
News Summary
Generated by OK AI. Editorially reviewed.- जदुलाल कामतले मोरङको कटहरी गाउँपालिकामा जग्गा र ऋण सम्बन्धी मुद्दा न्यायिक समितिमा राखेका छन्।
- रामकुमार कामतविरुद्ध मिटरब्याज र जग्गा फिर्ताका उजुरी जिल्ला प्रशासन कार्यालय र उच्च अदालतमा परेका छन्।
- नेताहरूको दबाब र विवादका कारण उजुरी र कारबाही प्रक्रिया ढिलो भइरहेको बताइएको छ।
१७ असार, विराटनगर । जदुलाल कामत मोरङको कटहरी गाउँपालिका-३ का वडाध्यक्ष हुन् । दोस्रो कार्यकाल वडाको नेतृत्व गरिरहेका उनी गाउँपालिका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस कटहरी गाउँसमिति सभापति रामकुमार कामतका कारण सडकमा आएको दाबी गर्छन् ।
न्याय माग गर्दै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी पनि दिएका छन् ।
जदुलाल कामतले करिब सात कट्ठा जग्गा खरिद गर्दा पालिकाका तत्कालीन अध्यक्ष कामतसँग २१ लाख रूपैयाँ ऋण लिएका थिए । ऋण दिनुअघि रामकुमारले जग्गा श्रीमतीको नाममा सारे । जदुलालले अध्यक्ष कामतलाई पटकपटक गरी ३५ लाख ५० हजार रूपैयाँ बुझाइसकेका छन् । तर रामकुमार कामतले जग्गा फिर्ताका लागि अझै २३ लाख रूपैयाँ मागिरहेका छन् ।
‘रामकुमार कामतलाई विश्वास गर्दा मलाई रोडमा ल्याइदिए, जग्गामा सबै पैसा फस्यो, बैंकको ऋण छ,’ वडाध्यक्ष कामत भन्छन्, ‘यति धेरै तनाव दिएका छन् कि भनी साध्य छैन ।’
कामतले कटहरी– ३ को २०७४ सालमा साढे ६ कट्ठा जग्गा ६८ लाखमा खरिद गरेका थिए । जग्गा खरिद गर्दा उनलाई २० लाख रूपैयाँ पुगेन् । अपुग पैसा स्थानीय बद्री चौधरीले ऋण दिए । २० लाखको धितो बापत उनले जग्गा बद्रीको नाममा पास गरे । बद्रीले पैसा फिर्ता मागेपछि उनले तत्कालीन गाउँपालिका अध्यक्ष कामतसँग ऋण मागे ।
२०७४ सालमै श्रीमती रुणादेवी कामतको नाममा पास गरेर उनले २१ लाख रूपैयाँ ऋण दिए । ऋण तिरेपछि जग्गा फिर्ता गर्ने मौखिम सहमति जनाएका थिए । नाम सारी गरेको २० दिन भित्र उनले ७ लाख ५० हजार रूपैयाँ फिर्ता दिए ।
त्यसपछि २०७८ सालमा पटकपटक गरेर २८ लाख रूपैयाँ बुझाए । पैसा तिर्दा उनले रुणादेवीकै नाममा रहेको जग्गा पछि पास गरिदिने भन्दै अरुलाई बिक्री गरेका थिए ।
२१ लाखको ४० लाख लिने भन्दै पालिका अध्यक्ष कामतले जग्गा फिर्ता दिएनन् । जग्गा फिर्ताका थप १३ लाख रूपैयाँ मागे । त्यसबेला जदुलाल पैसा दिन तयार भएनन् ।
पछिल्लो समय रामकुमारले जदुलाललाई अब २३ लाख दिए मात्रै जग्गा फिर्ता दिने बताउँदै आएका छन् । उनका अनुसार रामकुमारले कहिल्यै सिधा पैसा लिएका छैनन् । अरु नै मान्छे मार्फत पैसा बुझ्छन् ।

जदुलाल र रामकुमार दुवै नेपाली कांग्रेसका नेता हुन् । जदुलालले न्यायका लागि कांग्रेसको जिल्ला तहका सबै नेताको दौलो चहारे पनि पार्टीका नेताहरूले कुरा नसुनेको गुनासो गर्छन् । नेताहरू रामकुमारकै पक्ष लागे ।
‘नेताहरूलाई भन्दा थाकिसकें, पटक(पटक कुरा गर्दा पनि उसले जग्गा फिर्ता गर्न मान्दैन,’ उनले भने,‘मलाई जे गर्न सक्छस् गर भन्दै धम्काइरहेको छ ।’
जताततै उजुरी
मिटरब्याज कारोबारी आरोपी रामकुमार कामतविरुद्ध जताततै उजुरी छ । जिल्ला प्रशासन कार्यालय मोरङमै दुई वटा उजुरी छ ।
कटहरी गाउँपालिकाको न्यायिक समितिमा दुई वटा उजुरी छन् । उच्च अदालत विराटनगरमा मुद्दा पनि विचाराधीन छ ।
