
News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायीहरू सुन र हिरामा लगाइएको विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन उत्रिएका छन्।
- उनीहरूले कर हटाउन र स्पष्ट नीति बनाउन सरकारसँग माग गरेका छन्।
- अर्थमन्त्रीले विलासिता करको सीमा मात्र हटाएको बताएका छन्, जसले व्यवसायीहरूलाई झन् असन्तुष्ट बनाएको छ।
२० असार, काठमाडौं । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
माइतीघरमा भेला भएका सुनचाँदी तथा आभुषण व्यवसायीहरु कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दैछन् ।
‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।
सुन बिलासी वस्तु नभएको समेत उनीहरुको तर्क छ । सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने, व्यवसायी मैत्री नीति नियम तथा निर्देशिका निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमामात्रै हटाइएको बताए ।
अर्थमन्त्रीको भनाइबाट असन्तुष्ट व्यवसायीहरू विहीबार पनि सडकमा उत्रिएका थिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएपछि त्यसको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
यसअघि बजेट बक्तव्यपछि दिनहुँजसो प्रदर्शनमा उत्रिएका व्यवसायीले अल्टिमेटम दिँदै ५ असारमा आन्दोलन स्थगित गरेका थिए ।
तर, सरकारले माग पूरा नगरेको भन्दै उनीहरू पुन: आन्दोलनमा उत्रिएका हुन् ।
विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।
बैंक वा होलसेल (थोक) पसलले ढिक्का सुन बेच्दा पनि २ प्रतिशतको विलासिता शुल्क लागु हुन थालेको हो ।
जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया 4