+
+
Shares
कला प्रदर्शनी :

कलामा ब्रम्हाण्डको अस्तित्व खोज्दै ९ महिला कलाकार (तस्वीर)

२७ जुनदेखि १२ जुलाईसम्म संचालन हुने प्रदर्शनीमा ९ जना नेपाली महिला कलाकारका चित्र राखिएको छ । प्रदर्शनीले समकालिन कलामार्फत मौलिक अस्तित्वको गहन अन्वषेण गर्ने उद्देश्य बोकेको क्यरेटर मिसेल लामाले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको लिच्छवि हाउसले ‘पाँच तत्वहरूको अन्तरनिर्भरता’ विषयक कला प्रदर्शनी सुरु गरेको छ।
  • प्रदर्शनीमा नौ नेपाली महिला कलाकारका चित्रहरू राखिएका छन् र १२ जुलाईसम्म खुला रहनेछ।
  • यसले नेपालको कला क्षेत्रमा कम प्रतिनिधित्व भएका कलाकारहरूलाई प्रवर्द्धन गर्न र पर्यावरणीय चेतनालाई जोड दिन्छ।

काठमाडौं । लिच्छवि हाउसको आयोजनामा आर्ट काउन्सिलमा ‘पाँच तत्वहरूको अन्तरनिर्भरता’ विषयक कला प्रदर्शन सुरु भएको छ ।

२७ जुनदेखि १२ जुलाईसम्म संचालन हुने प्रदर्शनीमा ९ जना नेपाली महिला कलाकारका चित्र राखिएको छ । प्रदर्शनीले समकालिन कलामार्फत मौलिक अस्तित्वको गहन अन्वषेण गर्ने उद्देश्य बोकेको क्यरेटर मिसेल लामाले बताइन् ।

प्रत्येक दिन बेलुका ५ बजेदेखि सर्वसाधारणको लागि प्रदर्शनी खुला गरिएको छ । यो प्रदर्शनीले सन् २०२४ को प्रदर्शनी ‘अनिका : परिवर्तन, जीवन, संसार’को सफलतापछि, कलामार्फत अर्थपूर्ण संवादलाई बढावा दिने लिच्छवी हाउसको मिशनको एक महत्वपूर्ण निरन्तरतालाई प्रतिनिधित्व गर्दछ ।

अघिल्लो प्रदर्शनीमा अन्तर्राष्ट्रिय कलाकारको कला प्रस्तुत गरिएको थियो भने यसपटक नेपाली कलाकारलाई समेटिएको छ । यसपटक सुष्मा शाक्य, विधाता केसी, बर्खा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशिला सिंह र तेन्जिङ साङ्माका कला प्रदर्शनीमा राखिएको छ ।

‘यस प्रदर्शनीले नेपालको कला क्षेत्रमा ऐतिहासिक रूपमा कम प्रतिनिधित्व भएका कलाकारहरूका लागि एक आवश्यक प्लेटफर्म सिर्जना गरिएको छ’ लिच्छवि हाउसका निर्माण संयोजक तथा प्रसिद्ध फिल्म निर्माता म्याक्स दिपेश खत्रीले अनलाइनखबरलाई भने ।

पाँच तत्व अर्थात पृथ्वी, पानी, अग्नि, वायु र अन्तरीक्षका पाँच तत्व कसरी एकअर्कामा अन्र्तसम्बन्धित छन् र यी तत्वले ब्रम्हाण्डको अस्तित्व जोगाउन कसरी भूमिका खेलेका छन् भन्ने थिम ‘पाँच तत्वहरूको अन्तरनिर्भरता’ यसपटक तय गरिएको छ ।

‘यसले दर्शकलाई सबै घटनाको अन्तरसम्बन्ध र पृथ्वीप्रति हाम्रो साझा जिम्मेवारीलाई मनन गर्न भूमिका खेल्छ’ क्युरेटर लामाले भनिन् ‘प्रदर्शन गरिएका कलाकृतिले यी तत्व कसरी पारस्परिक निर्भरतामा अवस्थित छन् भनेर प्रकाश पार्छन्, आजको संसारमा एकता र वातावरणीय चेतनाको महत्वलाई जोड दिन्छन् ।’

प्रदर्शनीले कलाकारको रचनात्मकतालाई बढावा दिन तथा भौगोलिक, सामाजिक र सांस्कृतिक अवरोधलाई सम्बोधन गर्ने प्लेटफर्मको रूपमा काम गर्ने उनले बताइन् ।

प्रदर्शनीको एउटा मुख्य आकर्षणको रुपमा ‘लिच्छवी हाउस कुना’ छ । यस खण्डमा कला, संस्कृति र आध्यात्मिक केन्द्रको रूपमा यसको भूमिकालाई उजागर गर्दै, सबै अघिल्ला लिच्छवी हाउस पहलहरूको पूर्वव्यापी झलक प्रस्तुत गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको पहिलो दिन बौद्ध धर्मगुरु तथा फिल्म निर्देशक खिन्से नोर्बुले पनि कला अवलोकन गरे । उनी यतिबेला आगामी कथानक फिल्मको पोस्ट–प्रोडक्सनको लागि काठमाडौंमा छन् ।

बौद्धनाथ स्तुपा क्षेत्रमा अवस्थित लिच्छवी हाउस सन् २०२६ मा उद्घाटन हुने तयारीमा छ । यसले आफूलाई कलात्मक नवप्रवर्तन र सांस्कृतिक संवादको लागि नेपालको प्रमुख केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?