+
+
Shares

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ ।

रासस रासस
२०८२ जेठ २३ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिनेछ।
  • ५७ बिघा क्षेत्रफलमा फैलिएको सुक्खा बन्दरगाह विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर निर्माण गरिएको हो।
  • यस बन्दरगाहले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड सङ्कलन गरेको छ।

२३ जेठ, वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए । ‘चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ’, उनले भने, ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।’

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ । यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ ।

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघामा फैलिएको छ ।

पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको रु एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?