
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुनेछ।
- चलचित्र विकास बोर्डका सेवाहरू अब अनलाइनमार्फत उपलब्ध हुनेछन्।
- साधारण सभाले १७ सदस्यीय नयाँ कार्यसमिति बनाउने निर्णय गर्यो।
काठमाडौं । असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुने भएको छ । सोही दिनदेखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत हुनेछन् ।
चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’बारे उक्त कुरा बताएका हुन् ।
अहिले पनि ‘रियल टाइम बक्सअफिस’ कायमै छ । तर, असार १६ देखि औपचारिक घोषणा हुन लागेका हो । मुलुकका १६५ भन्दा सबै हल बक्सअफिसमा जडान भैसकेको जानकारी पनि उनले दिए ।
अर्कोतर्फ, बोर्डले प्रदान गर्ने सेवाहरू निर्माण इजाजत, सेन्सर सिफारिस लगायतका सेवा पनि अबदेखि अनलाइनबाटैै हुनेछन् । जसले गर्दा, चलचित्रकर्मीलाई सेवा लिन बोर्डसम्म धाउनुपर्ने छैन ।
कार्यक्रममा अध्यक्ष डीसीले अबदेखि बोर्डले सीप विकास र तालिमजस्ता कार्यक्रममा मात्र संस्थासँग सहकार्य गर्ने बताए । निर्माता संघका अध्यक्ष नवल खड्काले बनिरहेको चलचित्र विधेयकमा बोर्ड स्वायत्त हुने व्यवस्था गर्नुपर्छ भन्ने कुरालाई राज्यले बेवास्ता गरेको बताए ।
यसका लागि बोर्डले सरकारलाई दबाब दिनुपर्ने बताउँदै अध्यक्ष खड्काले सेन्सर बोर्डमा चलचित्र विज्ञ नियुक्त गर्नुपर्छ भन्ने आग्रहलाई राज्यले बेवास्ता गरेको बताए ।
‘सेन्सर बोर्डले चलचित्रको घाँटी निमोठ्ने कार्य गरिरहेको देखिएको छ । यसमा बोर्डले सहजीकरण गरिदिनुपर्यो’ अध्यक्ष खड्काले भने । कलाकारको पारिश्रमिक शुल्क बढ्दा यसले निर्मातालाई कठिनाइ भएको बताउँदै उनले यसतर्फ निर्माताले पनि विचार गर्नुपर्ने बताए । ‘कलाकारको शुल्क वृद्धि हुनुमा निर्माताका पनि कमीकमजोरी छन्’ उनले भने ।
साधारण सभाले संस्थाको विधान पारित गर्दै १७ सदस्यीय कार्यसमिति बनाउने निधो गरेको छ । वरिष्ठ उपाध्यक्ष लगायतका पद कटौती गरिएको छ । महासचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरिएको छ ।
संघका अनुसार अहिले मुलुकभर १२०० चलचित्र निर्माता छन् । भदौसम्म खड्काकै कार्यकाल छ भने त्यसपछि नयाँ कार्यसमितिको चुनाव घोषणा हुने जनाइएको छ ।
साधारण सभामा मुख्य अतिथिको रुपमा दिनेश डीसी थिए भने विशिष्ट अतिथिको रुपमा राजकुमार राई सहभागी थिए ।
प्रतिक्रिया 4