२० जेठ, काठमाडौं । सामान्यतः बादल लाग्दा घाम छेलिन्छ । तर आज हामी एउटा अपवादको चर्चा गर्दैछौं- एक बादल, जो सूर्यको रापतापले छेलिएका छन् । ती हुन्, एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ।
****
६ पुस २०७७ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुल्चोकस्थित क्वार्टरमा नेकपाका उनी पक्षका ३४ मध्ये १६ जना केन्द्रीय सदस्य भेला भए । नेकपा फुटको संघारमा हुँदा दुई अध्यक्षमध्ये एमाले धारका केपी शर्मा ओलीलाई रोज्ने कि माओवादी धारका पुष्पकमल दाहाललाई रोज्ने भन्नेमा बादल दोधारमै थिए । तर उनको ‘सफ्ट कर्नर’ ओलीतिरै थियो ।
यो बुझेर नै बादल निवासमा जम्मा भएका नेताहरू निकै भावुक भएका थिए । उनलाई सम्झाउँदा-सम्झाउँदै नेताहरू मायाप्रसाद शर्मा र अमृता थापा मगरले आँसु नै झारेका थिए । त्यसबेला उनीहरूले जनयुद्धका दिनहरू, माओवादी विभाजन र एकीकरणसम्मका कुरा सम्झाएर बादललाई ‘कन्भिन्स’ गर्न खोजेका थिए । त्यसबेला पनि बादल धेरै त बोलेनन्, उनले यत्तिमात्रै भनेका थिए- कमरेडहरू म तपाईंहरूलाई निराश बनाउन त चाहन्नँ तर मेरो बाध्यता छ, बुझिदिनुहोला ।
ओलीकै क्याम्पमा बस्नुपर्ने कुन बाध्यता थियो, बादलले कहिल्यै बताएनन् । त्यसपछिका भुटानी शरणार्थी काण्डदेखि सुन प्रकरणसम्म उनका छोरा, सल्लाहकार र सचिवालय सदस्यहरूकै संलग्नता रहेको खबर भने बग्रेल्ती आइरहे । उनीसँगै एमालेमै बस्ने निधो गरेका पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी शरणार्थी प्रकरणमा जेलमै छन् ।
त्यसपछि बादलको आफ्ना कित्ताका नेताहरूसँग फेरि संवाद भएन । एक/दुईपटक प्रचण्डसँग भएको भेट पनि सौहार्द्र भएन । अन्ततः बादल ९ पुस २०७७ मा बादल एमालेमा समाहित भए ।
त्यही वर्ष २३ माघमा उनले एमालेको तर्फबाट पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गरे । तत्कालीन सत्ताले नारायणहिटी अगाडि गरेको सभामा बादलले भनेका थिए, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएको छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ । नयाँ आन्दोलनबाट मात्रै नेतृत्व र संविधानको रक्षा गर्न सकिन्छ ।’

त्यति मात्रै होइन, बादलले आफ्नै अग्रसरतामा भएको सशस्त्र संघर्षलाई लक्षित गर्दै मांसाहारी आन्दोलनको संज्ञा दिएका थिए ।
‘मांसाहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधान र कानुनले अपराधी घोषित गरेको छ । मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलका चिडियाखानामा लगेर बन्द गरिनेछ,’ बादलले भनेका थिए ।
जे-जसो भने पनि आफ्नै पक्षका अधिकांश नेताहरूले बादलको नयाँ धार पछ्याएनन् । उनी पक्षीय आधाभन्दा धेरै नेताहरू माओवादी धारमै रहे । त्यसबेला तत्कालीन लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले भनेका थिए, ‘बादलजी तपाईंको सती जान सकिएन, तपाईंको प्रगति होस् ।’
तर, शुभेच्छुकहरूले शुभकामना दिएझैं बादलको प्रगति भने भएन । माओवादी छोडेर एमालेमा प्रवेश गर्ने बित्तिकै सुरूमा राष्ट्रिय सभा सदस्य पद गुमाए । जबकि, १४ माघ २०७४ मा बागमती प्रदेशबाट उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । त्यसबेला माओवादीमै रहेका बादलले चिट्ठा तान्दा उनको भागमा ६ वर्षको कार्यकाल परेको थियो । माओवादीमै रहेको भए बादल २०८० सम्म राष्ट्रिय सभा सदस्य हुन्थे । तर माओवादी छोड्दा ३ वर्षअघि नै राष्ट्रिय सभा सदस्य गुमाउनुपर्यो ।
६ जेठ २०७८ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बादल बागमतीमै पराजित भए । त्यसबेला उनी हेलिकप्टर चढेर राष्ट्रिय सभा सदस्यका लागि भोट माग्न हेटौंडा गएका थिए । त्यही दिन उनको गृहमन्त्री पद पनि गुम्यो ।
सान्त्वना दिन हो सायद, तत्कालीन प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकला थापालाई सूचना प्रविधि तथा सञ्चारमन्त्री बनाएका थिए । तर उनी १५ दिन पनि मन्त्री हुन पाइनन् ।
यता, राष्ट्रिय सभामा पनि पराजित भएपछि बादलले राजनीतिमा टेक्ने र समाउने ठाउँ विस्तारै गुमाउँदै गए । एमाले मात्रै होइन, सिंगो राजनीतिमै उनको उपस्थिति र आवश्यकताबारे चर्चा हुन छोड्यो ।
२०७८ मंसिरमा एमालेले चितवनमा दशौं महाधिवेशन गर्यो । महाधिवेशनबाट बादल उपाध्यक्षमा विजयी भए । ६ जना उपाध्यक्षका लागि ७ जना प्रतिस्पर्धामा हुँदा बादलले छैटौं मत प्राप्त गरेका थिए । उपाध्यक्षकै उम्मेदवार घनश्याम भूसाल भने पराजित भए ।
त्यसबेला बादललाई एमालेका नेता/कार्यकर्ताहरूले न्याय गरेको चर्चा महाधिवेशनस्थलमा चलेको थियो । त्यसअघि उनलाई एमालेले महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजक बनाएको थियो । संयोजक भए पनि उनको भूमिका भने शून्यप्राय थियो । उपाध्यक्ष भएपछि भने उनी पुन: गुमनामजस्तै भए । पार्टीका बैठकहरूमा नियमित जाने भए पनि उनी बोलेको र आफ्ना धारणा राखेको अरू नेताहरूले सुनेका छैनन् ।
‘बैठकमा त नियमित आउनुहुन्छ । धुम्म परेर बस्नुहुन्छ । साढे ३ वर्षमा उहाँ बैठकमा बोलेको सुनिएको छैन,’ एमालेका एक पदाधिकारीले भने, ‘उहाँ अध्यक्षको ठाउँमा बस्नुहुन्छ । अध्यक्षले खटाएको ठाउँमा जानुहुन्छ । एमालेमा त्यसै पनि उपाध्यक्षहरूको भूमिका धेरै छैन ।’
गुमनाम भएको अनुभूति गरेरै होला महासचिव शंकर पोखरेलको सचिवालयले केही समयअघि बादलले बोलेको एक मिनेट १५ सेकेन्डको भिडियो सार्वजनिक गर्यो । उक्त भिडियोमा उनले फेरि कम्युनिष्ट एकता गर्नुपर्ने र त्यो एमालेकै नेतृत्वमा हुनुपर्ने बताइरहेका थिए । उक्त भिडियोमा उनले एमाले नै सच्चा वामपन्थी भएको दाबी गरिरहेका थिए ।

