
News Summary
Generated by OK AI. Editorially reviewed.- १६ जेठमा काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा राजतन्त्रको बहस सुरु भएको छ।
- सामाजिक अगुवाहरूले पाटनमा नेताहरूको साथ खुला बहस आयोजना गर्ने तयारी गरेका छन्।
- कार्यक्रममा ०६३ को गणतन्त्र आन्दोलनमा सहभागी र समर्थकहरूलाई सहभागी गराउने योजना छ।
१६ जेठ, काठमाडौं । गणतन्त्र दिवसकै बेलामा राजतन्त्रको बहस ब्युँतिन खोजेको छ । राप्रपा, राप्रपा नेपाल लगायत शक्तिहरू राजतन्त्र मागेर सडकमा जान थालेका छन् । यहीबेला ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकारलाई सैन्यबलमा अपदस्थ गरी निरंकुश राजतन्त्र अन्तर्गत शासन थालेसँगै सडकमा देखा परेका नागरिक अगुवा तथा दलका युवा नेताहरूले पछिल्ला घटनाक्रम उपर पाटनमा विमर्श गर्ने भएका छन् ।
शनिबार गणतन्त्र सप्ताको सन्दर्भ पारेर नागरिक अगुवाको एक समूहले पाटनमा नेताहरू गगन थापा, योगेश भट्टराई, घनश्याम भुसाल, रामकुमारी झाँक्री, अनिल झा, राम कार्की लगायतसँग गणतन्त्र संवाद गर्न लागेको हो ।
नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार यसमा अगुवाहरू नीलाम्बर आचार्य, विष्णु निष्ठुरी लगायत तत्कालीन गणतन्त्रको आन्दोलनमा सक्रिय अगुवा तथा अभियन्ताहरू सामेल हुनेछन् ।
‘गणतन्त्रको कार्यान्वयन क्रममा के कमजोरी भए, तर फेरि पनि किन व्यवस्था र संस्कृतिका रुपमा गणतन्त्र नै जीवन्त र जनमुखी व्यवस्था हो भन्नेबारे हामीले खुला बहस चलाउन खोजेका छौं,’ भट्टराईले भने, ‘हामी नेताहरूलाई अझै जवाफदेही र आत्मचिन्तनतर्फ लैजाने जमर्को गर्नेछौं ।’
नागरिक अगुवा सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले उक्त बहसमा सहभागिता जनाउने छन् ।
पाटन हाइस्कुल पाटनढोकामा १७ जेठ शनिबार दिउँसो २ बजे सुरु हुने कार्यक्रममा ०६३ को गणतन्त्र आन्दोलनमा सहभागी, यसका समर्थकहरूलाई आउन आह्वान गरिएको छ । ‘गणतन्त्र नै सही बाटो’ शीर्षकमा हुने खुला संवादमा राजनीतिक कार्यकर्ता, पेशाकर्मी लगायत विभिन्न क्षेत्र सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया 4