
News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक तयार गर्दैछ।
- राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकको तयारी र छलफलको जानकारी दिए।
- गोरखा सैनिकको नागरिकता र माग सम्बन्धी विषय अझै छलफल र बहसको आवश्यक रहेको उनले बताए।
२७ जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले यससम्बन्धी काम परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी दिए ।
‘गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दैछ । त्यसमा संविधानको भावना र संविधानको व्यवस्था बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार उपभोग गर्ने व्यवस्था त्यसले गर्छ,’ उनले भने, ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विषयमा समेत त्यही विधेयकले व्याख्या गर्ने भएको कारण छिट्टै सदनमा प्रस्तुत गर्छौं ।’
उनले थपे, ‘अहिले परराष्ट्र मन्त्रालयले यसको नेतृत्व गरिरहेको छ । अहिले यो विधेयक गृह मन्त्रालयमा समेत आएको छ । त्यसकारण यो विषयलाई यस विधेयकमा नराखौँ ।’
गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पारे ।
उनले गोरखा सैनिकका मागहरुको सन्दर्भमा अझै छलफल र बहस गर्न जरुरी रहेको समेत बताए । ‘गोर्खा सैनिकको विषय पनि अहिले निकै चर्चामा छ । तर यसमा अहिले मेरो धेरै अनुरोध छैन । वास्तवमा गोर्खा सैनिकका समस्या समाधान गर्नको लागि यो विधेयक प्रस्तुत गरिएको होइन । किनभने यसमा अझै छलफल बाँकी छ ।’
उनले थपे, ‘जुन माग उहाँहरुले उठाउनुभएको छ त्यो माग ऐनसँग सम्बन्धित छ कि संविधानसँग ? उहाँहरूका मागहरु सम्बोधन गर्नको लागि हामी संविधानलाई नै हेर्नुपर्ने हुन्छ । ऐनकै कारण सम्बोधन हुन्छ भन्ने कुरामा हाम्रा बीचमा एकमत छैन ।’
गोर्खा सैनिकहरुले बेलायतको नागरिकता पाएपनि नेपालको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया 4