कटहरी गाउँपालिकाको न्यायिक समितिमा रुणाले आफ्नो जग्गामा बनाएको घर खाली गरी पाउँ भन्दै निवेदन दिएकी छन् ।
रुणाले आफ्नो जग्गा खाली गर्न भन्दै माग गरेर दायर गरेको निवेदन जदुलालसँगको सहमतिमा जग्गा किनेर बसेका दुई परिवारविरुद्धको हो । जदुलालसँग जग्गा किनेर बसेकाहरू घरबार उठ्ने हो कि भन्ने चिन्तामा छन् ।
‘अध्यक्षको ऋण तिर्न जग्गा बेचे, जग्गा किन्नेले घर बनाएका छन्, त्यो घरजग्गा खाली गर्नु भन्दै रामकुमारले निवेदन दिएका छन्, छलफलमा कहिल्यै उनी आउँदैनन, श्रीमती र छोरालाई पठाउँछन्,’ जदुलालले भने,‘ दुःख मात्रै दिइरहेका छन् ।’
२०७४ सालमा निर्वाचित पालिका अध्यक्ष रामकुमार कामतविरुद्ध कटहरी गाउँपालिका– २ की ५५ वर्षीय रामवती राजवंशीले मिटरब्याजको उजुरी दिएकी छन् ।
८ लाख रूपैयाँ ऋण लिनका लागि उनले आफ्नो नामको ५ कट्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रूपैयाँ लिएकी थिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।
लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो । आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले दिन मानेका छैनन् । फिर्ता माग्दा उल्टै हप्कीदप्की गर्छन् । उनको उजुरीमा जिल्ला प्रशासन कार्यालयमा दुई पटक छलफल भएको छ ।
सीडीओ सरुवाको चलखेल
१० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित राजवंशीको उजुरी २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुग्यो । जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि उजुरी किनारा लागेको छैन ।
छलफल नगर्न कांग्रेस नेताहरूको चर्को दबाब छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुई पटक कामतलाई झिकाएर छलफल गरेका छन् ।
आफ्ना नेतालाई सीडीओले अनावश्यक दुःख दिएको भन्दै कांग्रेस नेताहरू भने सिडिओको सरुवाको लविङमा लागेका छन् ।
जिल्ला प्रशासन कार्यालयले छलफल गर्न खोज्दा कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीलगायतले हस्तक्षेप गरिरहेका छन् । उनीहरूले आफ्ना नेता कामतविरुद्ध छानबिन नगर्न दबाब दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारीले दुई पटक छलफल गराएपछि कांग्रेस नेता गृहमन्त्री रमेश लेखकसम्म गुनासो लिएर पुगेका छन् । ‘सीडीओबाट कामतको केसमा अतिरिक्त हस्तक्षेप भयो भन्ने गुनासो आएको छ,’ गृहमन्त्रालय स्रोत भन्छ,‘ जिल्ला तहबाट एक खालको प्रेसर आइरहेको छ ।’
प्रशासन स्रोतका अनुसार आफूविरुद्धको उजुरीमाथिको कारवाही प्रकृया अघि नबढाउन कांग्रेस नेता मार्फत दबाब दिइरहेका छन् ।
मेराविरुद्ध सडयन्त्र भयो : कामत
कांग्रेस नेता रामकुमार कामत भने आफूविरुद्ध चलखेल भइरहेको बताउँछन् । विवादरहित पालिकाको काम गरेको दाबी गर्दै उनले फेरि हुने चुनावमा दाबेदार भएका कारण विरोधीले चलखेल गरेको बताए ।
जदुलाललाई मिटरब्याजमा ठगी नगरेको उनको दाबी छ । रामकुमारको दाबी अनुसार जदुलालले उनकी श्रीमतीलाई जग्गा किनाइदिएका हुन् ।
जदुले पैसा दिएको कुनै प्रमाण नरहेको बताउँदै उनले प्रमाण भए देखाउन चुनौती दिए ।
‘मान्छे बदनाम गर्न लागेकै छन्, प्रमाण हेरेर गर्दा भइहाल्छ नि,’ उनले भने,‘ मेरो बुढियाको नाममा जदुले जग्गा किनाइदिएको हो ।’ आफ्नो जग्गामा घर बनाएपछि पालिकाको न्यायिक समितिमा निवेदन दिएको उनले बताए ।
प्रतिक्रिया 4