News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडे।
- उहाँले सन् २०१५ मा अमेरिकाका ब्लेक अगस्टिनले बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड तोडेका हुन् र यो प्रयास २५ वर्षीय सुनिलले २१ जुनमा पूरा गर्नुभयो।
- सुनिलले पाँच वर्षको निरन्तर अभ्यासपछि विश्व रेकर्ड कायम गर्न सफल भए र नेपाललाई विश्वमा चिनाउनुभएको छ।
१२ असार, काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् ।
धादिङको गल्छीका २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा आधिकारिक रूपमा दिएको प्रयासमा कायम गरेका हुन्। सुनिलको रेकर्डबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।
उक्त कार्यक्रममा प्रमुख निर्णायकका रूपमा सुकदेव कार्की रहेका थिए, जो नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक हुन् भने अन्तर्राष्ट्रिय स्तरका सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट हुन् ।
रेकर्ड बनाएपछि सुनिलले नेपाललाई विश्वमा चिनाउँदा धेरै गर्व लागेको बताएका छन् । ‘नेपालको झण्डा बोकेर विश्व सामु उभिन पाउँदा आफूप्रतिको भन्दा पनि देशप्रतिको गर्व अझ बढी महसुस भयो’ उनले अनलाइनखबरसँग भने, ‘अब वर्ल्ड क्यालिस्थेनिक्स प्रतिस्पर्धामा पनि नेपालको झण्डा सर्वोच्च स्थानमा पुर्याउने लक्ष्य छ।’
उनले फिटनेस कुनै विकल्प नभएर जीवनशैली भएको बताउँदै सबैले यसलाई आफ्नो जीवनशैलीका रूपमा बुझ्न आवश्यक रहेको औंल्याए ।
पाँच वर्षको यात्रा, एउटा ऐतिहासिक पल
सुनिल खड्का एक क्यालिस्थेनिक्स इन्ड्युरेन्स एथ्लेट हुन्, जसले सन् २०२० देखि निरन्तर अभ्यास गर्दै आएका छन्। उनले आफ्नो यात्राको सुरूवातमा ३ वटा पनि सही पुलअप गर्न नसक्ने अवस्थाबाट सुरु गरेका थिए। तर लगातार पाँच वर्षको अनुशासन र समर्पणले उनले आज विश्व रेकर्ड कायम गर्न सफल भएका छन्।
सुनिलले भनेका छन्, ‘म आफैंले अनुशासन र निरन्तरताको शक्ति देखेँ। प्रत्येक पसिना, प्रत्येक विहानको अभ्यास, प्रत्येक रातको मेहनत आज सार्थक भएको छ। यो केवल मेरो जित होइन, यो हरेक विश्वास गर्ने खेलाडीका लागि, हरेकयुवाका लागि, नेपालका लागि, र सम्पूर्ण क्यालिस्थेनिक्स समुदायका लागि हो।’
इन्जिनियर र फिटनेस प्रशिक्षक पनि
सुनिल हालै पुल्चोक क्याम्पसबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थी पनि हुन्। उनी अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरिसकेका छन् ।
सन् २०२४ मा मुम्बईमा आयोजित एशियन क्यालिस्थेनिक्स च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत पदक जितेका थिए। साथै, उनी एक प्रमाणित पर्सनल ट्रेनरका रूपमा विभिन्न व्यक्तिहरूलाई फिटनेस र स्वस्थ जीवनशैलीका लागि मार्गदर्शन गर्दै आएका छन्।
६ महिनादेखि विशेष प्रशिक्षण सत्रमा क्ल्याप पुलअप अभ्यासमा केन्द्रित सुनिलले अन्ततः आफूले तय गरेको लक्ष्य पुरा गरेका छन्। यो रेकर्डले नेपाललाई विश्व क्यालिस्थेनिक्सको नक्शामा एउटा नयाँ पहिचान दिलाएको छ।
के हो क्ल्याप पुल अप ?
क्ल्याप पुलअप एउटा अत्यन्तै कठिन र उन्नत स्तरको क्यालिस्थेनिक्स व्यायाम हो, जसमा आफ्नो शरीरलाई तीव्र गतिमा बारतिर तानेर, बारबाट दुबै हात केही समयका लागि हटाइन्छ, त्यसपछि हावामा ताली बजाएर फेरि छिटो बार समातेर शरीरलाई नियन्त्रणपूर्वक तल ल्याइन्छ।
यो अभ्यास सामान्य पुलअपको तुलनामा धेरै शक्ति, गति, समन्वय र शरीरमाथिको नियन्त्रण आवश्यक पर्ने व्यायाम हो।
क्ल्याप पुलअप केवल शक्ति प्रदर्शन मात्र नभएर एक सुसंयोजित, जोखिमपूर्ण तर प्रेरणादायी व्यायाम हो, जसले शरीरलाई एकैपटक शक्ति, गति र नियन्त्रणको सीमामा पुर्याउँछ।
अभ्यास गलत तरिकाले गर्दा चोटपटकको सम्भावना उच्च हुने भएकाले, क्ल्याप पुलअप सिक्नुअघि मूल पुलअपमा राम्रो पकड, शरीरमाथि भरपूर नियन्त्रण, र छालमा बलियो पकड हुनु अनिवार्य हुन्छ।
यो व्यायाम अक्सर उन्नत एथ्लेट, विशेषगरी क्यालिस्थेनिक्स, जिम्नास्टिक, पार्कौर र मिलिटरी ट्रेनिङमा संलग्न व्यक्तिहरूले मात्र अभ्यास गर्ने गर्छन्।
प्रतिक्रिया 4