+
इन्दु बर्मासँग वार्ता :

ग्लोबल छनोटका लागि अहिल्यैबाट राम्रो तयारी आवश्यक छ

२०८२ जेठ  २४ गते २०:२५ २०८२ जेठ २४ गते २०:२५

इन्दुको कप्तानीमा नेपालले पहिलोपटक महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्न सफल भएको थियो । त्यो क्षण निकै भावुक पनि रहेको थियो ।

ग्लोबल छनोटका लागि अहिल्यैबाट राम्रो तयारी आवश्यक छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्दु बर्माले नेपाल महिला क्रिकेट टोलीको एसिया छनोट पार गरेर विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको अनुभव सेयर गरिन्।
  • उनले चुनौतीपूर्ण परिस्थितिहरू र टिमको मेहनतले सफलता हासिल गरेको बताइन्।
  • नेपाली क्रिकेटप्रति समर्थन कायमै राख्न फ्यानहरूलाई उनको अनुरोध छ।

नेपाली महिला क्रिकेट टोली गत मे महिनामा भएको आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्न सफल भयो। नेपाललाई पहिलोपटक एसिया छनोट पार गराउन कप्तानको भूमिकामा थिइन् इन्दु बर्मा, जसले यूएईसँगको निर्णायक खेलमा कप्तानी पारी खेल्दै ऐतिहासिक सफलता दिलाइन्। कप्तान इन्दुसँग अनलाइनखबरका वरिष्ठ खेल संवाददाता गोविन्दराज नेपालले गरेको कुराकानी प्रस्तुत गरेका छौं।

ग्लोबल क्वालिफायरमा पुगेर फर्किंदा कस्तो अनुभव भयो ?

निकै विशेष अनुभव भयो। उपाधि जित्न नसकिए पनि ग्लोबल स्तरमा पुग्नु ठूलो उपलब्धि हो। अब झन् चुनौतीपूर्ण खेलहरू हुनेछन्, त्यसका लागि हामी अभ्यासमा जुटिरहेका छौं। यसपालि महिला क्रिकेटबारे सकारात्मक चर्चा बढी भएको छ, जुन उत्साहजनक छ। अघिल्ला हारहरूले मानसिक रूपमा निराश बनाउँथ्यो, तर अब ग्लोबल क्वालिफायर पुगेपछि आत्मविश्वास बढेको छ। यूएईसँगको सुपर थ्री खेल हाम्रो लागि फाइनलसरह थियो।

यूएईविरुद्धको निर्णायक खेलमा तपाईंले कप्तानीसहित उत्कृष्ट पारी खेल्नुभयो र टिमलाई जिताउनुभयो। त्यो क्षण कस्तो थियो ?

त्यो क्षण निकै नर्भस र एक्साइटेड थियो। मौसमको कारणले डीएल मेथडमा जानुपर्ने स्थिति पनि बनेको थियो। पावरप्लेसम्म हामी अगाडि थियौं, त्यसपछि सात रनले पछाडि पर्‍यौं, निकै तनावपूर्ण अवस्था थियो। अन्तिममा म क्रिजमा थिएँ र आत्मविश्वास थियो कि म्याच जिताएरै फर्किन्छु। रुबिना (क्षेत्री) दिदीले पनि उत्कृष्ट साथ दिनुभयो। हामी दुईले अन्तिमसम्म खेल्दै म्याच सक्यौं। त्यसपछि ड्रेसिङ रुमको माहोल एकदमै सकारात्मक र भावुक थियो—सबै खुसी भएर आँसु झारिरहेका थिए।

रुबिना क्रिजमा आइसकेपछि तपाईंहरू दुई जना सिनियर खेलाडीले के योजना बनाउनुभयो ? खेल्ने शैली कस्तो रह्यो ?

हामी दुईमध्ये कम्तिमा एकजनाले अन्तिमसम्म खेल्नैपर्छ भन्ने सोच थियो। रुबिना दिदीको पहिलो बलमै राम्रो शट लागेपछि उहाँमा आत्मविश्वास आयो। उहाँले ‘आज मेरो लागेको छ’ भन्नुभयो, त्यसले मलाई पनि झनै आत्मबल दियो। त्यसपछि हाम्रो राम्रो साझेदारी बन्यो। एकपटक कठिन स्थिति आयो, तर बाहिरबाट सपोर्ट स्टाफले ‘शान्त रहेर कुरा गरेर खेल’ भनेर सन्देश दिइरहेका थिए। प्लेयरहरूले पनि सन्देश पठाइरहेका थिए। हामीले आत्मविश्वास राखेर टिमलाई जिताएर फर्कियौं। १८ वर्षको महिला अन्तराष्ट्रिय क्रिकेट यात्रामा यस्तो सफलता पाउनु खास लाग्यो।

यसअघि हामी चुक्दै आएका थियौं, ग्लोबल क्वालिफायर पुग्न नसक्नुको कारण के थियो ? अहिले के फरक भयो ?

