
१६ असार, काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ ।
बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, सइमा ३४ जना, लेखा उपसमूहतर्फ सइमा ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुनको लागि १९ जेठमा सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको वरिष्ठ सइ र सई तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सइमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फारम भर्न उल्लेख गरेको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो ।
बढुवा मूल्यांकन फारमको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु गरिने सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाले बताए ।
प्रतिक्रिया 4