News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले थाइल्याण्ड महिला टिमसँग २-० ले पराजित भएको खेलमा घरेलु टोलीले दोस्रो हाफमा दुई गोल गरे।
- थाइल्याण्डले सिधा फ्रिकिक र जिरापोनको गोलले खेल जित्यो।
- नेपालले यसअघि महिला एसियन कपमा थाइल्याण्डसँग दुई पटक पराजित भइसकेको थियो।
१९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाली महिला फुटबल टोली थाइल्याण्ड महिला टिमसँग पराजित भएको छ । थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० ले पराजित भएको हो ।
पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेपनि थाइल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
थाइल्याण्डले ६०औं मिनेटमा सिधा फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो । चाट्चावानले ६०औं मिनेटमा फ्रिकिकबाट सिधै गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएकी थिइन् ।
टप कर्नरमा हानेको फ्रिकिक नेपाली किपर एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गरेपनि उनको हातमा छुँदै गोल भयो । यस्तै जिरापोनले ७३औं मिनेटमा अग्रता दोब्बर पारिन् ।
फिफा महिला विश्वकप खेलिसकेको थाइल्याण्डसँग नेपाली महिला टोलीले पहिलो पटक मैत्रीपूर्ण खेल खेलेको हो भने समग्रमा तेस्रो खेल हो ।
यसअघि महिला एसियन कपमै नेपालले दुई पटक थाइल्याण्डसँग खेलेको थियो । सन् १९९६ मा पहिलो पटक महिला एसियन कप खेल्दा नेपाल थाइल्याण्डसँग समूह चरणमा ५-० ले पराजित भएको थियो । यस्तै सन् १९९९ मा पनि समूह चरणमा नेपाली सोही नतिजामा पराजित भएको थियो ।
उज्वेकिस्तानमा यही जुन अन्तिममा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
छनोटमा समूह एफमा रहेको नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4