+

महिला एसियन कप छनोट : उज्वेकिस्तानमा नेपाल र प्रशिक्षक वाइल्डको परीक्षा

२०८२ असार  १० गते १३:४५ २०८२ असार १० गते १३:४५

नेपालको महिला टोलीले एक सयौं अन्तर्राष्ट्रिय खेल पनि खेल्दैछ । त्यसैले पनि उज्जेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि नयाँ कोशेढुंगा सावित बन्न सक्छ ।

महिला एसियन कप छनोट : उज्वेकिस्तानमा नेपाल र प्रशिक्षक वाइल्डको परीक्षा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको महिला फुटबल टोली नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा उज्वेकिस्तान प्रस्थान गरी एसियन कप छनोटका लागि तयारी गर्दैछ।
  • नेपालले पहिलो पटक ४० वर्षमा १०० खेलको माइलस्टोन छुनेछ र उज्वेकिस्तानको घरेलु मैदानमा खेल्ने चुनौती सामना गर्नुपर्छ।
  • मार्च २०२६ मा अष्ट्रेलियामा र २०२९ मा उज्वेकिस्तानमा हुने महिला एसियन कपमा १२ टिम सहभागी हुने योजना छ।

१० असार, काठमाडौं । नयाँ मुख्य प्रशिक्षक, नयाँ जोश र उत्साह अनि महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गर्दैछ ।

महिला एसियन कप अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुनेछ । त्यसका लागि छनोटका खेलहरु सुरु भइसकेका छन् ।

नेपाल रहेको समूह एफको खेल यही जुन २९ देखि जुलाई ५ सम्म उज्वेकिस्तानमा हुनेछ । यस समूहमा नेपालसहित बलियो टोली उज्वेकिस्तान, लाओस र श्रीलंका छन् ।

यस पटक नेपालको महिला टोलीले एक सयौं अन्तर्राष्ट्रिय खेल पनि खेल्दैछ । त्यसैले पनि उज्जेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि नयाँ कोशेढुंगा सावित बन्न सक्छ । तर त्यसका लागि नेपालले अगाडिको चुनौती पनि पार गर्नुपर्नेछ ।

नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्नेछ । दोस्रो खेल श्रीलंकासँग जुलाई २ र तेस्रो तथा अन्तिम खेल उज्वेकिस्तानसँग जुलाई ५ मा खेल्नेछ ।

बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली टोलीले तीन साता सँगै प्रशिक्षण गरेर एसियन कप छनोटका लागि तयारी गरेका छन् ।

वाइल्ड नेपाली महिला फुटबल टिम सम्हाल्ने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । युरोपदेखि विभिन्न क्षेत्रको प्रशिक्षण र टेक्निकल डिरेक्टरको अनुभव बटुलिसकेका वाइल्डको काँधमा अहिले नेपाली महिला टोलीलाई एसियन कपमा छनोट गराउने जिम्मेवारी छ ।

नेपालको महिला फुटबल टिमलाई अहिले सुनौलो पुस्ताको रुपमा हेरिएको छ र यही टिमले एसियन कप समेत खेल्ने सक्ने फुटबल विश्लेषकहरूको भनाई पनि छ ।

सन् १९९९ देखि महिला एसियन कप नखेलेको नेपाल र पहिलो पटक नेपाली टिम हेरिरहेका प्रशिक्षक वाइल्ड दुवैका लागि उज्वेकिस्तानमा यस पटक ठूलो परिक्षा हुनेछ ।

घरेलु टोली उज्वेकिस्तान यो समूहको सबैभन्दा बलियो टिमको रुपमा छ । त्यो टिमलाई पाखा लगाउँदै एसियन कपमा छनोट हुनु नेपालका लागि त्यति सहज पनि छैन । त्यसैले त बिदाइ कार्यक्रममा प्रशिक्षक वाइल्डले हामी एसियन कपमा छनोट हुन्छौं भनेर ठोकुवा गरेर भन्न सकेनन् ।

उनले नेपाली टिम राम्रो रहेको, तयारी राम्रो भएको र जितको अपेक्षासहित खेल्ने बताए । उज्वेकिस्तान यस समूहमा सबैभन्दा बलियो टोली भएको र उसकै घरमा गएर फरक परिवेशमा खेल्नुपर्ने भएकोले पनि नेपालका लागि एसियन कपमा पुग्न ठूलो चुनौती पार गर्नुपर्ने हुन्छ ।

