
३ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ ।
गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट गाडी सन्चालन हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव छैन ।
त्यसैले मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।
तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ । दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।
धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएको छ । त्यस्ता ठाउँहरुमा प्रहरीहरु खटाइएको छ । उनीहरुले स्काभेटर अपरेटरलाई बाटो सम्याउन लगाउने र गाडी पास गराउने कोसिस गरिरहेका छन् ।
दाउन्ने खण्डमा सवारी साधनहरु बल्ल–बल्ल पास हुन सकेका छन् । घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया 4