटक ।

तस्वीर : अविकृत मुखिया

लेखक
प्रतिक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?