फिफा वरियतामा उज्वेकिस्तान ५१औं स्थानमा छ भने नेपाल १००औं स्थानमा छ । नेपाल भन्दा तल रहेको लाओस १०७औं र श्रीलंका १५७औं स्थानमा छ ।

प्रशिक्षक वाइल्डले जित्ने अपेक्षा राख्नु ठिक भएपनि वास्तविक पनि हेर्नुपर्ने र टिमलाई धेरै दबाब दिन नहुने पनि प्रष्ट पारेका छन् । ‘अपेक्षा जित्ने नै हो’ वाइल्ड भने, ‘तर हामी रियलिस्टिक हुनुपर्छ । खेलाडीलाई धेरै दबाब दिनु हुन्न।’ तीन साता खेलाडीले धेरै मिहिनेत गरेको र जितका लागि खेल्ने वाइल्डको भनाइ थियो ।

नेपाली टोलीका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले नयाँ प्रशिक्षक आएपछि टिमको प्रशिक्षण शैलीमा पनि फरक आएको बताए । ‘नयाँ विदेशी कोच हुनुहुनुछ । उहाँको ट्रेनिङहरू, ट्याक्टिकल, टेक्निकल पार्ट फरक छ । हरेक कोचको सिकाउने आफ्नै तरिका हुन्छ । अहिलेसम्म तयारी राम्रै भएको छ’ एन्जिलाले भनिन्, ‘हामीले पनि युरोपमा खेलेर अनुभव बटुलेर आएका छौँ र यसले पनि सहयोग गर्छ जस्तो लाग्छ ।’

ठूलो अवसर

नेपाली महिला फुटबलको भविष्य जोडिएको टुर बन्न सक्छ उज्वेकिस्तान । किनभने अहिले खेलिरहेको टिमका धेरै खेलाडीहरू करियरको उत्तरार्धतिर छन् । उनीहरूको लागि एसियन कपमा छनोट भएर खेल्ने यो अन्तिम अवसर पनि हुन सक्छ ।

यदी यो पुस्ताले त्यहाँ पुग्न सकेन भने यत्तिकै अर्को टिम बन्न पनि धेरै समय लाग्नेछ र अहिलेको पुस्ताले पनि एसियन कप खेल्न नपाएकोमा सधैं गुनासो रहनेछ ।

त्यसैले नेपालका लागि उज्वेकिस्तानको छनोट प्रतियोगिता महत्वपूर्ण छ । यसमा छनोट हुन सके नेपाली महिला फुटबलको अझ राम्रो अवसरको ढोका खुल्न सक्छ ।

‘अहिले हामी छनोट खेल्न गइरहका छौँ । चार वर्षपछि खेल्न पाउँछ पाउदैन थाहा छैन । त्यसैले यो हाम्रो लागि ठूलो अवसर हो र त्यसैले हामीले यो अवसर गुमाउनु हुन्न जस्तो लाग्छ’ एन्जिलाले उज्वेकिस्तान जानुअघि भनिन् ।

एन्जिलाले यस पटक नयाँ प्रशिक्षकबाट पनि धेरै केही कुराहरू सिकेकोले राम्रो हुने विश्वास राखेकी छन ।

यस्तै यस पटक नेपाली टोली राम्रो रहेको पनि एन्जिलाले बताइन् । ‘हामीसँग टप स्कोर साम्बा छ । उसमा हामीले आशा राखेका छौं । अरु खेलाडी पनि राम्रो छन् । अरुमा पनि हामीले आशा राखेका छौं’ एन्जिलाले भनिन्, ‘अहिले एउटाले मात्र होइन कि समग्रमा सबैले राम्रो खेल्छ टिम राम्रो छ।’

नेपालले एसियन कपलाई मध्यनजर गर्दै गत महिना थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । क्लोज डोरमा खेलेको पहिलो खेलमा नेपाल १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेल (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण) मा नेपाल २-० ले पराजित भएको थियो । दुवै खेलमा नेपालले पहिलो हाफमा बराबरी खेलेपनि दोस्रो हाफमा गोल खाएको थियो ।

उज्वेकिस्तानमा गएर खेल्नुअघि थाइल्याण्डसँगको खेलले नेपाली टिमलाई फाइदा पुगेको टिमको विश्वास छ ।

हरेक खेल महत्वपूर्ण

छनोटमा नेपालसहित सबै टिमले ३-३ खेल खेल्नेछ । तुलानात्मक रुपमा उज्वेकिस्तान नेपाल भन्दा बलियो भएपनि समूहका सबै टिम राम्रो रहेकोले हरेक खेल महत्वपूर्ण हुने प्रशिक्षक र खेलाडीको भनाइ छ । यस समूहमा उज्वेकिस्तान नेपाल भन्दा बलियो छ तर अन्य टिम पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण हुनेछ ।

