
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ र विद्युत् अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।
- यसैक्रममा नेपालगञ्जवासीलाई पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न पोखरा भ्रमण निम्तो दिएका छन्।
- पछिल्लो वर्ष नेपालीमा पनि घुम्ने संस्कृति विकास हुँदै गएको छ।
१ असार, नेपालगञ्ज । पछिल्लो दिन नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियस हाराहारी छ । प्रचण्ड गर्मी, त्यसबाहेक छिनछिनमा विद्युत् अवरुद्ध हुँदा नेपालगञ्जवासीको जनजीवन कष्टकर बनेको छ ।
गर्मीले उकुसमुकुस भएका नेपालगञ्जवासीलाई पर्यटन राजधानी पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न पोखरा भ्रमण निम्तो दिएका छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऔं है पोखरा’ भन्ने अभियान अनुरुप गर्मीको सहर नेपालगञ्ज आइपुगेका पोखराका पर्यटन व्यवसायीको टोलीले नेपालगञ्जका उद्योगी ,व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग पोखरा भ्रमणको सामूहिक निम्तो दिएको हो ।
प्रचण्ड गर्मीका बेला नेपालगञ्ज र पोखराबीचको तापक्रम करिब १० देखि १२ डिग्री सेल्सियस हाराहारी फरक हुन्छ । नेपालगञ्जमा ४० डिग्री हुँदा पोखरामा ३० डिग्री आसपास हुन्छ ।
गर्मी छल्न पोखरा घुम्न आउने नेपालगञ्जका पर्यटकलाई विभिन्न छुटसहित प्याकेज सुविधा दिइने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
पोखराका पर्यटन व्यवसायीको निम्तो स्वीकार्दै नेपालगञ्जका पर्यटन व्यवसायीले पनि पोखरा भ्रमणमा जाने र अन्य पर्यटकका लागि टूर प्याकेज बनाएर अगाडि बढ्ने बताए ।
होटल एसोसिएसन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष एवं सिद्धार्थ होटलका निर्देशक केशव न्यौपानेले पोखरा र नेपालगञ्जका होटल तथा पर्यटन व्यवसायीबीच सहकार्य गरेर अगाडि बढ्दा दुवै क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै गर्मी छल्न जेठदेखि भदौ पोखरा भ्रमणका लागि उपयुक्त भएको बताए ।
नेपालगञ्जका पर्यटन व्यवसायीको पहलमा सुरु भएको नेपालगञ्ज–पोखरा सीधा हवाई उडान नियमित सञ्चालन भइरहेको छ । नेपालगञ्जबाट पोखराका लागि दैनिक सुविधासम्पन्न बस सञ्चालनमा छन् ।
नेपालगञ्जका पर्यटन व्यवसायी श्रीराम सिग्देलले भारतीय पर्यटक लक्षित गरेर नेपालगञ्जबाट पोखरा हुँदै मुक्तिनाथसम्मको प्याकेज बनाएर अगाडि बढ्नुपर्ने बताए ।
नेपालगञ्जदेखि पोखरासम्मको सडक मार्गको दूरी ४ सय १० किलोमिटर भएपनि सडक मार्गको अवस्था नाजुक हुँदा पोखरा पुग्न करिब १० घण्टा लाग्छ ।
पछिल्ला दिनमा विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै बढेको छ । निजी ईभी हुनेका लागि नेपालगञ्जदेखि पोखरासम्मको यात्रा पेट्रोल/डिजेल गाडीको तुलनामा निक्कै सस्तो भएको छ ।
पोखरामा टुरिस्ट क्लासदेखि पाँचतारे स्तरसम्म गरी करिब १ हजार २ सय होटल छन् । ती होटलको बेड क्षमता ४० हजार छ । संघ अध्यक्ष सुवेदीका अनुसार होटल क्षेत्रमा मात्रै करिब ५ खर्ब लगानी भएको छ । करिब २० हजार जनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन् ।
पोखराका पर्यटन व्यवसायी प्रतीकराज पहाडीका अनुसार पर्यटन गन्तव्य भएपनि राजनीतिक अस्थिरता, महँगो हवाई शुल्क र अस्तव्यस्त सडक यातायातका कारण पोखराका होटलको अकुपेन्सी करिब ५० प्रतिशत हाराहारीमा छ ।
अकुपेन्सी बढाउन संघले दिगो पर्यटनका लागि आन्तरिक पर्यटक नै प्रमुख आधार भएको निष्कर्षसाथ देशका प्रमुख सहर पुगेर ‘जाऔं है पोखरा’ भन्ने अभियान सञ्चालन गरेको छ । संघले सीमावर्ती भारतीय सहरमा पुगेर पनि पोखराको पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।
पछिल्ला वर्ष नेपालीमा पनि घुम्ने संस्कृति विकास हुँदै गएको छ । पोखरा घुम्न पुग्ने कुल पर्यटकमा आन्तरिक पर्यटक संख्या करिब ३५ प्रतिशत पुगेको छ । यो वर्षेनि बढ्दो छ । पोखरा पुग्नेमध्ये करिब ४० प्रतिशत भारतीय छन् ।
नेपाल प्रवेश गर्ने क्रममा सीमानाकामा भारतीय पर्यटकले हैरानी बेहोर्नुपरेको गुनासो गर्दै आएका छन् । सीमानाकामा जाँचका नाममा र बीच बाटोमा ट्राफिक जाँचका नाममा सुरक्षाकर्मीले पैसा माग्ने गरेको गुनासो धेरै आउने गरेको संघ अध्यक्ष सुवेदीले बताए । उनले जाँच सहज र पर्यटकमैत्री बनाइदिन आग्रह गरे ।
नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा पुग्ने गर्छन् । हरेक वर्ष आन्तरिक र वाह्य गरी करिब १० लाख पर्यटक पोखरा पुग्ने अनुमान छ ।
प्रतिक्रिया 4