
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९९३ मा स्टिभन स्पिलबर्गले ‘जुरासिक पार्क’ रिलिज गरे, जसले डाइनोसरलाई जीवित बनायो।
- क्राइटनको उपन्यासबाट प्रेरित यो फ्रेन्चाइजले टेलिभिजन, कमिक्स, भिडियो गेम र सात फिल्महरू उत्पादन गरेको छ।
सन् १९९३ को जुन महिनामा स्टिभन स्पिलबर्गले माइकल क्राइटनको उपन्यासमा आधारित फिल्म ‘जुरासिक पार्क’ रिलिज गरे । यस फिल्ममा प्रागऐतिहासिक जीव, डाइनोसर देखाइएको छ ।
यस फिल्मले पहिलो पटक पर्दामा यो जीव देखाएको थिएन । तर जुन तरिकाले देखायो त्यो भने पहिलो थियो । सम्भवत: त्यसले फिल्म र डाइनोसर दुवैलाई जीवित बनाएको हो ।
अहिले यो फ्रेन्चाइजमा एनिमेटेड टिभी सिरिज, कमिक्स, भिडियो गेम र सातवटा (एउटा रिलिज हुन बाँकी) फिल्महरू छन् । अब जुलाईमा यसको नयाँ भाग ‘जुरासिक वर्ल्ड रिबर्थ’ रिलिज हुँदैछ । तर यी सबैको सुरुआत सन् १९९० मा प्रकाशित क्राइटनको उपन्यासबाट भएको थियो ।
सो उपन्यास लेख्ने क्रममा क्राइटनले बेलायतको एउटा सङ्ग्रहालयमा डाइनोसरबारे भिडियो प्रदर्शनी हेरेका थिए । उनका अनुसार त्यहाँ बच्चाहरू ‘स्टेगोसोरस! ‘ ‘टाइरानोसोरस ! ‘ भनेर चिच्याउथे । त्यो सुनेर यस्ता कठिन शब्द उनीहरूले कसरी सिके भनेर क्राइटन अचम्म मान्ने गर्थे ।
बालबालिका मात्र नभएर पृथ्वीबाट सयौं वर्षअघि लोप भइसकेको यस जीव फरक-फरक उमेर समूहका मान्छेका लागि सधैं रोचक विषय हुने गर्छ । तर सन् १८२४ मा मात्रै बेलायतको स्लेट खानीमा पहिलो डाइनोसर जीवाश्म भेटिएको थियो ।
त्यस जीवाश्मको नाम ‘मेगालोसौरस’ दिइएको थियो । त्यसयता डाइनोसरप्रतिको आकर्षण मान्छेमा कहिल्यै घटेको छैन । तर समयअनुसार यस जीवलाई हेर्ने सोचमा भने पक्कै परिवर्तन आएको छ ।
उक्त उपन्यास लेख्ने बेलासम्ममा पनि डाइनोसरबारे मानिसहरूको दृष्टिकोणमा केही बदलाब आइसकेको थियो । किनकि पहिले कल्पना गरिएअनुसार भारी र सुस्त जीवहरू अब द्रुत गतिका, चञ्चल जीव बनिसकेका थिए । अनि डाइनोसर कसरी जन्मिए भन्नेभन्दा पनि किन लोप भए भन्ने कुरामा बढी चासो देखिन थालेको थियो ।
यस्तो रोचक जीव सिनेमामा पहिलो पटक सन् १९१४ को एनिमेटेड फिल्म ‘गर्टी द डायनोसर’ मा देखाइएको थियो । त्यसपछि १९२५ को साइलेन्ट फिल्म ‘द लस्ट वर्ल्ड’, १९३३ को ‘किङ कङ’ मा पनि डायनोसर राखिएका थिए ।
त्यसपछि एनिमेटर रे ह्यारी हाउजनले ‘ट्वान्टी थाउजेन्ड फ्यान्टम् (१९५३)’ फिल्ममा टाइरानोसोरस र ब्रोन्टोसोरसको मिश्रणजस्तो अनौठो प्राणी बनाए । त्यस क्यारेक्टरले उसबेला न्यूयोर्क शहरमा तहल्का नै मच्चाएको थियो ।
उनलै १९६६ मा बनाएको ‘वान मिलियन इयर्स बीसी’मा पनि डाइनोसर देखाइएको छ । तर, जुरासिक पार्कले डाइनोसर र मान्छेलाई एकदम विश्वसनीय ढंगले एकै साथ पर्दामा उतारेको थियो । जुन त्यसबेलासम्म अन्य फिल्ममा देखिएको थिएन । र, यही कुरा नै जुरासिक पार्कको सफलताको कारण थियो ।
यस फिल्मलाई सकेसम्म वास्तविक बनाउन निर्माताले कम्प्युटर जेनेरेटेड इमेजेरी (सीजीआई) र एनिमेट्रोनिक्स जस्ता प्रविधि प्रयोग गरेका थिए । त्यसले गर्दा लोप भएका जीवहरू फेरि जीवित कथा बनेर दर्शकको मनमा बस्न सके ।
फिल्ममा एक जना धनी उद्यमीले डीएनए प्रविधिबाट डाइनासोर पुन: उत्पादन गरेर इस्ला नुब्लार नामक टापुमा ‘जुरासिक पार्क’ नामक थीम पार्क बनाउँछन् । त्यहाँ उनले वैज्ञानिकहरू पनि राखेका हुन्छन् । तर जब ती प्राणीहरू नियन्त्रण बाहिर जान्छन्, त्यसपछि पार्कमा नसोचेको घटना घट्छ । त्यसपछिको कथा नै फिल्ममा छ ।
यस्तो रोचक फिल्मले अमेरिकाभित्र मात्र त्यसबेला ३५७ मिलियन डलर र विश्वभर ९१४ मिलियन डलर आम्दानी गरेको थियो । जुन त्यो समयको कीर्तिमानी कमाइ थियो ।
त्यस्तै ‘साँस्कृतिक, ऐतिहासिक वा सौन्दर्यात्मक रूपमा महत्वपूर्ण’ भएको भन्दै सन् २०१८ मा यस फिल्मलाई ‘नेशनल फिल्म रेजिष्टरी’ मा पनि सूचीकृत गरिएको छ । तर १९९३ पछि बनेका सिक्वेल वा स्पिन-अफ (मूल कथाबाट छुट्टिएर बनेको नयाँ तर सम्बन्धित) फिल्महरू भने त्यति प्रभावशाली हुन सकेनन् । तर, ती सबै फिल्महरू निकै सफल भने भए ।
मुख्य फिल्मपछि स्पिलबर्गले नै सन् १९९७ मा ‘द लस्ट वर्ल्ड : जुरासिक पार्क’ निर्देशन गरे । त्यसपछि सन् २००१ मा ‘जुरासिक पार्क ३’ जो जोनस्टनले निर्देशन गरे । यस फिल्मलाई केही समयका लागि जुरासिक पार्कको अन्तिम भाग मानिएको थियो । तर फेरि सन् २०१५ मा कोलिन ट्रेभरोको निर्देशनमा बनेको ‘जुरासिक वर्ल्ड’ रिलिज भयो ।
अब फेरि नयाँ फिल्ममा जुरासिक पार्कको कथा देखिने छ । यसरी ३२ वर्ष पुग्दासम्म पनि दर्शकहरूबीच जुरासिक पार्क उस्तै गरी जीवित छ । भनिन्छ, डाइनोसरले अझै पनि मानिसहरूमा बालसुलभ जस्तो उत्साह र अचम्मको भावना जगाउँछन् । जबसम्म यस्तो भावना दर्शकमा रहिरहन्छ, तबसम्म जुरासिक पार्क सिरिज रहिरहने निश्चित छ।
प्रतिक्रिया 4