पहिले त धेरै कठिनाइ थिए । एक समय त क्यान निलम्बनमा थियो, म्याच र एक्सपोजर धेरै कम पाउँथ्यौं। वर्षमा एक–दुई खेल मात्रै हुन्थे। अहिले भने क्यान फर्किएपछि लगातार घरेलु र अन्तर्राष्ट्रिय सिरिज हुँदै धेरै खेल्ने मौका पाइरहेका छौं। यो बढ्दो एक्सपोजरकै कारण खेलाडीहरूमा आत्मविश्वास, तयारी र प्रदर्शन सबैमा सुधार आएको छ। धेरै वर्षको संघर्ष र मेहनतपछि अहिलेको सफलतामा पुगेका हौं।

कहिले पनि क्याप्टेन नै बन्छु भनेर खेलेको थिइनँ। तर लगातार मेहनत गरेपछि क्रिकेटले पनि सम्मान गर्छ, त्यो नै क्याप्टेनशिपको रूपमा आएको जस्तो लाग्छ।

यसपालि मौसम, तयारी र अन्य पक्षमा पनि हामीलाई साथ मिलेका कारण नतिजा सकारात्मक आएको कुरामा के भन्नुहुन्छ । त्यो सबैले कति फाइदा पुर्‍यायो ?

एकदम । सबै हिसाबले यो पटक कुरा हाम्रो पक्षमा गयो। मौसमले कहिले सहयोग गर्‍यो, कहिले चुनौती पनि बनायो—धेरैजसो म्याच छोटो ओभरमा झारिएको थियो, जसले मानसिक दबाब बढाएको थियो। २० ओभरको योजना बनाएर गएको टिमले ५–७ ओभरको खेल खेल्नुपर्दा सुरुवातमा निराश लाग्यो। तर हामीले लामो तयारी गरेका थियौं—काठमाडौं, भैरहवा, दिल्लीसम्म लगातार ट्रेनिङ गर्‍यौं। क्यानले ४५–५० दिनको क्लोज क्याम्प पनि दिएको थियो। कन्सल्टेन्ट कोचहरूको सहयोग, एक्सपोजर र मेहनतले गर्दा अन्ततः त्यो मानसिक दबाब पार गरेर हामी सफल भयौं। भाग्यले पनि केही साथ दियो भन्नुपर्छ।

हामी एक समय त ग्रुप स्टेजबाट बाहिरिने संघारमै पुगेका थियौं, बहराइनसँगको म्याचपछिको समीकरणबारे कहिले थाहा पाउनुभयो, अनि त्यसबेला कस्तो प्रतिक्रिया रह्यो ?

सुरुमा हामीलाई स्पष्ट थाहा थिएन। बहराइनसँग खेल्दा हाम्रो टार्गेट थियो ५.३ ओभरमै म्याच सक्नु, जुन हामीले ५.४ ओभरमा पूरा गर्‍यौं—एक बलले मात्र छुट्यौं। त्यसबेला सबैजना थोरै दुःखी थियौं, किनकि यदि अन्तिम बलमा सिक्स प्रहार भएको भए रनरेट हङकङसँग बराबरी हुन सक्थ्यो। तर पछि थाहा भयो कि रनरेट होइन, म्याच जितेको आधारमा अगाडि बढिने रहेछ। यो कुरा हामीले खेलपछि मात्रै बुझ्यौं—सोसल मिडियाबाट पनि जानकारी पायौं। त्यसपछि टिममा खुसीको माहोल बन्यो, सबैजना उत्साहित भयौं।

हङकङ र बहराइनको म्याच रोकियोस् भन्ने कामना पनि गर्नुभयो त ?

