+
+
Shares

सत्ती कर्णाली सामुदायिक वन : स्रोत सदुपयोगले फेरियो जीवन

वन पैदावार जोगाएर राख्ने अवधारणमै अड्किएका छन्, नेपालका संरक्षणकर्मी र नीति निर्माता । तर प्राकृतिक स्रोत सदुपयोगले टीकापुरको कर्णाली नदी किनाराका १ हजार ३०० बढी मानिसको जीवन फेरिदिएको छ ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८२ असार १० गते १७:०३

१० असार, नेपालगञ्ज । कैलालीको टीकापुर नगरपालिकास्थित कर्णाली नदी किनाराका बासिन्दाले नदी कटान भएर बनेको बगर क्षेत्रमा सामुदायिक वन बनाएका छन् । सत्ती बजार क्षेत्रसँग जोडिएको उक्त क्षेत्रमा बेतबाँस र सिसौ लगायत विभिन्न जातका बोट–बिरुवा हुर्काएर नमुना सामुदायिक वन बनाइएको हो ।

कर्णाली नदीको पश्चिमी किनारामा २५८ हेक्टर क्षेत्रफलमा फैलिएको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समितिमा आदिवासी थारु र दलित समुदायसहित १ हजार ३३३ उपभोक्ता छन् ।

स्थानीय उपभोक्ताले २०५१ सालदेखि संरक्षण गरी हुर्काउँदै आएको सत्ती कर्णाली सामुदायिक वन बेतबाँसका लागि प्रख्यात छ । सत्ती कर्णाली सामुदायिक वन नेपालमै सबैभन्दा धेरै बेतबाँस उत्पादन हुने सामुदायिक वन हो ।

सामुदायिक वनलाई चारवटा प्लटमा विभाजन गरी हरेक वर्ष एक/एकवटा प्लटको बेतबाँस काट्ने गरिएको छ । स्थानीय उपभोक्ताले सामुदायिक वनबाट प्रतिकेजी ११ रूपैयाँ पारिश्रमिक लिएर नै बेतबाँस काट्छन् । फागुन, चैत र वैशाख महिनामा बेतबाँस काटेपछि करिब एक महिना सुकाएपछि बिक्री वितरणको प्रक्रिया सुरु हुन्छ ।

बेतबाँस काट्ने सिजनमा करिब २ सय उपभोक्ताले सामुदायिक वनमै काम पाउँछन् । बेतबाँस काटेरै उपभोक्ताहरूले दैनिक एक हजारदेखि दुई हजार रुपैयाँ आम्दानी गर्छन् ।

हरियो काटेको बेतबाँस सुकाउँदा त्यसको करिब दुई तिहाइ तौल घटेर ३६.४० प्रतिशत कायम हुन्छ ।

यो वर्ष बेतबाँस काट्ने श्रमिकहरू नपाउँदा उत्पादन घटेको छ । काँडा हुने जंगलमा गर्मीको मौसममा काट्नुपर्ने भएकोले बेतबाँस काट्ने श्रमिकको अभाव भएको छ । यो वर्ष सुकेको बेतबाँस ४७१ केजी मात्रै संकलन भएको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीतराम चौधरीले बताए ।

श्रमिक नहुँदा उत्पादन नै घट्न थालेपछि समितिले बेतबाँस काट्ने मेसिन खरिदका लागि अध्ययन सुरु गरेको छ । मलेसियामा मेसिनबाट बेतबाँस कटान हुने जानकारी पाएपछि बेतबाँस काट्ने मेसिन खरिदका लागि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष चौधरीले बताए ।

सामुदायिक वनबाट उत्पादन भएको बेतबाँसमध्ये २५ उपभोक्तालाई दिएर बाँकी ७५ प्रतिशत लिलाम प्रक्रियाबाट बिक्री हुँदै आएको छ । सामुदायिक वनले बेतबाँस बिक्रीबाट वार्षिक करिब १ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । समितिको कोषमा २०८२ वैशाख मसान्तसम्म ५४ लाख रुपैयाँ मौज्दात छ ।

