+
+
Shares
साप्ताहिक सेयर समीक्षा :

साताभरि नेप्से घट्यो ३३ अंक, सयभन्दा धेरै बढ्यो २ विकास बैंकको सेयर मूल्य

राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा खुकुलो कर्जा नीति लिएको खण्डमा बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से सूचक यो साता ३३ अंकले घट्यो र २५९५.७४ अंकमा बन्द भयो।
  • सातामा अधिकांश समूहगत सूचक घटेका र बजारमा सेलिङ दबाव देखिएको थियो।

१३ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक यो साताभरि ३३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २६८१.९१ अंकमा रहेको नेप्से बिहीबार कारोबार बन्द हुँदा २५९५.७४ अंकमा झरेको हो ।

यो साता नेप्सेसँगै निश्चित मादण्ड तोकिएका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५ अंकले घटेको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्समा वर्गीकृत हुने कम्पनीको मापदण्डमा २ करोड चुक्ता पूँजी भएको, १ हजारभन्दा धेरै सेयरधनी भएको, निरन्तर तीन वर्ष नाफामा गएको, अंकित मूल्यभन्दा नेटवर्थ धेरै भएको लगायत छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहेका सेयर लगानीकर्ता यो साता खासै उत्साहित हुन सकेनन् । राष्ट्र बैंकले चालु पूँजी कर्जाको पूर्ण कार्यान्वयन गर्ने अवधि बढाएपछि लगानीकर्ता केही सकारात्मक देखिए पनि त्यो धेरै दिन टिकेन । राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा खुकुलो कर्जा नीति लिएको खण्डमा बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।

चालु आव अन्तिम महिना भएकाले बैंकहरूले पनि कर्जा असुली बढाउने, लगानीकर्ताले पनि कारोबार राफसाफका लागि सेयर बिक्री गर्दा पनि सेलिङ प्रेसर देखिएको हो । त्यसले पनि यो साता बजार घट्नमा मद्दत गरेको हो ।

त्यसैगरी चालु आव अन्तिम समय भएकाले सूचीकृत कम्पनीको कार्यसम्पादन नतिजा आउने तथा लाभांशको पनि पूर्वानुमान गर्न सकिने भएकाले लगानीकर्ता लगानी बढाउन भन्दा बिक्री गरेर कारोबार मिलाउने तर्फ लाग्दा बजार घटेको हो ।

यो साता नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक घटेका छन् । साताभरिमा होटल तथा टुरिज्म समूह सबैभन्दा धेरै २५५.६४ अंकले घटेको छ । त्यसैगरी माइक्रो फाइनान्स ८४.८४, जलविद्युत् ७२.६५, विकास बैंक ११.५९, उत्पादनमूलक १३३.३९, अन्य ३०.५१, बैंकिङ ६.८४, निर्जीवन बीमा १६०.४५, सामूहिक लगानी कोष ०.०६, जीवन बीमा २३७.०१, फाइनान्स ४४.५७ र लगानी समूह १.५२ अंकले घटेका छन् । तर, यो साता व्यापार समूह मात्रै ३.३४ अंकले बढेको छ ।

विकास बैंकको समूहगत परिसूचक दोहोरो अंकले घटे पनि साताभरि सबैभन्दा धेरै कमाउने कम्पनीको सूचीमा दुई विकास बैंक छन् । यो साता ग्रिन डेभलपमेन्ट बैंकका सेयर धनी प्रतिकित्ता १ सय ३० रुपैयाँ कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकका सेयर धनीले ९७ रुपौयाँसम्म कमाएका छन ।

तर, यो साता दोर्दी खोला जलविद्युत् इनर्जीका सेयर धनीले प्रतिकित्ता ५८ रुपैयाँसम्म गुमाएका छन् भने पियोर इनर्जीका सेयरधनीले १ सय ४३ रुपैयाँसम्म घाटा खाएका छन् ।

यो साताभरि नेप्सेमा कुल ३५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै, धेरै रकम बराबर सेयर कारोबार हुने कम्पनीमा बुटवल पावर कम्पनी छ । यो साता बुटवल पावर कम्पनीको २ अर्ब ६० करोड बराबर सेयर खरिद–बिक्री भएको छ ।

आईपीओ तथा सामूहिक लगानी कोष

हाल दरमखोला हाइड्रो इनर्जीले स्थानीयका लागि साधारण सेयर निष्कासन गरिरहेको छ । गत सोमबार बिक्री खुला भएको उक्त कम्पनीको स्थानीयको सेयरमा २३ असारसम्म आवेदन दिन सकिने छ ।

त्यसैगरी हिमस्टार ऊर्जा कम्पनीले स्थानीयलाई छुट्याएको सेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन हो । साथै, यो सातादेखि सिटिजन्स म्युचुअल फन्डको सिटिजन्स सदाबहार योजना बिक्री खुला भएको छ । उक्त योजनाको इकाइ खरिदका लागि आगामी मंगलबारसम्ममा आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?