+
+
Shares

अधुरो प्रेम सधैं बाँचिरहन्छ : इम्तियाज अली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इम्तियाज अलीले सामाजिक सञ्जालमा अन्तर्वार्तामा प्रेमको अधुरोपन र फिल्महरूमा यसको प्रस्तुति बारे चर्चा गरे। उनले भने, ‘जुन प्रेम पूरा हुन्छ, त्यो समाप्त हुन्छ।’
  • उनले ‘रकस्टार २’ को बारेमा भने, अरूले बनाउने भए राम्रो हुने बताए र सामाजिक सञ्जालमा टिप्पणीहरू आए। उनले आफ्नो फिल्म ‘लभ आजकल’ र ‘तमाशा’ को सफलता र असफलता पनि उल्लेख गरे।
  • उनले व्यक्तिगत जीवन र प्रेमबारे आशा व्यक्त गरे र फिल्म ‘तमाशा’ लाई ढिलो बुझिएको बताए, साथै स्टारहरूको सफलता र असफलता पनि अनुभव गरे।

फिल्म निर्माता र निर्देशक इम्तियाज अली सामाजिक सञ्जालमा ट्रेन्ड हुनु नयाँ कुरा होइन, तर गत जुन २९ मा उनले दिएको एक अन्तर्वार्ताको कारण उनी अचानक ट्रेन्डमा आए ।

एउटा समाचार च्यानललाई दिएको अन्तर्वार्तामा इम्तियाज अलीले प्रेम, यसको अधुरोपन र आफ्ना फिल्महरूमा यसको प्रस्तुतिबारे कुरा गरेका थिए ।

उनको अन्तर्वार्तामा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिँदै लेखे, ‘इम्तियाज अलीले फिल्मको मात्र होइन, भावनाहरूको निर्देशन गर्छन् ।’

एनडीटीभीको कार्यक्रम ‘क्रिएटर मञ्च’ मा इम्तियाज अलीले आफ्ना फिल्महरूबारे कुरा गरे, जहाँ उनलाई प्रेमको परिभाषा दिन भनिएको थियो । जवाफमा उनले भने, ‘जुन प्रेम पूरा हुन्छ, त्यो समाप्त हुन्छ । जुन अधुरो रहन्छ, त्यो जिउँदो रहन्छ । यही कारणले ‘हीर–राँझा’ देखि ‘लैला–मजनूँ’ सम्मका महान प्रेमकथाहरू अधुरा छन् ।’

अधुरो प्रेम

उनले विस्तारमा भने, ‘सबै कुरा पूरा भएर समाप्त हुन्छ । जुन आधा हुन्छ, त्यो जिउँदो रहन्छ किनभने जब कुनै कुरा आफ्नो अन्तिम बिन्दुमा पुग्छ, त्यो समाप्त हुन्छ । त्यसमा कुनै जिज्ञासा बाँकी रहँदैन ।

त्यसमा कुनै रुचि रहँदैन, कुनै ऊर्जा रहँदैन । तर जब कुनै कुरा अधुरो रहन्छ, तब त्यो व्यक्ति र त्यसलाई हेर्नेले त्यसबारे सोचिरहन्छ । त्यो कुरा उसको जीवनको हिस्सा बन्छ, सायद यही कारण हो ।’

जब उनलाई भनियो कि उनका फिल्म, विशेषगरी ‘रकस्टार’ मा हीरले आफ्नो पतिलाई धोका दिएको देखिन्छ, उनले भने, ‘तपाईं सबै ठूला प्रेमकथाहरू हेर्नुहोस्, त्यहाँ महिलाहरू विवाहित हुन्छन्, तर उनीहरू आफ्नो प्रेमलाई बिर्सन सक्दैनन् र आफ्ना प्रेमीसँग भेट्छन् ।’

दिलजीतबारे प्रश्न

एनडीटीभीका प्रस्तोता शुभंकर मिश्रले इम्तियाज अलीसँग दिलजीत दोसांझबारे पनि प्रश्न गरे । प्रश्न थियो, ‘उनले पाकिस्तानी अभिनेत्रीसँग काम गर्नु कति सही थियो ?’

इम्तियाज अलीले ‘अमर सिंह चमकीला’ मा दिलजीतसँग काम गरेका छन् ।

इम्तियाजले भने, उनले दिलजीतलाई व्यक्तिगत रूपमा चिन्छन्, त्यसैले भन्न सक्छन्, ‘उनी एक देशभक्त हुन् र यो धर्तीका सन्तान हुन् ।  उनी कन्सर्टको अन्त्यमा भारतको झण्डा फहराउँछन् र पञ्जाबको धर्तीको प्रशंसा गर्छन् ।’

उनले भने कि कुनै कलाकारलाई फिल्ममा कास्ट गर्नु अभिनेताको होइन, फिल्म बनाउनेहरूको निर्णय हो ।

यसअघि ‘हाइवे’ र ‘रकस्टार’ जस्ता संवेदनशील र सुपरहिट फिल्म बनाउने निर्देशक इम्तियाज अलीले एकपटक भनेका थिए कि फिल्मी दुनियाँका मानिसहरू राजनीतिक बयानका लागि उपयुक्त हुँदैनन् ।

उनले भनेका थिए, ‘निर्देशक र फिल्म निर्माताको रूपमा, मलाई लाग्छ कि देश वा विदेशमा हुने घटनाहरूले हामीलाई प्रभावित गर्छ । हामी तिनलाई बुझ्न सक्छौँ, देखाउन सक्छौँ, तर पूर्ण जानकारी बिना त्यसमा कुनै राय दिन सक्दैनौँ ।’

उनलाई उनको व्यक्तिगत जीवनमा प्रेमबारे प्रश्न गरियो, जसमा उनले भने कि उनलाई आशा छ कि एक दिन उनी आफ्नो प्रेम फेला पार्न सफल हुनेछन् ।

‘रकस्टार २’ कोबारे के भन्छन् ?