प्रशिक्षक वाइल्डले सुरुमा पहिलो खेलमा केन्द्रित हुनुपर्ने बताए । ‘सुरुमा लाओसको खेलमा केन्द्रित हुनुपर्छ । त्यसपछि श्रीलंका अनी उज्वेकिस्तान’ उनले भने । उज्वेकिस्तानमा फरक परिवशेमा खेल्न गइरहेकोले त्यसलाई राम्रोसँग ह्यान्डल गर्नुपर्ने वाइल्डले बताए ।

यस्तै नेपालको मुख्य स्ट्राइकर र गोलकर्ता सावित्रा भण्डारी साम्बाले पनि प्रशिक्षककै जस्तै हरेक खेल महत्वपूर्ण हुने बताए ।

‘उज्वेकिस्तानसँग हामीले पहिले पनि खेलिसकेका छौं । त्यो बेला हामीले सकारात्मक नतिजा दिन सकेनौं । लाओससँग पहिलो म्याच खेल्दैछौँ । श्रीलंकासँग हामी ८ मा ८ नै जितेका छौं । तर श्रीलंकाले पछिल्लो समय नेपाललाई दु:ख दिइरहेको छ’ सावित्राले भनिन्, ‘त्यसैले पहिलो खेलदेखि नै महत्वपूर्ण छ । त्यसैले तेस्रो खेलमा केन्द्रित हुने भन्दा पहिलो खेल देखि नै पूरा तयार भएर जानुपर्छ । सबै प्रतिस्पर्धी राम्रो शेपमा छ।’

उज्वेकिस्तान फिफा वरियतामा नेपालभन्दा ४९ स्थान माथि छ । त्यसमा पनि उनीहरू घरेलु मैदानमा खेल्दा फाइदा हुने सावित्राको भनाइ छ । ‘उज्वेकिस्तानको रिजल्ट हेर्दा टप टिमसँग खेलेको पाइएको छ । त्यसले गर्दा पनि उनीहरूसँग निश्चित रुपमा होम ग्राउण्ड र होम क्राउडको एडभान्टेज होला । त्यही कुरालाई हाम्रो टिमले एडभान्टेजको रुपमा खेलेर पोजिटिभ रिजल्टका लागि फाइट गर्नेछौं’ उनले भनिन् ।

यस्तै प्रशिक्षक वाइल्डले पनि घुमाउरो पारामा उज्वेकिस्तान बलियो टोली भएको स्वीकार गरे । ‘उज्वेकिस्तान ५१ मा छ । हामीले जितको अपेक्षा राखेका छौं । त्यसको अर्थ उज्वेकिस्तानले विश्वको नम्बर २ लाई जित्ला त ?’

नेपालले सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले उज्वेकिस्तानसँग दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । समूह चरणमा २-० ले पराजित भएको नेपाल फाइनलमा उज्वेकिस्तानसँग ३-२ ले पराजित भएको थियो ।

यस्तै सन् १९९९ मा नेपालले पछिल्लो पटक महिला एसियन कप खेल्दा पनि उज्वेकिस्तानसँग पराजित भएको थियो । त्यसबेला नेपाल ६-१ ले पराजित भएको थियो । नेपालका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो गोल यही खेलमा भएको थियो र गोल गर्ने खेलाडी थिइन् पेमा डोल्मा लामा ।

यस्तै लाओससँग महिला टोलीले पहिलो पटक खेल्दैछ भने श्रीलंकाविरुद्ध खेलेको सबै ८ खेलमा विजयी रहेको छ ।

सय खेल नजिक

नेपालले एसियन कप छनोटमा लाओससँगको खेलबाट अन्तर्राष्ट्रिय महिला फुटबलमा एक सयौं खेलको कोसेढूंगा छुनेछ । सन् १९८६ मा महिला एसियन कपबाट नै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपालले यो चार दशक यात्रामा ९९ खेल खेलेको छ ।

समयवाधि हेर्दा यो लामो भएपनि नेपालले खेलेको खेल तुलनात्मक रुपमा कम हो । तर सन् ८० र ९० को दशकमा तीन पटक एसियन कप खेलेपनि सन् २००० को दशकभर नेपाली महिला फुटबल शुन्य बनेको थियो । त्यसले गर्दा पनि खेल संख्या धेरै हुन सकेन ।

एन्जिला र सावित्राले देशले सय खेल खेल्नु राम्रो भएपनि चार दशकको समयमा यो थोरै खेल भएको बताए ।

