+
+
Shares
स्थलगत :

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा खण्ड निर्माणको क्रममा भोगेको सास्तीलाई सम्पन्न भएपछिको हर्षले बिर्साएको छ ।

विशाल सापकोटा विशाल सापकोटा
२०८२ असार २६ गते २१:३४

२१ असार, काठमाडौं । तनहुँ दमौलीका ८२ वर्षीय बुद्धिप्रसाद मुग्लिन-पोखरा सडकको स्तरोन्नति देखेर औधी खुसी छन् । पुरानो सदरमुकाम बन्दीपुरमा पुर्ख्यौली घर भएका बुद्धिप्रसाद २०२६ सालमा गोरेटो बाटो हिँडेर काठमाडौं आएको अहिले पनि झल्झली सम्झन्छन् ।

यतिबेला घर अगाडि विस्तारित ६ लेनको सडक देख्दा उनलाई युग फेरिएझैं लाग्छ । २०२६ सालमा बसाइँ सरेर आउँदा दमौलीमा झन्डै २७ घर भएको सम्झना छ उनलाई ।

‘२०२८-२०२९ सालमा चीनले अस्थायी बाटो बनाइदियो,’ पृथ्वी राजमार्गको ट्र्याक खुलेको क्षण सम्झँदै उनी भन्छन्, ‘त्यसपछि बल्ल ट्याक्टर गुडेको देखेका हौं ।’

शहरीकरणसँगै बढेको दमौली बजार र राजमार्गको विस्तारित स्वरूप देखेर उनी भन्छन्, ‘यो सबै देख्दा धेरै आनन्द आउँछ ।’

बुद्धिप्रसाद।

दमौलीमै भेटिएका सार्वजनिक सवारी चालक पदमबहादुर कुमाल सडकको फेरिएको रूपले सहजता भएको बताउँछन् । ‘पहिलेभन्दा धेरै राम्रो छ, अब गाडी सरर गुड्छ ।’

पहिले विद्यालयको बस चलाउँदै आएका ५९ वर्षीय कुमाल २ महिनादेखि सार्वजनिक सवारी चलाइरहेका छन् । ‘खाल्डाखुल्डीले गाडी बिग्रिइरहन्थ्यो । अब त मर्मत खर्च पनि कम आउँछ,’ उनले भने ।

आँबुखैरेनीमा बसोबास गर्दै आएका शिवराज पन्थी स्तरोन्नति भएको सडकमा अनुशासित भएर सवारी चलाउने बताउँछन् । आइसक्रिम उद्योग सञ्चालन गर्दै आएका उनलाई आफैं पनि गाडी चलाउँदै डेलिभरीमा बजारबजार जानुपर्ने हुन्छ ।

‘सवारीको गति बढेको छ, अनुशासित भएर चलाइदिनुहोला,’ उनी चालकहरूलाई आग्रह गर्छन्, ‘दुई लेन हुँदा दायाँबायाँ हेरेर चलाइन्थ्यो । अहिले ४ लेन हुँदा मिचेर गाडी चलाउने क्रम बढेको छ, त्यसो नगरिदिनुहोला ।’

निर्माणका क्रममा सास्ती बेहोरे पनि अब यात्रा छोट्टिने भएको सुनाउँदै उनी भन्छन्, ‘अब पोखरा पुग्न दुई घण्टा पनि लाग्दैन, धेरै खुसी छु ।’ स्तरोन्नतिसँगै सडकमा सवारीको चाप पनि बढेको उनको अनुभव छ ।

आन्तरिक पर्यटक भन्छन्- विदेश जस्तो लाग्यो

विराटनगरबाट मोटरसाइकलमा पोखरा घुम्न आएका आन्तरिक पर्यटक अशोक रौनियार साथीहरूसँग दमौलीमा सुस्ताउँदै थिए । अनलाइनखबरसँगको कुराकानीमा उनले मुग्लिन-पोखरा विस्तारित सडकले विदेशको झल्को दिएको सुनाए ।

त्यसो त दुई वर्षअघि यही सडकखण्डमा यात्रा गरेको सम्झना पनि छ उनलाई । भन्छन्, ‘दुई वर्षअघि आउँदा बाटो खत्तम थियो, अहिले धेरै राम्रो भएछ ।’

११ जनाको टोली बनाएर विराटनगरबाट मोटरसाइकलमा पोखरा हुँदै मुस्ताङसम्मको यात्रामा हिँडेका उनीहरूले आँबुखैरेनी कटेपछि दूरी छोट्टिएको पत्तै नपाएको अनुभूति साझा गरे ।

अशोक रौनियार।

सडकस्तरीय हुँदा हुने सहजताले नागरिकको मुहारमा देखिने कान्ति यही टोलीका सन्तोष रौनियारमा पनि झल्किन्थ्यो ।

पुरानो सदरमुकाम बन्दीपुरमा पुर्ख्यौली घर भएका बुद्धिप्रसाद २०२६ सालमा गोरेटो बाटो हिँडेर काठमाडौं आएको अहिले पनि झल्झली सम्झन्छन् । यतिबेला घर अगाडि विस्तारित ६ लेनको सडक देख्दा उनलाई युग फेरिएझैं लाग्छ ।

