News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले रामबहादुर थापा ‘बादल’लाई जनजाति पुरुष कलस्टरअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष नाम सिफारिस गरेको छ।
- बादलले २०७४ सालमा राष्ट्रिय सभा सदस्य भएर संघीय संसद्मा पुगेका थिए र गृहमन्त्री पदसमेत सम्हालेका थिए।
- २०७९ सालको निर्वाचनमा उम्मेदवार नबनेका बादल यसपटक समानुपातिक प्रणालीबाट तेस्रो पटक सांसद बन्ने भएका छन्।
१ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुनः संघीय संसद् सदस्य हुने भएका छन् ।
नेकपा एमालेले उनलाई जनजाति पुरुष कलस्टरअन्तर्गत राखेर समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष नाम सिफारिस गरेको छ । यो सँगै बादल पुनः सांसद बन्ने भएका हुन् ।
२०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा बादलले प्रचण्डपछिका शक्तिशाली सैन्य कमाण्डरको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
२०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय उनी माओवादी माओवादी शान्ति प्रक्रियामा आएपछि राजकीय जिम्मेवारीमा पुगेका थिए ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्ब २ बाट विजयी भए । उक्त निर्वाचनबाट तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बनेर उदायो ।
चुनावपछि बनेको प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा बादल रक्षामन्त्री बने । तर, तत्कालीन प्रधानसेनापति रुक्मांगद कट्वाललाई हटाउने प्रयास गर्दा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । त्यसबेला बादलको समन्वयकारी भूमिकालाई लिएर कतिपयले पार्टीभित्र प्रश्न उठाएका थिए ।
पार्टीभित्र प्रभावशाली रहेका उनी २०६५ सालमा तत्कालीन माओवादीको महासचिव बने । तर, प्रचण्डसँगको उनको सहकार्य लामो समय जान सकेन । २०६८ सालमा बादलले प्रचण्ड नेतृत्वको पार्टी छाडे । त्यससपछि मोहन वैद्य नेतृत्वको पार्टीको महासचिव बने । २०७० सालको निर्वाचनमा वैद्य नेतृत्वको पार्टीले भाग लिएन । ३ जेठ २०७३ मा बादल पुनः प्रचण्ड नेतृत्वको पार्टीमा फर्किए ।
२०७४ सालमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेले वाम तालमेल गरे र संयुक्त घोषणापत्रमार्फत निर्वाचन लडे । त्यसबेला प्रचण्डले नै चितवनबाट चुनाव लड्ने भएपछि बादल उम्मेदवार भएनन् ।
बरु सोही वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा उनी मकवानपुरबाट उम्मेदवार भए । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर संघीय संसद्मा दोस्रो पटक पुगे ।
२०७४ को चुनावबाट प्रतिनिधि सभामा वाम गण्बन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार बन्यो । ओेली नेतृत्वको उक्त सरकारमा बादल गृहमन्त्री बने ।
१४ फागुन २०७४ मा गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका बादल २०७८ साल ५ वैशाख २०७८ सम्म रहे ।
नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकता नै भंग गरिदिएपछि बादल एमालेमै बसेका थिए । एमालेमै बसेका बादललाई माओवादीले सांसद पदबाट निलम्बन गरेपछि उनको गृहमन्त्री पद गयो ।
बादलको सांसद पद खारेज भएपनि ६ महिनाका लागि गैर सांसदलाई मन्त्री बनाउन सकिने संवैधानिक प्रावधानमा टेकेर तत्कालीन प्रधानमन्त्री ओलीले पुनः बादललाई गृहमन्त्री नै बनाए । पछि सर्वोच्च अदालतले उक्त नियुक्ति पनि बदर गरिदियो ।
बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै रिक्त रहेको उक्त पदमा २०७८ वैशाख २४ मा उपनिर्वाचन भयो । बादल पुनः उम्मेदवार भए तर, चुनाव जितेनन् । बादललाई हराउँदै डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए ।
यो सँगै बादलको दोस्रो संसदीय यात्रा बीचमै रोकिएको थियो । २०७९ सालको निर्वाचनमा कतै उम्मेदवार भएनन् । यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा छिर्दा उनी तेस्रो पटक विधायक हुनेछन् ।
यसपटक एमालेले उनलाई जनजाति कलस्टर अन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा राखेको थियो । जसका कारण पार्टीले विगतको तुलनामा निकै मत मत समानुपातिकतर्फ पाउँदा समेत बादलले सांसद बन्ने अवसर प्राप्त गरे ।
प्रत्यक्षतर्फ उम्मेदवार रहेका एमालेका पदाधिकारी सबै पराजित भएका छन् । यो बेला एमालेको पदाधिकारीको तर्फबाट बादलले संसद्मा नेतृत्व गर्नेछन् ।
प्रतिक्रिया 4