जब उनलाई ‘रकस्टार २’ बनाउने बारे सोधियो, उनले भने कि अरू कसैले बनाए राम्रो हुन्छ । उनको यस्तो कुनै तयारी छैन, तर ‘कुनै फिल्मसँग ‘टू’ जोडियो भने त्यो सफल हुन्छ ।’

सामाजिक सञ्जालमा उनको कुरामा धेरै टिप्पणीहरू भए । यहाँसम्म कि उनका केही पुराना अन्तर्वार्ताहरू पनि सेयर गरिए ।

एक प्रयोगकर्ताले लेखे, ‘रकस्टार केवल एक फिल्म होइन, मलाई लाग्यो यो त मेरो जीवन हो, जुन म बाँच्न चाहन्छु ।’

उनले गीतकार इरशाद कामिलसँगको आफ्नो मित्रताको पनि उल्लेख गर्दै भने उनी यस्ता व्यक्ति हुन् जो उनको सबै नौ फिल्ममा सँगै थिए । जमशेदपुरसँग सम्बन्ध राख्ने र दिल्लीको हिन्दू कलेजमा पढेका इम्तियाज अलीले करीना कपूर र शाहिद कपूरसँग २००७ मा ‘जब वी मेट’ बनाए, जुन निकै सफल भयो ।

त्यसपछि उनले सैफ अली खान र दीपिका पादुकोणसँग ‘लभ आजकल’ बनाए, जुन उनको हालसम्मकै सबैभन्दा सफल फिल्म मानिन्छ । त्यसपछि रणबीर कपूर र नर्गिस फाखरीसँग उनको फिल्म ‘रकस्टार’ आयो ।  यसबारे उनले भने कि यसमा काम गर्नेहरूको तालमेल उनले फेरि कहिल्यै देखेनन् ।

उनको फिल्म ‘हाइवे’ लाई धेरै प्रशंसा गरियो। त्यसमा आलिया भट्ट र रणदीप हुड्डाले मुख्य भूमिका निभाएका थिए । त्यसैगरी उनको एक फिल्म ’ककटेल’ आयो, जसमा फेरि सैफ अली खान र दीपिका पादुकोण थिए ।

‘तमाशा’ लाई ढिलो प्रशंसा

उनको फिल्म ‘तमाशा’ ले पनि दर्शकहरूलाई धेरै मनोरञ्जन दियो । उनको भनाइ थियो कि ‘तमाशा’ लाई मानिसहरूले ढिलो बुझे ।

त्यसपछि शाहरुख खान र अनुष्का शर्मासँग उनको फिल्म ‘जब हैरी मेट सेजल’ आयो, जुन बक्स अफिसमा असफल भयो ।  ‘लैला–मजनूँ’ र ‘लभ आजकल’ को सिक्वेल पनि खासै मन पराइएन, तर गत वर्ष उनको फिल्म ‘अमर सिंह चमकीला’ ले उनलाई फेरि सफलताको बाटोमा ल्याइदियो ।

सामाजिक सञ्जालमा मानिसहरूले इम्तियाज अलीलाई उनको फिल्महरूका लागि सम्झँदै तिनको विशेषताबारे चर्चा गरे । एक प्रयोगकर्ताले लेखे, ‘उनको कथा स्क्रिनको समयमा मात्र सीमित हुँदैन, यो लामो समयसम्म रहन्छ । इम्तियाज अलीले पीडा र जोशलाई उही ब्रशले चित्रण गर्छन् । जब उनी कथा भन्छन्, सिनेमा (दर्शकको) व्यक्तिगत अनुभव बन्छ ।’

जयपुर साहित्यिक महोत्सवको ह्यान्डलबाट एउटा पोस्ट सेयर गरियो, जसमा उनले भनेका छन् कि उनको फिल्म ‘तमाशा’ लाई मानिसहरूले ढिलो बुझे, जबकि शाहरुख खानसँगको उनको फिल्म ‘जब हैरी मेट सेजल’ असफल भयो, तब उनलाई थाहा भयो कि स्टारले सफलताको ग्यारेन्टी दिँदैन र कुनै पनि कुरा सफल वा असफल हुन सक्छ, तर तपाईंको काम तपाईंसँगै जान्छ ।

अर्की एक प्रयोगकर्ताले लेखिन्, ‘तपाईं इम्तियाज अलीको कामको तारिफ गर्न सक्नुहुन्न । तपाईंले त्यसलाई केवल महसुस गर्न सक्नुहुन्छ । उनी भावना, एक्लोपन र जोशलाई प्रस्तुत गर्ने मास्टर हुन् ।’

बिबिसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?