
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरी उत्पादन र आपूर्ति समस्याबारे अध्ययन गरेको छ।
- अनुगमनका क्रममा सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा उत्पादन सीमित भएको र कच्चा पदार्थको आयातमा समस्या देखिएको पाइएको छ।
१९ असार, काठमाडौं । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।
औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा औषधि लिमिटेडले देशभरिलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भए पनि सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा समस्या भएको भन्ने गुनासो आएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।
आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको पाइएको उनको भनाइ छ ।
औषधि लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।
‘बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरूबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको गुनासो आएको छ,’ खानले भने ।
अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमका औषधि मात्रै उत्पादन भइरहेको जानकारी औषधि लिमिटेडले दिएको उनको भनाइ छ ।
कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन सरकारले गरेको खण्डमा औषधि लिमिटेडले ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी आफूहरूले पाएको उनले बताए ।
जनताले औषधि नपाएको उजुरी समितिमा परेपछि पछि आफूहरू अनुगमनमा आएको समिति सभापति खानले बताए । औषधि लिमिटेडको समस्या बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनले बताए ।
प्रतिक्रिया 4