बेतबाँस बिक्रीबाट भएको आम्दानीबाट स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र आपतकालीन अवस्थामा राहत लगायतका सामाजिक काममा समूहको निर्णयअनुसार खर्च गर्ने गरिएको उपभोक्ता समितिकी उपाध्यक्ष मन्जु चौधरीले बताइन् ।

यसरी सुरु भयो सत्ती कर्णाली सामुदायिक वन

२०४० सालमा कर्णाली नदीमा आएको भीषण बाढीले नदीको पश्चिमी किनारस्थित सत्ती बजारसँग जोडिएको वनमा ठूलो क्षति पुर्‍यो । नदी किनारामा रहेको वन क्षेत्र बालुवा बगरमा परिणत भयो ।

वन क्षेत्र बगरमा परिणत भएपछि सत्ती बजार क्षेत्रका बासिन्दालाई घाँस, दाउरा, घर छाउने खर र काठको अभाव हुन थाल्यो । सीमापारिको भारतीय जंगलमा गएर लुकिछिपी खर र दाउरा ल्याउनुपर्ने बाध्यता भयो ।

वन पैदावारको अभाव बढ्दै गएपछि स्थानीय बासिन्दाबीच छलफल, विचार–विमर्श सुरु भयो । सत्ती सामुदायिक वनका संस्थापक कोषाध्यक्ष मीनबहादुर ठगुल्लाका अनुसार, २९ भदौ २०४९ मा गाउँलेको भेला डाकियो ।

नायव सुब्बाबाट अवकाश पाएका स्थानीय मोहनबहादुर रावलले घाँस, दाउरा, खर र काठको अभाव टार्न बाढीले बगर बनाएको क्षेत्रमा वृक्षरोपण गरी पुन: वन क्षेत्र बनाउने योजना अघि सारे ।

प्रस्ताव राम्रो भए पनि कर्णाली नदीको कटान र पटानबाट नदी किनारको बगर क्षेत्र जोगाएर पुन: वन क्षेत्र बनाउन सकिनेमा धेरै स्थानीयले आशंका गरे ।

तर, रावलले वृक्षरोषण गरेर हुर्काउन सके नदी कटानबाट बस्ती जोगाउन र घर छाउने खरदेखि घाँस, दाउरा पाउन सकिन्छ भनेर स्थानीयलाई सम्झाए । त्यसपछि स्थानीय बासिन्दा बगरलाई वनमा परिणत गर्न कस्सिए ।

ठगुल्ला तीन दशक अघिका दिन सम्झिँन्छन्, ‘मलाई पनि सुरुमा विश्वास थिएन । सुब्बासाबका कुरा सुनेपछि प्रयास गरे सकिन्छ भन्ने लाग्यो । गाउँलेको भेलाले वृक्षरोपण र संरक्षणका लागि मोहनबहादुर रावलको अध्यक्षतामा तदर्थ समिति बनायो र मलाई कोषाध्यक्षको जिम्मेवारी दियो । दिनरात वृक्षरोपणको काममा खटिन थाल्यौं । सबैको साथ र सहयोगले संरक्षण सुरु गरेको चार/पाँच वर्षमै बगर हरियाली वनमा परिणत भयो ।’

२०४९ र २०५० सालमा करिब १५० जना स्थानीय मिलेर कर्णाली नदी किनारका विभिन्न जंगलबाट सिसौंका बिरुवा ल्याएर रोप्न सुरु गरेका थिए । दुई वर्षमा करिब पाँच हजार सिसौका नयाँ रुख रोपियो । बाढीले पुरेर बगर भएको क्षेत्रमा प्राकृतिक रूपमा बेतबाँस र अन्य जातका बिरुवा उम्रिँदै गएपछि हरियाली बढ्दै गयो ।