जब थाहा भयो कि म्याच रोकियो भने हामीलाई फाइदा हुन्छ, त्यस्तो भावना त सबैको मनमा आयो। सुपर थ्री पुग्नुछ भन्ने दबाबमा प्रार्थना गर्ने जस्तो स्थिति पनि भयो। तर हामीले पनि मेहनत गरेका थियौं, र अन्ततः भगवानको योजना र हाम्रो मिहिनेत दुवैले मिलेर राम्रो नतिजा आयो।

ग्लोबल क्वालिफायर पुग्नुको अर्थ नेपाली महिला क्रिकेटका लागि कति ठूलो छ ?

यो धेरै ठूलो कुरा हो । म २०१० देखि खेल्दै आएको छु, महिला टिमको स्थापना २००७ मा भएको हो। यी वर्षहरूमा सिनियर टिमले खासै उपलब्धि ल्याउन सकेको थिएन। प्रायः हारकै साथ फर्किनुपर्थ्यो, जसले मनोबल गिराउँथ्यो। तर यसपालिको उपलब्धि धेरै वर्षको संघर्ष र मेहनतको फल हो—सबै खेलाडीको लागि यो एक ऐतिहासिक उपलब्धि हो।

अब ग्लोबल क्वालिफायरमा टप टेनभित्र अनि त्यसकै नजिकका टिमहरू त्यसको लागि तपाईंहरूको तयारी कस्तो हुँदैछ ? केके गर्नुपर्छ जस्तो लाग्छ ?

अब चुनौती अझै थपिनेछ। यस्तो उच्च स्तरको प्रतिस्पर्धाका लागि हामीले धेरै म्याच एक्सपोजर पाउन जरुरी छ—विशेषगरी ठूला टिमहरूसँग। हामी चाहन्छौं कि हामीलाई अबदेखि नै त्यस्ता वातावरणमा खेल्ने मौका मिलोस्, जसले गर्दा ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्न सजिलो होस्। तीन मुख्य कुराहरूमा काम गर्न जरुरी छ ।  स्किल्समा अझ सुधार, मानसिक स्वास्थ्यमा ध्यान दिँदै फिटनेसमा विशेष काम गर्नुपर्छ। यी तीनै पक्षमा फोकस गरेमा हामी ग्लोबल क्वालिफायरमा राम्रो प्रदर्शन गर्न सक्छौं।

महिला यू-१९ तथा पुरुषका यू-१९ र सिनियर टिमले वर्ल्ड कप खेलिसकेको अवस्थामा तपाईंहरूको लागि कति च्यालेन्ज महसुस भइरहेको छ ?

पक्कै पनि ठूलो च्यालेन्ज पहिल्यैदेखि थियो र अझै पनि छ। यू-१९, मेन्स सिनियर र वुमेन्स यू-१९ सबैले वर्ल्ड कप खेलिसकेका छन्, त्यसैले हामी पनि पछाडि नपरोस् भन्ने चाहना बलियो छ। सबैले दिनरात मेहेनत गरिरहेका छन्, हामी पनि वर्ल्ड कप खेल्ने सपना साकार पार्न शतप्रतिशत दिनेछौं।

अब ग्लोबल क्वालिफायरमा अझै बलिया टिमहरू आउँछन्। तपाईंहरूलाई वर्ल्ड कप पुग्ने सम्भावना कति लाग्छ ?

जस्तो टिम आए पनि हामी हाम्रो तर्फबाट शतप्रतिशत दिनेछौं । मुख्य लक्ष्य भनेको वर्ल्ड कप प्रवेश गर्नु नै हो, त्यसका लागि हामी तयार छौं।

पछिल्लो समय पुरुष क्रिकेटमा नेपाल प्रिमियर लिग भयो, तर महिला फ्रेन्चाइज लिग एकपटक भएतापनि त्यसपछि हुन सकेन । महिलाको पनि फ्रेन्चाइज लिग हुनुपर्छ भन्ने माग कतिको छ ?

पक्कै पनि हुनुपर्छ। २०१९ मा एकपटक भएको थियो, जुन राम्रो सुरुआत थियो। तर कोभिडका कारण त्यसपछि निरन्तरता पाउन सकेन। अहिले जस्तै पुरुष क्रिकेटमा लिगहरू हुँदैछन्, महिलालाई पनि त्यस्तै प्लेटफर्म, सपोर्ट र अवसर दिइनुपर्छ। भविष्यमा फेरि सुरु हुने आशा छ।

तपाईंले क्याप्टेन्सी गरेर टिमलाई च्याम्पियन बनाउनु भएको थियो । त्यसपछि फ्रेन्चाइज लिग निरन्तर नहुनु कति निराशाजनक लाग्यो ?

