
काठमाडौं । नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान- २०८२ बाट सुकन्या वाइबा तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२ बाट भूपाल बस्नेतलाई सम्मानित गरेको छ ।
राजधानीमा आइतबार उक्त सम्मान समर्पण गरिएको हो । उनीहरूलाई वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पुरस्कार संस्थापक रेखा कँडेल र राजेश न्यौपाने लगायतले सम्मान गरे ।
वाइबालाई २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार १ नगद प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार घिमिरेले योगमायाको व्यक्तित्वबाट आफू प्रभावित भएको बताइन् ।
उनले भनिन्, ‘योगमायाको योगदान आज पनि सबैको निम्ति मार्गदर्शक र सान्दर्भिक छ । सबैले योगमायाको आदर्शलाई आत्मसात गरौं।’ कार्यक्रममा रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्नुपर्ने बताए ।
उनले भने, ‘उहाँको साहस, समर्पण, उठाउनु भएको विषय र त्याग आज पनि अनुकरणीय छ।’ सम्मानित व्यक्ति सुकन्या वाइबाले योगमाया सारा नेपालीको मनमा छाएको भन्दै पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेको बताइन् ।
अर्का सम्मानित व्यक्तित्व भूपाल बस्नेतले योगमायाको समाधिस्थलबारे चर्चा गरे । उनले भने- ‘यो सम्मान मेरो लागि हौसला हो, मैले योगमाया विषयका अभियानहरूमा ५० सालदेखि झोला बोकेको हुँ, म योगमायाको थलोकिलोको मान्छे हुँ ।’
प्रतिक्रिया 4