वनको संरक्षणका लागि चौकीदार राख्नुपर्ने अवस्था आयो । वन समितिसँग चौकीदारलाई पारिश्रमिक दिने पैसा थिएन । वन समितिले साविक नारायणपुर गाविसबाट १० हजार सापटी लिएर चौकीदारलाई पारिश्रमिक दिने रकमको जोहो गर्‍यो । चौकिदारलाई नियमित रूपमा पारिश्रमिक दिनका लागि प्रत्येक घरबाट सदस्यता शुल्क वापत वार्षिक १५ किलो धान उठाउन सुरु गरियो ।

बेतबाँसको नर्सरी बनाएर बिरुवा बिक्री गर्न सुरु गरियो ।

घर छाउने खर, काठ, दाउरा पाइने भएपछि वन समितिको सदस्य बन्न धेरै स्थानीय इच्छुक भए । उनीहरू सामुदायिक वन उपभोक्ता समितिको सदस्य बनेर संरक्षणको अभियानमा जुटे । संरक्षण सुरु भएको चार/पाँच वर्षमै कर्णाली नदी किनाराको बालुवाको बगर हरियाली वनमा परिणत भयो । आफैंले संरक्षण गरेर हुर्काएको वनबाटै उपभोक्ताले सहजै घाँस, दाउरा र काठ लगायतका वन पैदाबार पाउन थाले ।

नेपालकै दोस्रो सामुदायिक वन

सत्ती क्षेत्रका स्थानीय बासिन्दाले वृक्षरोपण र संरक्षण गरी वन हुर्काइरहेका बेला तत्कालीन सरकारले वन ऐन २०४९ ल्यायो । वन ऐनमै स्थानीय बासिन्दालाई वन क्षेत्रको उपभोक्ताको मान्यता दिएर सामुदायिक वन उपभोक्ता समूह बनाउने नीति लियो ।

सरकारको नीतिलाई अवलम्बन गर्दै तदर्थ समितिका अध्यक्ष रावलकै नेतृत्वमा १३ असोज २०५१ मा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह जिल्ला वन कार्यालय कैलालीमा विधिवत दर्ता भयो । सत्ती कर्णाली सामुदायिक वन कैलाली जिल्लाको पहिलो र नेपालकै दोस्रो सामुदायिक वन बन्यो ।

दर्ता भएको पहिलो वर्ष अर्थात् २०५२ सालमै सत्ती कर्णाली सामुदायिक वनले वन पैदाबार बिक्रीबाट करिब दुई लाख रूपैयाँ आम्दानी गर्‍यो । स्थानीय उपभोक्ताले गाउँमै सस्तो मूल्यमा सहजै वन पैदावार पाउन थाले ।

सामुदायिक वनका उपभोक्ताले कर्णाली किनारको बगरलाई उपभोक्ता समूहले हरियाली मात्रै बनाएका छैनन्, बेतबाँसबाट गाउँघरमै रोजगारी दिएका छन् । साथै, बेतबाँस भारतमा बिक्री गरी विदेशी मुद्रा आर्जन गर्दै थोरै भए पनि देशको विकास र समृद्धिमा टेवा पुर्‍याउँदै आएका छन् ।

हालको टीकापुर नगरपालिका ६, ७ र ८ मा तीन सय हेक्टरमा फैलिएको सत्ती कर्णाली सामुदायिक वन बेतबाँस धेरै उत्पादन हुने मुलुकको सबैभन्दा ठूलो सामुदायिक वन हो । वार्षिक अधिकतम १६ सय क्विन्टलसम्म बेतबाँस उत्पादन भएको रेकर्ड छ ।

सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समितिको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष र कोषाध्यक्ष सहित ८ जना महिला छन् । समितिले गर्ने निर्णयहरूमा महिलाहरूको भूमिका बढ्दै गएको छ ।

फेरियो स्थानीयको जीवन

नदी किनाराको बगर बेतबाँसको वनमा परिणत भएपछि स्थानीयको आय आर्जनको प्रमुख स्रोत बनेको छ यो सामुदायिक वन । बेतबाँस भारतमा निकासी गरेर विदेशी मुद्रा समेत आर्जन भइरहेको छ ।

बेतबाँसबाट सोफा, कुर्सी टेबुल, मुडा, ह्याङ्गर, फूलदानी, र्‍याक लगायतका सामग्री उत्पादन हुन्छ । सत्तीबजार र टीकापुरमा बेतबाँस फर्निचर उद्योग खुलेका छन् ।

समितिले युवालाई बेतबाँसबाट फर्निचर बनाउने मिस्त्री तालिम दिँदै आएको छ । तालिम लिएका सत्ती बजार क्षेत्रका करिब ४० जना युवाले बेतबाँस मिस्त्रीको रूपमा गाउँमै खुलेको फर्निचर उद्योगमा काम गर्दै आएका छन् । गाउँकै फर्निचर उद्योगमा काम गरेर मासिक २० देखि ३० हजारसम्म आम्दानी गर्दै आएको उपभोक्ता समिति उपाध्यक्ष मन्जु चौधरीले बताइन् ।

३ वर्षदेखि फर्निचर उद्योगमा मिस्त्री काम गर्दै आएकी मीना चौधरीले दैनिक करिब एक हजार कमाइ हुने गरेको बताइन् । उद्योगले मिस्त्रीहरूलाई बेतबाँस लगायत आवश्यक निर्माण सामग्री उपलब्ध गराउँछ । ती सामग्री प्रयोग गरी फर्निचर बनाएवापत पिसका आधारमा मिस्त्रीहरूले पारिश्रमिक पाउने गरेका छन् ।

उद्योगमा काम गर्ने ३० जना बेतबाँस मिस्त्रीले ७०० देखि १ हजार १०० को हाराहारीमा कमाउँदै आएका छन् । बाह्रैैमास काम पाइने भएकाले घरधन्दा भ्याएर पनि फर्निचर उद्योगमा कमाएको पैसाले आधा कठ्ठा जग्गा किनेको बेतबाँस मीनाले बताइन् ।

बेतबाँसको फर्निचर बनाएर आम्दानी गर्नसक्ने सम्भावना देखेपछि सत्ती बजारकै शर्मिला विकले पनि ४५ दिने मिस्त्री तालिम लिएकी छिन् । शर्मिलाले तिलगंगा फर्निचर उद्योगका सञ्चालकबाट बेतबाँस फर्निचर उद्योगमा कामको अफर पाएकी छिन् । बेतबाँस फर्निचर तालिममा पूरा गरेका ३३ युवालाई उद्योगका तर्फबाट कामको लागि प्रस्ताव गरेको उद्योगका सञ्चालक भरतलाल विश्वकर्माले बताए ।

तीन वर्षमा ७४ लाखको बेतबाँस भारत निकासी

नेपालगञ्ज प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ४५.१७६, २०८०/०८१ मा ५१.५ र २०८१/०८२ को वैैशाख मसान्तसम्म ११४.१४ मेट्रिक टन बेतबाँस नेपालगञ्ज नाका हुँदै भारततर्फ निकासी भएको छ ।

पछिल्ला ३ वर्षमा ७७ लाख ९३ हजार ३ सय ९३ रूपैयाँ बराबरको बेतबाँस भारत निकासी भएको नेपालगञ्ज प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रमुख कफिल अहमदले बताए । भारतमा बेतबाँसको राम्रो बजार छ तर निकासीका लागि आवश्यक डकुमेन्ट जुटाउन नसक्दा भारतमा चलेको मूल्यभन्दा झन्डै आधामा नेपालमा बेतबाँसको कारोबार भइरहेको छ ।

सत्ती कर्णाली सामुदायिक वनमा उत्पादन भएको बेतबाँसमध्ये करिब ५० प्रतिशत भारत निकास हुँदै आएको छ । भारत सरकारको प्लान्ट क्वारेन्टाइन विभागले निर्धारण गरेको मिथाइल ब्रोमाइट लगायतका मापदन्ड पूरा गरेको डकुमेन्ट पेस गर्न नसक्दा बेतबाँस भारत निकासी गर्न समस्या भइरहेको सत्ती सामुदायीक वन उपभोक्ता समितिका सल्लाहकार मणिराम ढुंगानाले बताए ।

सत्ती सामुदायिक वन उपभोक्ता समितिको टोलीले संघीय सरकारका वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलाई भेटेर बेतबाँस भारत निकासीमा भइरहेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको तर कुनै सुनुवाइ नभएको समितिका पूर्वअध्यक्ष धनसिंह साउदले बताए ।

बेतबाँसको माग बढ्दै गएकाले नेपालमै पनि खपत हुने सम्भावना छ । तर बेतबाँस गैरकाष्ठ वन पैदावार भएर पनि एक जिल्लाबाट अर्काे जिल्लामा लैजान साल, सिसौ जस्ता काठहरू सरह नै डिभिजन वन कार्यालयबाट छोटपुर्जी बनाउनुपर्ने कानुनी व्यवस्था छ । झन्झटिलो कानुनी व्यवस्थाले लागत मूल्य वृद्धि भई उपभोक्ता समूहले कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको साउदले बताए ।

यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र नदी कटानको जोखिममा समेत छ । नदी कटानको जोखिम कम गर्न उपभोक्ताहरूले नदी किनारमा तारजालीमा ढुंगा भरेर तटबन्धन गर्दै आएका छन् ।

पर्याप्त बजेट नहुँदा पछिल्ला २ वर्षमा करिब १० हेक्टर वन क्षेत्र नदीले कटान गरेको सामुदायिक वनका अध्यक्ष चौधरीले बताए । प्राविधिकहरूले नदी नियन्त्रणका लागि करिब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छन् ।

गत वर्ष टीकापुर नगरपालिकाको २० लाख र सामुदायिक वनको २० लाख गरी ४० लाखको लागतमा तटबन्ध निर्माण गरिएको थियो । यो वर्ष संघीय सरकारबाट करिब १ करोड रुपैयाँको लागतमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणको काम भई रहेको छ ।

वनको आम्दानी : स्वास्थ्य, शिक्षा र पूर्वाधारमा लगानी

सामुदायिक वनले २०५९ सालदेखि नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । एम्बुलेन्स सेवा लिने वन उपभोक्तालाई छुटको व्यवस्था छ । सुत्केरी सेवाका लागि स्वास्थ्य संस्थामा जाने उपभोक्ता महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा दिने गरिएको छ । वनको आम्दानीबाट नारायणपुर स्वास्थ्य चौकीको चार कोठे पक्की भवन वनाइएको छ ।

सामुदायिक वनले सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयलाई १० कठ्ठा, टीकापुर–८ सूर्यपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच कठ्ठा जग्गा खरिद गरिदिएको छ । सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयलाई उच्च मावि बनाउन ८ लाख अनुदान दिएको छ । विद्यालयको दुईकोठे भवन बनाइदिएको छ । एकजना मावि र एकजना प्रावि शिक्षकलाई ५ वर्षसम्म तलबको व्यवस्था गरिदिएको थियो ।

सामुदायिक वनले नगरपालिका बनेपछि शिक्षकको तलब नगरपालिकाले नै दिने गरेको छ । त्यसैगरी सूर्यपुरको विद्यालयलाई दुईकोठे भवन, अरुणाफाटाको राष्ट्रिय आधारभूत विद्यालयलाई दुईकोठे शौचालय बनाइदिएको छ । टीकापुरस्थित वृद्धाश्रमलाई ४ लाख, सत्तीस्थित भानु पुस्तकालयलाई ४ लाख रुपैयाँ अनुदान दिएर सञ्चालनमा सहयोग गरेको छ ।

अतिगरिब उपभोक्ता सदस्यका जेहेन्दार ११ र १२ कक्षाका ५ जना विद्यार्थीलाई वनले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

सामुदायिक वनका कार्यालय सचिव ठगुल्लाका अनुसार सामुदायिक वनका उपभोक्ताका अधिकांश गाउँ–टोलका सडकमा वनको आम्दानीबाटै ग्राभेल गरिएको छ । उपभोक्ताको खेत जोत्न, धान, गहुँ थ्रेसिङ गर्न सामुदायिक वनको ट्याक्टर तथा मेसिन सहुलियत शुल्कमा दिने गरिएको छ ।

बेतबाँस ओसार्न बाहेक मृत्यु भएका उपभोक्ता सदस्यको शव घाटसम्म पुर्‍याउन र दाउरा ओसार्न ट्याक्टर प्रयोग हुन्छ । उपभोक्ता सदस्यको मृत्यु भएमा किरिया खर्च ३ हजार, घातक रोग लागेका सामुदायिक वनको कोषबाट र उपचार खर्च ५ हजार, सुत्केरीलाई पोषण खर्च वापत १ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको सचिव ठगुल्लाले बताए ।

टेन्डर प्रतिपर्स्धाबाट बिक्री

सामुदायिक वनले एकजना उपभोक्तालाई हरेक वर्ष १० किलो बेतबाँस प्रतिकेजी ५० रूपैयाँमा उपलब्ध गराउँछ । उपभोक्तालाई वितरण गरेर बाँकी गरेको बेत टेन्डर निकालेर प्रतिस्पर्धाका आधारमा बिक्री गरिन्छ । टेन्डरबाट ९० देखि ९५ रूपैयाँसम्ममा बेतबाँस बिक्री हुने गरेको छ ।

समितिले एकैपटक ४/५ सय क्विन्टल बेतबाँस बिक्रीका लागि टेन्डर गर्दा बेतबाँस उद्योग सञ्चालन गर्दै आएका फर्निचर उद्योगीहरूलाई किन्न समस्या पर्ने गरेको छ । एकैपटक जिल्ला बाहिरका ठूला व्यापारीले एकमुष्ट बेतबाँस किनेर भारततर्फ लैजाँदा साना उद्योगले बेतबाँस नै नपाउने समस्या उत्पन्न हुने जोखिम बढ्दै गएको छ ।

टेन्डर प्रक्रियामा सहभागी भएर बेतबाँस उद्यमीले एकै पटक ४/५ सय क्विन्टल बेतबाँस किन्न सक्दैनन् । उद्योगहरूलाई सहज हुनेगरी एक/डेढ सय क्विन्टलको टेन्डर निकाल्ने व्यवस्था मिलाउनुपर्ने सुझाव बेतबाँस उद्योगका सञ्चालक विश्वकर्माको छ ।

फर्निचर उद्योगहरूलाई बेतबाँसको अभाव नहोस् भनेर नै टेन्डर प्रक्रिया अगाडि बढाउने गरिएको बताउँदै समितिका उपाध्यक्ष चौधरीले भनिन्, ‘फर्निचर उद्योगहरूसँग छलफल गरेरै उनीहरूलाई आवश्यक पर्ने बेतबाँस छुट्याएर बाँकी बेतबाँसको टेन्डर गर्ने गरेका छौं ।’

विदेशबाट फर्केर उद्योग सञ्चालन

बेरोजगार भएपछि काम खोज्दै मलेसिया पुगेका कञ्चनपुर पुनर्वासका भरतलाल विश्वकर्माले करिब ९ वर्ष मलेसिया र ५ वर्ष भारतको कोलकत्तामा बेतबाँस फर्निचर उद्योगमा काम गरे ।