त्यसबेला एकदम राम्रो महसुस भएको थियो, आशा पनि थियो कि यो लिग नियमित हुन्छ भनेर । तर परिस्थिति कठिन थियो, कोभिड आयो, अन्य अवरोधहरू भए। निराश लागे पनि आशावादी छौं कि भविष्यमा पक्कै पनि महिला फ्रेन्चाइज लिग फेरि हुनेछ।

पछिल्लो समयमा निजी क्षेत्र पनि खेलकुदतर्फ आकर्षित हुँदै गएको देखिन्छ, र सरकारले बजेटमार्फत निजी क्षेत्रलाई समेट्ने नीति लिएको छ। यस्तो सहयोगले कति फाइदा गर्छ भन्ने लाग्छ ?

यसले पक्कै पनि ठूलो फाइदा गर्छ। खासगरी महिला खेलाडीहरूका लागि यो सपोर्ट अत्यन्त उपयोगी हुन्छ। अहिले महिलाको क्रिकेटमा पनि विस्तारै क्रेज र समर्थन बढ्दै गएको छ। निजी क्षेत्रले सहभागी भएमा प्लेयरहरूले राम्रो अवसर पाउने छन्, जसले खेलको स्तर अझै माथि जान्छ।

तपाईंले अन्डर-१९ देखि सिनियर टिम हुँदै क्याप्टेनसम्मको यात्रा गर्नुभयो र ऐतिहासिक सफलता दिलाउनुभयो। आफ्नो सुरुवातदेखि हालसम्मको यात्रा कस्तो रह्यो ?

मेरो क्रिकेट यात्रा गल्ली क्रिकेटबाट सुरु भएको हो—भाइहरूसँग ओपन फिल्डमा खेल्थेँ। सुरुमा सरकारी स्कुलमा पढेँ, पछि प्राइभेट स्कुलमा गएँ। त्यहाँ कोचिङ पाउने मौका मिल्यो। सुरुमा रमाइलोको लागि मात्र खेल्थेँ, करियर बनाउँछु भन्ने सोच थिएन। तर स्कुलस्तरीय टुर्नामेन्टहरू खेलेपछि खेलप्रति आकर्षण बढ्दै गयो। अन्ततः क्रिकेटले मलाई नाम, इज्जत र पहिचान दियो। त्यसपछि मैले पनि क्रिकेटलाई पूर्ण समर्पण गरें—डिसिप्लिन, हार्डवर्क र डेडिकेसनसहित। त्यो निरन्तरताको नतिजा हो कि आज म यहाँसम्म आइपुगेकी छु। सुरुमा यस्तो उपलब्धिमा पुग्ने कल्पना थिएन, तर अहिले लाग्छ, मन लगाएर, अनुशासनमा रहेर काम गरियो भने जुनसुकै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ।

कुनैबेला छाड्नु पर्छ भन्ने जस्तो अवस्था त आएन ?

एकपटक यस्तो स्थिति आएको थियो। त्यतिबेला वर्षमा एकदम कम खेलहरू हुन्थ्यो, त्यो पनि गाह्रो । लाग्थ्यो, अब क्रिकेटले मात्र हुँदैन, परिवार हेर्न बाहिर जानुपर्छ कि जस्तो। तर त्यतिबेला पनि छोडिन, कन्टिन्यु गरें, आज त्यो निर्णयले यहाँसम्म ल्यायो।

तपाईं दुई वर्षदेखि क्याप्टेन हुनुहुन्छ। कहिल्यै लाग्थ्यो क्याप्टेन बन्छु भनेर ?

कहिले पनि क्याप्टेन नै बन्छु भनेर खेलेको थिइनँ। तर लगातार मेहनत गरेपछि क्रिकेटले पनि सम्मान गर्छ, त्यो नै क्याप्टेनशिपको रूपमा आएको जस्तो लाग्छ।

पछिल्ला दुई वर्षमा खेलहरू पनि धेरै भएको देखिन्छ, तपाईं कसरी हेर्नुहुन्छ ?

