
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरे।
- उनले नेपालमा लगानीको अनुकूल वातावरण र सुधारहरू भएको बताए।
- स्पेनका व्यवसायीहरूले नेपालमा लगानी गर्न सकारात्मक प्रतिक्रिया दिए।
१९ असार, म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोका खुला रहेको सन्देश दिए ।
‘नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले विभिन्न कानुनहरू संशोधन गरेका छौँ, लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएका छौँ। अहिले नेपालमा स्थायित्वयुक्त सरकार छ, जसले दीगो र पारदर्शी आर्थिक वातावरणको ग्यारेन्टी गर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपान्तरणतर्फ स्पष्ट लक्ष्यसहित अगाडि बढेको र आर्थिक वृद्धिको इन्जिनको रूपमा निजी क्षेत्रलाई आत्मसात् गरिसकेको स्पष्ट पारे । कानुनी, संस्थागत तथा प्रक्रियागत सुधार भएको उल्लेख गर्दै उनले दक्षिण एसियामध्ये नेपालमा लगानीका लागि सबैभन्दा अनुकूल वातावरण रहेको दाबी गरे । उनले नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा अपार सम्भावना रहेको उल्लेख गर्दै स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा स्पेनका प्रतिष्ठित उद्योगी तथा लगानीकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । विशेष सत्रमा सहभागी केही स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरे।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल-स्पेन व्यापारिक सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए। ‘हामी स्पेनको वाणिज्य संघ र लगानीकर्ताहरूसँग प्रत्यक्ष सहकार्य गर्न तत्पर छौं’, उनले भने, ‘नेपालमा उत्पादन, पर्यटन, ऊर्जा र पूर्वाधारका क्षेत्रमा अपार सम्भावना छन् ।’
स्पेनको प्रमुख वाणिज्य संघ कामारा दे कमर्सियो दे स्पान्या की प्रमुख कार्यकारी अधिकृत ईन्माकुलादा रियेराले नेपालप्रति आफ्नो संस्थाको सदैव सकारात्मक दृष्टिकोण रहेको बताइन् । प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाएको उल्लेख गर्दै उनले भनिन्, ‘यो भ्रमणले नेपाल–स्पेन सम्बन्धमा नयाँ आयाम थपेको छ, र हामी लगानीका नयाँ सम्भावनाहरूको खोजीमा छौं।’
उनले चाँडै नेपाल भ्रमण गर्ने योजना रहेको जानकारी दिंदै स्पेनी लगानीकर्ताहरूमाझ नेपालको अवसरबारे उत्साहपूर्वक चर्चा गरिरहेको बताइन्।कार्यक्रमको प्रारम्भमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले सबै अतिथिहरूलाई स्वागत गर्दै यस्तो उच्चस्तरीय भेटघाट दुई देशबीचको कूटनीतिक सम्बन्धका लागि ऐतिहासिक अवसर भएको बताए ।
यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सेभिया पुगेका थिए।सम्मेलनको कार्यक्रम सम्पन्न गरी उनी बुधबार म्याड्रिड फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार स्पेनको प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको रंगशाला ‘सान्तियागो बेर्नाबेउ’को भ्रमण गर्ने कार्यक्रम छ। त्यसपछि साँझ म्याड्रिडस्थित नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सोही रात उनी नेपाल फर्कने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ ।
प्रतिक्रिया 4