
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय समिति सभापति रामहरि खतिवडाले निजामती विधेयक छिट्टै अघि बढाउन सरकारसँग माग गरे।
- निजामती विधेयकको प्रतिवेदन संसदको बिहीबारको कार्यसूचीमा नपरेपछि समितिका सभापति असन्तुष्ट भएका हुन्।
- सभापति खतिवडाले नै १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए ।
५ असार, काठमाडौं । निजामती विधेयक संसद्मै अड्किएकोमा संसदीय समितिका सभापति नै असन्तुष्ट बनेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए । नागरिकता ऐन संशोधन विधयकको प्रतिवेदन पेस गर्न रोष्ट्रम पुगेका सभापति खतिवडाले निजामती विधेयक अड्किएको स्मरण गरे ।
‘सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ । कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,’ सभापति खतिवडाले भने ।
सभापति खतिवडाले नै १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । उक्त विधेयकलाई पारित गर्ने कार्यसूची गत मंगलबार नै तय भएको थियो । तर, त्यस दिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।
बिहीबार बसेको प्रतिनिधिसभाको कार्यसूचीमा निजामती सेवा विधेयकको प्रतिवेदन पास गर्ने विषय नपरेपछि संसदीय समितिका सभापति खतिवडाले असन्तुष्टि जनाएका हुन् । आफ्नो असन्तुष्टिलाई उनले रोष्ट्रमबाटै व्यक्त गरेका हुन् ।
निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ । यसलाई कुलिङ पिरियडको रुपमा लिइन्छ ।
कुलिङ पिरियडको विषयमा उच्च पदस्थ कर्मचारीको असन्तुष्टि रहेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत या विषयमा चासो राखेका छन् । कतै विधेयक रोकिन्छ कि भन्ने प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरिरहेका छ्न् । यही बेला निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापतिले पनि अगाडि बढाउन माग गरेका हुन् ।
प्रतिक्रिया 4