एकदमै खुसी लाग्छ। पहिले यति धेरै म्याचको एक्सपोजर पाएका थिएनौं। यदि सुरुदेखि नै यस्तो म्याच पाएको भए टिम अझ छिटो ग्रो हुन्थ्यो होला। अहिले नयाँ ट्यालेन्टहरू पनि आइरहेका छन्, महिला क्रिकेट अझ राम्रो हुँदै जान्छ भन्ने आशा छ।

नयाँ पुस्ताका महिला खेलाडीहरूलाई तपाईंको सुझाव के छ ?

अहिलेको जेनेरेसन एकदमै ट्यालेन्टेड र छिटो सिक्ने छन्। हामीले पहिले इन्टरनेटमा यति सजिलै फलो गर्न पाएका थिएनौं, तर अहिले त युट्युब, गुगल, सोसल मिडियाबाट धेरै कुरा सिक्न सकिन्छ। सिक्न चाहनेहरूका लागि अहिलेको समय उत्कृष्ट हो।

तपाईंको क्रिकेट करियरमा सबैभन्दा सम्झनलायक, विशेष क्षण कुन लाग्छ ?

मेरो डेब्यू नै सबैभन्दा सम्झनलायक क्षण हो। स्कुलका प्रिन्सिपल सर र भाइस प्रिन्सिपल सर हाम्रो रेस्टुरेन्टमा आउनुभयो र भन्नुभयो, ‘छोरी सेलेक्ट भयो, अब सिंगापुर जान्छ’ भनेर। म त्यतिखेर घरमै थिएँ र ममी भाँडा माझ्दै हुनुहुन्थ्यो। सरले त्यो खबर दिनुहुँदा ममी खुशीले रुनुभयो, उफ्रिनुभयो—त्यो क्षण अहिले पनि बेस्ट लाग्छ। खासमा क्याम्पको लागि छनोट भएको थिएँ।

पहिलो म्याचको चाहिँ कस्तो अनुभव रह्यो?

पहिलो म्याचमा ब्याटिङ, बलिङ गर्ने मौका त पाइएन, तर फिल्डिङ गरें। म सबैभन्दा कान्छी थिएँ, दिदीहरूसँग धेरै कुरा सिकें। त्यो वातावरण, साथ, र पहिलोपल्ट नेपालको लागि मैदानमा उभिएको क्षण एकदमै गर्व र खुसीको क्षण थियो।

ग्लोबल क्वालिफायरमा पुगिसकेपछि अब वर्ल्ड कप टार्गेट त छँदै छ। तपाईंको व्यक्तिगत लक्ष्य र नेपाली महिला क्रिकेट टिमसँगको आगामी यात्रा कस्तो देख्नुहुन्छ ?

हाम्रो मुख्य लक्ष्य वर्ल्डकप खेल्ने हो। जुन दिनबाट बल र ब्याट समात्यौं, त्यही दिनदेखि सपना वर्ल्डकप नै थियो। अहिले जुन वातावरण छ, त्यसले पनि हामीलाई लगातार प्रेरणा दिइरहेको छ। हाम्रो कोच, सपोर्टिङ स्टाफ, कन्सल्टेन्ट सर सबैले हरेक दिन सकारात्मक सोच र मोटिभेसन दिनुभएको छ। हामी त डायरीमै लेख्थ्यौं—हाम्रो लक्ष्य वर्ल्ड कप। त्यही एनर्जीले मैदानमा अर्को लेभलको जोश दिन्थ्यो। अहिलेको सफलताको कारण पनि सबैको १००% योगदान हो। अब भने अझ बढी मेहनत गर्नुपर्ने छ, किनकि ग्लोबल लेभलमा थप कडा चुनौतीहरू आइरहेका छन्। त्यसको लागि हामी झन् गहिरो तयारी गर्दै अगाडि बढ्नेछौं।

नेपाली क्रिकेट समर्थकहरूलाई के भन्न चाहनुहुन्छ ?

म त हाम्रा फ्यानप्रति सधैं आभारी छु। जुनसुकै ठाउँमा म्याच भए पनि उहाँहरू आफ्नो काम छाडेर हामीलाई समर्थन गर्न आउनुहुन्छ। उहाँहरूको त्यो साथले हामीलाई अपार हौसला मिल्छ। हामी जुन देशमा गए पनि ‘नेपाल’ भन्दै फ्यानहरूले साथ दिनुहुन्छ—त्यो पल त साँच्चै गुजबम्प्स आउने मोमेन्ट हो। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा छ।

तस्वीर/भिडिओ : शंकर गिरी/अनलाइनखबर

इन्दु बर्मा क्रिकेट ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय