+
+
Shares

अमेरिकी संसदमा ह्वाट्सएपमाथि प्रतिबन्ध

एजेन्सी एजेन्सी
२०८२ असार ११ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी संसदले आफ्ना सबै सरकारी उपकरणहरूमा ह्वाट्सएप प्रयोगमाथि प्रतिबन्ध लगाएको छ किनभने यसले डेटा सुरक्षामा खतरा पुर्‍याउने बताइएको छ।
  • संसदको साइबर सुरक्षा निकायले ह्वाट्सएपलाई उच्च जोखिमयुक्त एप भनिएको र प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षामा पारदर्शिता नदेखाउने आरोप लगाएको छ।
  • मेटाले ह्वाट्सएपमाथि लागेको प्रतिबन्धको विरोध गर्दै पूर्ण इन्ड टू इन्ड इनक्रिप्टेड सन्देशको दाबी गरेको छ र पुनर्विचारको अपेक्षा व्यक्त गरेको छ।

अमेरिकाले संसदका सरकारी उपकरणहरुमा ह्वाट्सएप प्रयोगमाथि बन्देज लगाएको छ । अमेरिकी संसदले आफ्ना सबै सरकारी उपकरणहरूमा मेसेजिङ एप ह्वाट्सएपमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यो कदम डेटा सुरक्षासम्बन्धी गम्भीर चिन्ताका कारण चालिएको बताइएको छ ।

अमेरिकी संसदको साइबर सुरक्षा निकायले जारी गरेको एक आधिकारिक दस्ताबेजमा ह्वाट्सएपलाई उच्च जोखिमयुक्त एप भनिएको छ र संसदका सबै कर्मचारीलाई उक्त एप हटाउन आदेश दिएको छ ।

ह्वाट्सएपमाथि प्रतिबन्ध किन ?

रोयटर्स लगायतका सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार अमेरिकी संसदको हाउस साइबर सेक्योरिटी अफिसले सबै कर्मचारीलाई पठाएको निर्देशनात्मक मेमोमा ह्वाट्सएलाई प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षामा पारदर्शिता नदेखाउने एपका रूपमा चित्रित गरिएको छ।

ह्वाट्सएपमा संग्रहित डेटा एन्क्रिप्टेड नहुने भएकाले त्यसबाट साइबर आक्रमण, फिशिङ आक्रमण र संवेदनशील विवरण चोरी र चुहावटको खतरा उच्च रहने दाबी उक्त टिप्पणीमा गरिएको छ ।

संसदको प्रमुख प्रशासन अधिकृतको कार्यालयबाट कर्मचारीहरूलाई प्रेषित इमेलमा कडा निर्देशन दिएको छ। जसमा भनिएको छः यदि तपाईंको डिभाइसमा ह्वाट्सएप छ भने उक्त एप हटाउनका लागि तपाईंलाई सम्पर्क गरिनेछ । यस्तो आदेश मोबाइल फोन, ल्यापटप वा वेब ब्राउजरमा प्रयोग हुने सबै उपकरणमा लागू हुनेछ ।

संसदका कर्मचारीहरुले प्रयोग गर्ने सबै सरकारी उपकरणाबाट ह्वाट्सएप हटाउन आदेश दिएको अमेरिकी संसदले आफ्ना कर्मचारीलाई सुरक्षित रुपमा सन्देश आदान-प्रदानका लागि वैकल्पिक प्लाटफर्म तथा एपहरुको प्रयोग गर्न पनि निर्देशन दिएको छ। त्यसरी सिफारिस गरिएका एपहरुमा Signal, Microsoft Teams, Wickr, Apple iMessage तथा FaceTime लगायतका रहेका छन् । साथै, सबै कर्मचारीलाई अपरिचित नम्बरबाट आएका शंकास्पद सन्देशप्रति सचेत रहन पनि भनिएको छ।

मेटाको कडा विरोध

उता ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउने अमेरिकी संसदको निर्णय प्रति ह्वाट्सएपको मातृ कम्पनी मेटाले विरोध जनाएको छ। कम्पनीका प्रवक्ता एन्डी स्टोनले भनेका छन्( हामी संसदीय कार्यालद्वारा ह्वाट्सएपको सुरक्षा सम्बन्धमा गरिएको व्याख्याबाट पूर्ण असहमत छौं ।

उनले ह्वपाट्सएपमा सन्देशहरू पूर्ण रूपमा इण्ड टू इण्ड इनक्रिप्टेड हुने र प्रयोगकर्ताले आदानप्रदान गरेका मेसेजहरु स्वयं ह्वाट्सएपले पनि हेर्न नमिल्ने दाबी गरे।

जबकि ह्वाट्सएपको विकल्पको रुपमा संसदले सिफारिस गरेका विभिन्न एपमा त्यस्तो सुरक्षाको व्यवस्था उपलब्ध नरहेको उनको भनाइ छ ।

त्यसैले अमेरिकी संसदले ह्वाट्सएपमाथि लगाएको प्रतिबन्धका बारेमा पुनर्विचार गर्ने र निकट भविष्यमै संसदमा ह्वाट्सएप प्रयोगको अनुमति दिइने अपेक्षा मेटाले गरेको छ ।

इरानमा पनि ह्वाट्सएपविरुद्ध चेतावनी

केही साताअघि इरान सरकारले पनि नागरिकहरूलाई ह्वाट्सएप नचलाउन र डिलिट गर्न आग्रह गरेको थियो। ह्वाट्सएपको प्रयोगमार्फत लोकेशन डेटा लगायतका विभिन्न संवेदनशील जानकारीहरु विदेशी गुप्तचर संस्था वा इजरायली सेनासम्म लिक हुनसक्ने आशंका इरानका सरकारी अधिकारीहरूले व्यक्त गरेका थिए । यद्यपि इरानको यस्तै दाबीका बारेमा कुनै ठोस प्रमाण भने उपलब्ध छैन । साथै मेटाले पनि यस्तो आरोपलाई पनि पूर्ण रूपमा अस्वीकार गरेको छ ।

टिकटकपछि ह्वाट्सएपमाथि धाबा

यसअघि राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै अमेरिकाको संसदले चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकमाथि प्रतिबन्ध लाग्नसक्ने कानुन पास गरेको थियो ।

अमेरिकास्थित टिकटक कम्पनीको स्वामित्व कुनै अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने र त्यसो नगरेमा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइने व्यवस्था उक्त कानूनमा रहेको छ । तथापि अहिलेसम्म अमेरिकामा टिकटक बिक्री भएको छैन र राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लागु हुने समयसीमा सार्दै आएका छन् ।

टिकटकले अमेरिकी प्रयोगकर्ताका डेटा चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप अमेरिकी सरकार तथा संसदको रहेको छ ।

चिनियाँ एपलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै प्रतिबन्ध लगाउने तहमा पुगेको अमेरिकाले अब आफ्नै देशको कम्पनी मेटा स्वामित्वको ह्वाट्सएपमाथि पनि बन्देज लगाउन खोज्नुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?