
३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्ने भएका छन् ।
स्रोतका अनुसार शाहले असार ४ गते (भोलि) ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरू नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली छन् ।
सदस्य सचिवलाई बाइपास
समितिका सदस्य सचिव हुन्, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ । तर, भोलिको बैठक उनै गुरागाईं बिनै बस्ने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
जुन बैठकमा समितिका सदस्य सचिव अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, सदस्य सचिवलाई नै ‘बाइपास’ गरेपछि बैठक अन्योल बन्ने महानगर स्रोत बताउँछन् ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने उल्लेख छ ।
तर, मेयर शाह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो ।
कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत हुन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करीब ७ महिनादेखि बस्न सकेको छैन ।
नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नैपर्ने बाध्यता छ ।
प्रतिक्रिया 4