
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली आक्रमणपछि इरानले शनिबार बिहान इजरायलमाथि १०० भन्दाबढी मिसाल प्रहार गरेको छ।
- आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै र दर्जनौं घाइते भएका छन्।
- यी दुई राष्ट्रबीचको तनावले मध्यपूर्व क्षेत्र नै प्रभावित खतरा बढेको छ।
३१ जेठ, काठमाडौं । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ । इजरायलले गरेको आक्रमणको २४ घण्टा नबित्दै बदलास्वरुप इरानले मिसाइल प्रहार गरेको हो ।
आक्रमणमा परी कम्तिमा तीन जनाको मृत्य भएको र दर्जनौं घाइते भएका अलजजिराले जनाएको छ ।
शनिबार बिहान इजरायलको तेल अवीवमा भएको इरानी आक्रमणमा एक जना र मध्य इजरायलमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।
इरानी आक्रमणपछि इजरायलको जेरुसेलम लगायतका क्षेत्रमा आपतकालीन साइरन बजेको थियो ।
निसाना बनाइएको क्षेत्रमा धुँवाका मुस्लो उडिरहेको मिडियामा आएका भिडियोहरुमा देख्न सकिन्छ । आणविक केन्द्रहरुलाई निसाना बनाउनेगरी इजरायलले गरेको आक्रमणको प्रतिवादमा इरानले शनिबार बिहान १०० भन्दा बढी मिसाइल प्रहार गरेको छ । आक्रमणलाई इरानले ‘ट्रू प्रोमिस थ्री’ नाम दिएको छ ।
मध्यपूर्वमा यससँगै फेरि तनाव बढेको छ । शुक्रबार इजरायल गरेको आक्रमणमा इरानका रिभोल्स्नरी गार्ड्स प्रमुख मेजर जनरल हुसेन सलामीसहित केही उच्च सैन्य अधिकारीहरुको मृत्यु भएको बताइएको छ ।
साथै आणविक कार्यक्रम सञ्चालन भइरहेको इरानी केन्द्रहरुमा पनि इजरायलले क्षति पुर्याएको बताइएको छ । ‘राइजिङ लायन’ मिसन नाम दिएको इजरायलले इरानमाथि आक्रमण गरेको थियो ।
इजरायली आक्रमणमा कम्तिमा ७८ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ३२० भन्दा बढीको घाइते भएका इरानी अधिकारीहरुले जनाएका छन् ।
घटनापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले उच्च सैन्य अधिकारी, सैन्य कमाण्डर र पाँच आणविक वैज्ञानिकको मृत्यु भएको पुष्टि गरेका थिए ।
आक्रमणलाई अपराधको संज्ञा दिँदै नेता खामेनीले इजरायलले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
इजरायलका प्रधामन्त्री बेन्जामीन नेतान्याहूले आवश्यक पर्दासम्म सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायली आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले सम्झौताका लागि ६० दिनको अल्टिमेटम दिएकोमा उनीहरुले त्यसलाई वेवास्ता गरेको बताएका छन् ।
आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘दुई महिनाअघि मैले इरानलाई सम्झौता गर भनेर ६० दिनको अल्टिमेटम दिएको थिएँ ।उनीहरुले त्यो बेला गर्नुपथ्र्यो । आज ६१औं दिन हो । मैले उनीहरुलाई के गर्नुपर्ने हो भनेको थिएँ तर, उनीहरु त्यहाँ पुग्न सकेनन् । अब सायद उनीहरुलाई दोस्रो मौका मिलेको छ ।’
अमेरिकाले इरानको आणविक हतियार विकास कार्यक्रम र युरनियम प्रशोधन कार्यलाई लिएर तीव्र असन्तुष्ट व्यक्त गर्दै रोक्न दबाब दिँदै आएको छ । तर, इरानले भने आणविक कार्यक्रम आफ्नो मुलुकको रक्षार्थ भएको भन्दै सम्झौताको प्रस्तावलाई अस्वीकार गर्ने गरेको छ ।
इजरायली आक्रमणपछि अमेरिकासँग अब वार्ता र सम्झौताको ढोका बन्द भएको इरानको प्रतिक्रिया छ । साथै इरानले इजरायललाई आक्रमणमा थप सहयोग नगर्न अमेरिका, युके र फ्रान्सलाई चेतावनी दिएको छ ।
अमेरिकाले भने इरानलाई बदलाभावले इराक लगायतका क्षेत्रमा रहेका आफ्ना सैन्य अड्डालाई निसाना नबनाउन भनेको छ ।
प्रतिक्रिया 4