
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण फरक भएको बताए।
- उहाँले उपसभामुखले लेखेको पत्र सम्बन्धित निकायमा दर्ता नभएको र गल्ती स्वीकार गरिएको बताए।
- राष्ट्रिय स्वतन्त्र पार्टीले गल्तीको अनुसन्धान गर्न सघाउने तयारी गरेको र कांग्रेसले कारबाही नगरेको आरोप लगाए।
५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराए ।
उनले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा नेपाली कांग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाए ।
‘उपसभामुखज्युले उहाँको हस्ताक्षरसहित भिसाको अन्तर्वार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदुतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन,’ उनले भने, ‘अर्को भिसाको लागि या भिजिट भिसाको लागि थिएन । अन्तरवार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो । दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन । त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो ।’
सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानविनमा सघाउन तयार भएपनि भिजिट भिषा प्रकरणमा कांग्रेसले त्यसो गर्नसमेत नचाहेको उनको दाबी छ ।
‘यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो । उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, र्मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ । मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्वीकार्नुभयो,’ झाले थप भने, ‘त्यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारीक लेटरहेडमा पत्र निकाल्यौं कि यदि उहाँबाट केही गल्ती भएको छ भने अनुसन्धान गर्नुस् हामी सघाउँछौं भनेर भनेका थियौं । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पार्टीले त्यसो गरेको छ र ?’
प्रतिक्रिया 4