‘देशको कम्युनिष्ट आन्दोलनमा एउटा संकट पैदा भएको छ । दक्षिणपन्थी शक्तिहरू कम्युनिष्ट आन्दोलनमा पनि देखा परेका छन् । र, ती दक्षिणपन्थी शक्ति/प्रवृत्तिहरूले नेकपा विघटन गरेर कम्युनिष्ट आन्दोलनमा नयाँ चुनौती खडा गरेका छन् । आज कम्युनिष्ट आन्दोलनको प्रगतिका निम्ति, कम्युनिष्ट एकताको निम्ति नेकपा एमालेको नेतृत्व अपरिहार्य छ,’ बादलले भनेका छन्, ‘म कम्युनिष्ट विचारधारमा आस्था राख्ने सबै बामपन्थीहरूलाई नेकपा एमालेमा आवद्ध हुन आह्वान गर्छु ।’
बादलको यो अपिल उनकै अध्यक्ष केपी शर्मा ओलीको विचारसँग भने मेल खाँदैन । ओलीले नै बारम्बार अब बामपन्थी एकताको कुनै अर्थ नभएको बताइरहेका छन् । बादलले यो सन्देश किन प्रवाह गरे त्यसको भेद पनि खुलेको छैन । उनी आफैं राजनीतिमा अब उतिबिघ्न भविष्य देखिरहेका छैनन् ।
पहिले माओवादीमा सँगै काम गरेका र पछि एमालेमा पनि सँगै बसेका नेता मणि थापा करिब ३ महिनाअघि बादललाई भेट्न पुगेका थिए । उनले बादल अब सक्रिय रहने मनस्थितिमा रहेको आफूले नपाएको बताए । ‘मैले अब के हो त भनेर बादल दाइलाई सोधेको थिएँ,’ थापाले भने, ‘उहाँ धेरै त बोल्नुभएन । तर अब एमालेमै सक्रिय रहने या नयाँ केही गर्ने भन्नेमा हुनुहुन्न । जे छ ठिकै छ भन्नेमा रहेको पाएँ।’
एमाले छोडेका मणि थापा भने अहिले सक्रिय राजनीतिबाट विश्राम लिएर गीत-संगीत सिर्जनामा व्यस्त छन् ।

बादल निकट अर्का एक नेताका अनुसार उनी अब माघमा राष्ट्रिय सभा सदस्य पद खाली हुँदा एमालेले आफूलाई उम्मेदवार बनाइदियोस् भन्ने चाहन्छन् । तर आफैंले खुलेर प्रस्ताव गर्ने पक्षमा फेरि पनि उनी छैनन् । उनका लागि बोलिदिने एमालेमा कोही छैन । ‘जनयुद्धकालदेखि नै उहाँ आफ्ना लागि केही माग्न जाने मान्छे हैन । अरूले नै ल्याएर अगाडि राखिदिउन् भन्ने चाहनुहुन्छ,’ बादलका एक पुराना हितैसीले भने, ‘बादलजीको प्रवृत्तिलाई हामीले उहिले पनि अजिंगर प्रवृत्ति भन्ने गर्थ्यौं । उहाँ कहिल्यै आहारा खोज्न जानुभएन । आहारा नै उहाँलाई खोज्दै आयो ।’
तर, एमाले बादलले जिन्दगीका सुनौला समय बिताएर बनाएको पार्टी होइन । माओवादीमा जस्तो एमालेमा उनको बिरासत र बोलवाला पनि छैन । प्रवृत्ति अजिंगरकै भए तापनि एमालेमै रहँदासम्म उनको आहारा दैवले पुर्याउने छैन ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4