
१९ जेठ, काठमाडौं । नेपालमा वैदेशिक लगानी बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ आयोजना हुने भएको छ । नेपाल बैंकर्स संघ र नेपाल प्राइभेट इक्विटी एसोसिएसनको सहकार्यमा इन्भेष्ट फर इम्प्याक्ट नेपालले फोरमको तेस्रो संस्करण आयोजना गर्न लागेको हो ।
मंगलबारदेखि सञ्चालन हुने उक्त फोरम बिहीबारसम्म चल्ने छ । इम्प्याक्ट नेपालले आयोजना गर्ने यो तेस्रो फोरम हो । पहिलो फोरममा विभिन्न ८ विकास वित्त संस्थाहरू सहभागी थिए । त्यसैगरी दोस्रो फोरममा १४ विकास वित्तीय संस्थाहरू र प्रभावशाली लगानीकर्ताको सहभागी रहेको इम्प्याक्ट नेपालले जनाएको छ । साथै तेस्रो फोरममा पनि १४ विकास वित्तीय संस्थाहरू र प्रभावशाली लगानीकर्ता रहेका छन् ।
यो फोरमले विश्वका विकास वित्तीय संस्थाहरू र प्रभावशाली लगानीकर्ता नेपाल भित्राउन मद्दत गर्ने अपेक्षा गरिएको छ । फोरममा लगानीकर्ताले सरकार तथा नियामक निकायसँग छलफल गर्न सक्नेछन भने सम्भावित लगानी क्षेत्रको समेत पहिचान तथा सम्बन्ध स्थापना समेत गर्न सक्नेछन् । साथै, लगानीकर्तालाई नेपालमा वैदेशिक लगानी अवस्था तथा सम्भावनाको आफैंले मूल्याङ्कन समेत गर्न पाउनेछन् । यो फोरममा वैकल्पिक लगानी उद्योगहरू पनि सहभागी हुने आयोजकले जनाएको छ ।
‘इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ ले नेपालमा विदेशी लगानी भित्राउन उद्यमी र लगानीकर्ताबीच सम्पर्क स्थापना गराइदिने माध्यमको रुपमा मात्रै सहयोग गर्नेछ । साथै स्थायी सहकार्य निर्माणका लागि रणनीतिक अवसर प्रदान गर्नेछ । राष्ट्रिय प्राथमिकताका आधारमा लगानीकर्ताको हितलाई जोड्ने तथा दीर्घकालीन लगानीको बाटो तय गर्न रणनीतिक अवसर उपलब्ध गराउने दाबी आयोजकको छ ।
फोरमले अन्तर्राष्ट्रिय लगानी चक्रमा नेपालको पनि सहभागिता झनै बढ्दै जाने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4