बेतबाँसको फर्निचर उद्योग चलाउँदा आफ्नै देशमा राम्रो आम्दानी गर्नसक्ने सम्भावना देखेपछि उनी नेपाल फर्के । विश्वकर्माले २०७७ सालदेखि कैलालीको सत्ती बजारमा बेतबाँस फर्निचर उद्योग सञ्चालन गरिरहेका छन् ।

करिब १० लाख रुपैयाँ लगानी गरेर उद्योग सुरु गरेका विश्वकर्मालाई श्रमिती र छोराले पनि सघाउँदै आएका छन् । उनी भन्छन्, ‘छोराले मेसिन चलाउन सिकेको छ । श्रीमती घरधन्दा सकेर फर्निचर बनाउने काम गर्दै आएकी छिन् ।

परिवारको साथ पाएपछि फर्निचर उद्योगबाट विश्वकर्माले राम्रो आम्दानी गर्दै आएका छन् । उनको फर्निचरबाट वार्षिक ३० लाख रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको छ । बंैकबाट सहुलियत दरमा ऋण लिएर कारोबार बढाउँदै लैजाने सोच रहेको उनले बताए ।

उनको फर्निचर उद्योगमा सोफा, कुर्सी टेबल, फुलदानी, चुरा स्टेन्ड, ह्याङ्गर, मुडा, फोटो फ्रेम गायतका सामग्री उत्पादन हुन्छ । ती सामग्रीहरू नेपालगञ्जदेखि काठमाडौं, पोखरा लगायत करिब २ दर्जन शहरमा पुग्छन् ।

वनयजन्तुको बासस्थान बन्दै

वन संरक्षण भएसँगै नदी कटानको जोखिम कम हुनुका साथै वातावरण संरक्षण भई पर्यापर्यटनको सम्भावना पनि बढ्दै गएको छ । सामुदायिक वन क्षेत्रमा डडेलो लाग्न नदिन अग्निपथ निर्माण गरिएको छ । चारजना वन हेरालुले नियमित रूपमा गस्ती गर्दै सामुदायिक वन क्षेत्रलाई डडेलोबाट जोगाउँदै आएका छन् ।

सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा हाल बेतबाँससँगै सागुन, सिसौ, खयर, बकाइनो, निम, सिरिस, भेलोर, जामुन, गुल्लर, सिमलका रुख छन् । बेतबाँसकोे घना क्षेत्र पछिल्ला दिनहरूमा वनयजन्तुको वासस्थान बन्दै गएको छ ।

वन क्षेत्रमा दुर्लभ बाघ, नीलगाई, चितुवा, बँदेल, खरायो, मृग, मयुर, लाटोकोसेरो, धनेश जस्ता जंगली जनावर तथा चराचुरुंगीको चहलपहल बढ्दै गएको छ । वन क्षेत्र अजिंगर, सुनगोहोरो तथा विभिन्न प्रजातिका सर्पको वासस्थानमा परिणत भएको छ । पछिल्ला दिनहरूमा सामुदायिक वन क्षेत्रमा २ वटा पाटेबाघ ६ वटा चितुवा देखिएको अध्यक्ष चौधरीले बताए ।

सत्ती सामुदायिक वनले उपभोक्ताको नेतृत्व विकासदेखि सिप सिकाउने अनि उद्यमी बनेर आय आर्जन गर्ने वातावरण बनाइरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै कार्बन उत्सर्जन घटाउनेदेखि पानीका मुहान रिचार्ज गर्नेसम्मका काम सत्ती कर्णाली सामुदायिक वनबाट भइरहेको छ ।

सामुदायिक वनका उपभोक्ताले कर्णाली किनारको बगरलाई उपभोक्ता समूहले हरियाली मात्रै बनाएका छैनन्, बेतबाँसबाट गाउँघरमै रोजगारी दिएका छन् । साथै, बेतबाँस भारतमा बिक्री गरी विदेशी मुद्रा आर्जन गर्दै थोरै भए पन िदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउँदै आएका छन् ।

लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?