
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा डाँका समूहले गोली प्रहार गरी कान्तालाल चौधरीको हत्या गरेको छ।
- घटनामा घाइते भएका कान्तालालका भाइ रामाकान्तको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
२३ जेठ, विराटनगर । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।
घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।
लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।
त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।
डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली खटिएको थियो ।
घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4