‘खेलाडीको रुपमा राष्ट्रका लागि एक सयौ खेल खेल्न पाउनु राम्रो कुरा हो । कोचको लागि पनि संयोग हो । हामी सबै जना उत्साहित छौँ । सिंगो राष्ट्रका लागि र फ्यानका लागि पोजिटिभ रिजल्ट दिने बेला आएको छ’ सावित्राले भनिन्, ‘तर यो समयमा यति खेल धेरै कम हो । भोलिको दिनमा यसलाई मध्यनजर गरेर महिला फुटबलमा विकास गर्न सकियो भने अन्तर्राष्ट्रियमा एक्सपोजर दिन सक्यो भने १०० होइन ५०० खेल खेल्न तयार छौं ।’

एन्जिलाले पनि ४० वर्षमा १०० गेम पुग्न कम भएको बताइन् । सन् २०१४ यता खेल्न थालेका एन्जिला र सावित्राले नै ५० भन्दा बढी खेल खेलिसकेका छन् ।

‘यो धेरै नै कम हो । विस्तारै एक्सपोजर पाउँदैछौं । वाफपछि धेरे प्रतियोगिता पाएको छौं । भोलीका दिनमा अझ धेरै एक्सपोजर पाउँछौं भन्ने छ । अहिलेको मुख्य प्राथमिकता भनेको एसियन कप छनोट हो । एसियन कप पुग्यौँ भने अझ धेरै एक्सपोजर पाउँछौं होला’ उनले भनिन् ।

एसियन कपमा नेपालको इतिहास

नेपाली महिला फुटबल टिमले अहिलेसम्म तीन पटक महिला एसियन कप खेलिसकेको छ । तर त्यो सबै ८० र ९० को दशकमा थियो ।

नेपाली महिला टिमले सन् १९८६ डिसेम्बर १४ मा नेपालले हङकङ विरुद्ध ऐतिहासिक खेल खेलेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपालको कप्तानी रमा सिंहले गरेकी थिइन् ।

नेपालले सन् १९८६ मा भएको छैटौं संस्करणबाट एसियन कपमा डेब्यु गरेको थियो । त्यसपछि १९८९ को सातौं र १९९९ मा ११औं संस्करण खेलेको थियो ।

तीनै पटक नेपालले छनोट नखेली सिधै एसियन कप खेलेको थियो । तीनै पटक नेपालले कुनै पनि खेल जित्न सकेन ।

सन् १९९९ मा एसियन कप फुटबल खेलेको महिला टोली

तीन संस्करणमा नेपालले १० खेल खेल्दा सबै खेलमा पराजित भयो । जसमा जम्मा १ गोल गर्दा ६७ गोल खाएको थियो ।

पछिल्लो पटक नेपालले सन् २०२२ को एसियन कपका लागि छनोट प्रतियोगिता खेलेको थियो तर छनोट हुन सकेन ।

सन् २००६ को १५औं संस्करणदेखि महिला एसियन कपमा छनोट प्रतियोगिता हुन थालेको थियो । नेपालले २००६ देखि २०१८ मा भएको १९औं संस्करणसम्म छनोट खेलेन ।

२०औं संस्करणको लागि पहिलो पटक छनोट प्रतियोगिता खेलेको थियो । जसमा फिलपिन्स र हङकङ नेपाल रहेको समूहमा थियो । समूह विजेता एसियन कपमा छनोट हुने प्रावधान थियो । तर नेपाल फिलपिन्ससँग अग्रता जोगाउन नसक्दा अन्तिम समयमा पराजित भयो भने हङकङसँग बराबरीमा रोकिएपछि १ अंकसहित तेस्रो स्थानमा रह्यो ।

सन् २००६ अघि ६ देखि १५ टिमसम्मले एकै पटक महिला एसिया कप खेलेका थिए । तर छनोट प्रतियोगिताहरू हुन थालेपछि भने टिमसंख्या घटेको छ । सन् २००६ मा ९ टिमले खेलेकोमा त्यसपछिमा चार संस्करणमा ८ टिमले मात्र खेले । पछिल्लो पटक भारतमा सन् २०२२ मा भएको एसियन कपमा टिम संख्या बढाएर १२ पुर्‍याएको हो ।

अब सन् २०२६ मा अष्ट्रेलियामा हुने र सन् २०२९ मा उजवेकिस्तानमा हुने महिला एसियन कपमा पनि १२ टिमले नै खेल्ने तय छ ।

नेपाली महिला फुटबल टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय