
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक झापाको बिर्तामोडमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीआरटीएआई २०२५ असार १४ र १५ गते आयोजना हुनेछ।
- सुनिल शर्माले भने, 'नेपालको प्रविधि इतिहासमा एआईसम्बन्धी नयाँ अध्याय सुरु हुँदैछ।'
- सम्मेलनले नीति निर्माण, अनुसन्धान, र शिक्षा क्षेत्रलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको छ।
३ असार, बिर्तामोड। नेपालमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक झापा हुने भएको छ । इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) अन्तर्राष्ट्रिय सम्मेलन असार १४ र १५ गते झापाको बिर्तामोडमा हुन लागेको मेची क्याम्पसका आइटी प्रमुख एवं कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।
उनले भने, ‘नेपालको प्रविधि इतिहासमा एआईसम्बन्धी नयाँ अध्याय सुरु हुँदैछ। हामीले आईसीआरटीएआई २०२५ नामक अन्तर्राष्ट्रिय सम्मेलनमार्फत सरकारको डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स नीति र इनोभेसन इनक्युबेसनका क्षेत्रहरूलाई एआईमार्फत कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने छलफल गर्नेछौं।’
उनका अनुसार सम्मेलनले नेपालको स्थानीय आवश्यकतामा आधारित उत्तरदायी र समावेशी एआई विकासको खाका तयार गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।
उनले नेपाल प्रविधिमा भर्जिन ल्यान्ड भएकाले एआईमा थुप्रै अवसर र चुनौतीहरू रहेको पनि उल्लेख गरे । उनले भने, ‘नेपालको बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा एआईको प्रयोगले पहुँच अभाव, दक्ष जनशक्ति अभाव, तथा नीतिगत स्पष्टता अभावजस्ता समस्यालाई अवसरमा रूपान्तरण गर्न सक्छ।’
एआई प्रविधिले स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासलाई व्यवहारिक बनाउने उनको दाबी छ ।
यसका साथै एआईका केही नकारात्मक पक्षहरू जस्तै यसले ल्याउने नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक तयारी र समन्वय नुहँदा क्षतिसमेत हुने चुनौतीहरू रहेको उनले बताए । ‘एआईले एकातिर टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासमा मद्दत पुर्याउँछ भने अर्कातिर नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न नसके हानी पुर्याउन सक्ने सम्भावना रहन्छ ।’ उनले भने ।
उनका अनुसार सम्मेलनले एआई नीति, अनुसन्धान, नवप्रवर्तन र शिक्षा क्षेत्रलाई एउटै मञ्चमा ल्याउने अथक प्रयास हो ।
सम्मेलनमा प्रस्तुति, प्रोजेक्ट र जलवायुबारे बहस हुने
सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन्।
शर्माका अनुसार आईसीआरटीएआई 2025 केवल प्रविधि प्रदर्शन गर्ने मञ्च नभई नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्नेछ।
साथै सम्मेलनलाई फरक तरिकाले नेपाली संस्कृति अनुसार ‘कन्फेरेन्स + अनकन्फेरेन्स’ ढाँचा नयाँ प्रयोग हुने उनले बताए ।
अनकन्फरेन्स ट्रयाकहरूमा, सहभागीहरूले आफूले चाहेका विषयमा प्रस्ताव गर्न सक्नेछन् जसमा भाषागत एआई, ग्रामीण स्वास्थ्य सेवामा एआई, महिला र समावेशी डेटा नीतिमा उनीहरू स्वयम मुख्य भूमिका निर्वाह गर्नसक्नेछन् ।
सम्मेलनको पहिलो दिनको सत्रमा सांस्कृतिक स्वागत तथा उद्घाटन समारोह, मुख्य वक्ताहरूबाट सत्र, विभिन्न क्षेत्रमा पेपर प्रस्तुति, राउण्ड टेबल डिसकसन : दक्षिण एशियामा कृत्रिम बुद्धिमत्ता र जलवायु सहनशीलता, मेन्टर सर्कल्स र टीम फिडब्याक अनि साँझमा नेटवर्किङ डिनर हुनेछ ।
यस्तै सम्मेलनको दोस्रो सत्रमा प्रमुख वक्ताको प्रस्तुति, प्रोजेक्ट शो केस र प्यानेल फिडब्याक तथा प्रोजेक्ट डेमोन्सट्रेशन र अन्तिममा प्यानेल सेशन रहनेछन् ।
सम्मेलनमा सहभागी हुन चाहने विद्यार्थी, अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधि, नीति निर्माता, र प्रविधि कम्पनीहरूले आईसीआरटीएआई डटकम मा लगअन गर्न आयोजकले अपिल गरेको छ ।
प्रतिक्रिया 4