+
+
Shares
जोमसोम अस्पतालमा जीवनज्योती :

१८ घण्टाको प्रसव पीडापछि आकस्मिक शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

आर्थिक अभावले सुविधासम्पन्न अस्पताल जान नसक्ने भएपछि १८ घण्टासम्म प्रसव पीडाले छटपटाएकी गर्भवतीको जोमसोम अस्पतालका डाक्टरले जोखिम मोलेर आकस्मिक शल्यक्रिया गरी आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १०:०५

१६ असार, हेटौंडा । मुस्ताङ टुकुचेकी २४ वर्षीया महिलाको जोमसोमस्थित प्रादेशिक अस्पतालमा आकस्मिक शल्यक्रियाबाट शिशु जन्मिएको छ । अस्पतालका अनुसार १८ घण्टाको कठिन प्रसव पीडापछि गरिएको शल्यक्रियाबाट आमा र शिशुको ज्यान जोगिएको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

४० हप्ता ४ दिनको गर्भवती ती महिलालाई तीन साता अघि नै अस्पतालले ‘एबी नेगेटिभ’ जस्तो दुर्लभ रक्त समूहका कारण सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिएको थियो । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको जोमसोममा उक्त रक्त समूह सहजै उपलब्ध नहुने भएकाले उनलाई त्यहाँबाट नजिक पर्ने पोखरा जान भनिएको थियो । तर आर्थिक अभावका कारण उनी पोखरा जान नसकेकी थिइन् ।

‘आर्थिक समस्याले गर्दा पोखरा जान नसक्नु भएको रहेछ । १८ घण्टासम्म टुकुचेमै पीडा सहेर बसेपछि मात्रै अस्पताल ल्याइएको थियो,’ जोमसोम अस्पतालका कन्सल्टेण्ट मेडिकल जेनरलिष्ट डा. विशाल सापकोटाले अनलाइनखबरसँग भने, ‘२० महिनाअघि उनको गर्भपात भएको थियो । त्यसबेला प्रसूति गृह काठमाडौंमा पुगेकी थिइन् । तर एन्टी–डी खोप नलगाएकाले अहिलेको गर्भमा थप जोखिम देखिएको हो ।’

स्वास्थ्य जोखिम बढ्दै गएपछि उनलाई राति करिब १० बजे उनी टुकुचे स्वास्थ्य चौकी लगिएको थियो । तर अवस्था जटिल बन्दै गएपछि दिउँसो १ बजे जोमसोमस्थित प्रदेश अस्पताल ल्याइएको थियो । ‘शुरुआती परीक्षणमा शिशुको टाउको गर्भमार्गमा अटाउन नसक्ने, योनीमुखमा रक्तस्रावयुक्त गाँठो देखिने र शिशुको मुटुको गति सुस्त पाइएको थियो,’ डा. सापकोटाले भने, ‘त्यसपछि तत्कालै आकस्मिक शल्यक्रिया गर्नुपर्‍यो ।’

शल्यक्रिया डा. सापकोटा नेतृत्वको टिमले सफलतापूर्वक सम्पन्न गर्‍यो । टोलीमा डा. विसर्जन नेपाली, डा. अनिशा गुरुङ, डा. मनिष कोइराला, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल तथा सहयोगीहरु शान्ता र अनु परियार थिए ।

३ किलो ६०० ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । ‘एनआईसीयू, ब्लड बैंक र भेन्टिलेटर जस्ता पूर्वाधार नभएको अवस्थामा गरिएको यो सफल शल्यक्रिया दुर्गम क्षेत्रमा मातृ तथा नवजात सेवाको उत्कृष्ट उदाहरण हो,’ डा. सापकोटाले भने ।

अस्पतालमा संरचना र जनशक्ति अभाव

जोमसोममा २०२९ सालमा स्वास्थ्य चौकी स्थापना भएको थियो । पछि स्तरोन्नति गरेर २५ शय्याको प्रादेशिक अस्पताल बनाइएको थियो । तर, अझै पनि जोमसोम अस्पतालमा एनआईसीयू, ब्लड बैंक, भेन्टिलेटरजस्ता अत्यावश्यक संरचना छैनन् । आवश्यक ‘एन्टी–डी’ खोप समेत नभएकाले पोखराबाट मगाइएको डा. सापकोटा बताउँछन् ।

भवन निर्माण अधुरो, उपकरणको अभाव र जनशक्तिको कमीबीच अस्पतालले मातृ तथा नवजात सेवामा उल्लेखनीय काम गरिरहेको छ ।

शल्यक्रियाबाट हुने प्रसूति सेवा अस्पतालमा चैत महिनाबाट मात्रै पुन: सुरु भएको हो । यसअघि १९ महिनासम्म शल्यक्रिया सेवा अवरुद्ध थियो । त्यस अवधिमा करिब १५० महिला पोखरा वा म्याग्दीको बेनी अस्पताल पुगेर सुत्केरी भएको पाइएको छ ।

डा. सापकोटा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अन्तर्गत करारमा खटाइएका हुन् । उनीभन्दा अघिका डाक्टर मुखिया घलेको सरुवा भएपछि जोमसोम अस्पताल विशेषज्ञविहीन थियो ।

हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र एक मेडिकल अफिसरसहित १७ जना प्राविधिक छन् । कुल ३० जना कर्मचारीले अस्पताल चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?