‘साह्रै राम्रो भयो । एक वर्षअघि बसमा यात्रा गर्दा यो बाटोमा सास फुलेजस्तो भएको थियो, अहिले साह्रै राम्रो भयो । एकदमै खुसी छु,’ उनले भने ।

दमौलीको ट्राफिक प्रहरी कार्यालय नजिक भेट भएका युद्धप्रसाद वाग्ले निर्माणको क्रममा भोगेको सास्तीलाई अहिले सम्पन्नतापछिको हर्षले जितेको बताउँछन् ।

दमौली बजारकै स्थानीय उनले सडक स्तरोन्नतिको बेलाको सास्ती दिनहुँजसो नै भोगे ।

‘विकास भनेकै सास्ती बेहोरेपछि आउने प्रतिफल हो, निर्माणका क्रममा भएको कठिनाइहरू भनिसाध्य छैन, वर्षातका बेला पानी जाम हुने, हिउँदका बेला धुलोधुँवा हुने यस्तो त भोगियो नै,’ उनले भने ।

के भन्छन् पोखरावासी ?

पोखरा महानगरपालिका-२९ भण्डारढिकका स्थानीय गोविन्दमणि आचार्य आयोजना अन्तर्गतको पश्चिम खण्डको काम छिटो भएको बताउँछन् ।

७० वर्षीय आचार्य गगनगौंडादेखि ६ लेनमा विस्तारित हुँदै गरेको सडक देख्दा हर्ष महसुस गरेको बताउँछन् ।

उनी भन्छन्, ‘आर्दशचोकदेखि माथि तालचोकदेखि तलको खण्ड त १० वर्षसम्मअघिसम्म हामीले सुगमको कालिकोट भन्थ्यौं, अहिले फराकिलो भयो, असाध्यै खुसी छौं ।’

गोविन्दमणि आचार्य

महानगरभित्रै परे पनि पोखरा छिर्ने नाका क्षेत्रको सडक जर्जर हुँदा विगतमा नकारात्मक सन्देश गएको उनी सम्झन्छन् ।

भण्डारढिकमै पसल चलाउँदै आएका कृष्णप्रसाद बराल भने विस्तारित सडकले व्यापार प्रभावित भएको दुखेसो पोख्छन् ।

‘सडक फराकिलो हुँदा पैदल यात्रु वारिपारि गर्न असहज भएको छ । ६ लेनको सडकले आवागमन त सहज भयो तर, स्थानीयको व्यापार घट्यो,’ उनले भने ।

पोखरा महानगरपालिका-२९ सैनिक वस्तीको ग्यारेजमा भेट भएका दिपेन्द्र श्रेष्ठ विगतमा खाल्डाखुल्डीले दुर्घटना बढेको सम्झिन्छन् । महानगर-३३ का बासिन्दा उनी सडक फराकिलो भएकोमा खुसी व्यक्त गर्दै काम छिटो सक्नुपर्नेमा जोड दिन्छन् ।

‘बर्खा छ, काम छिटो भइदिए हुन्थ्यो । धेरै ठाउँमा नाला निर्माण नसकिएकाले डुबान हुनसक्छ । तैपनि, विस्तार कार्यले त खुसी नै छौं’, उनले भने ।

आवागमन सहज भए पोखराको पर्यटन पनि फस्टाउने उनी बताउँछन् ।

घरै भत्कियो, कतै तल पर्यो, कतै कोपरियो

दमौलीकै बासिन्दा रामबहादुर सापकोटा सडक स्तरोन्नति भएको राम्रो भए पनि स्थानीयलाई भने कठिनाइ भोग्नुपरेको बताउँछन् ।

व्यास नगरपालिका-४ का टोल अध्यक्ष समेत रहेका सापकोटा अधिग्रहणभित्र परेका घरहरू सडक सतहभन्दा कतै तल, कतै माथि परेकाले कठिनाइ भएको बताउँछन् ।

रामबहादुर सापकोटा।

चिनियाँ ठेकेदार कम्पनीले स्थानीयको गुनासो नसुनेको उनको गुनासो छ । ‘ठेकेदार हाम्रो कुरा सुन्दैन । मेयरलाई भन्यौं तर, सुनुवाइ भएन ।’

व्यास नगरपालिका-२ मालेबगरकी तारा माया दराईको घर स्तरोन्नतिका क्रममा सडक सतहभन्दा निकै तल पर्न गयो । घरको अगाडिको भाग डोजरले कोपरेर भत्काइएको भन्दा पनि सडक सतहभन्दा घर तल परेकामा उनलाई पिर परेको छ ।

तारा माया दराई।

विस्तारित सब-वे ले उनलाई आफ्नै घरभित्र छिर्न र बाहिर निस्कन समेत असहज भएको छ । वर्षातका बेला घरभित्रै पानी पस्ने गरेको उनको दुखेसो छ । ‘शाखा रोडको उचाइ अलिकति माथि पर्खालजस्तो बनाइदिए हुन्थ्यो,’ उनले भनिन् ।

दशकौंपछि फैलिएको राजमार्ग

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको यो खण्डले ४ लेनमा विस्तारित हुन पाँच दशक बढी कुर्नुपर्यो ।

२०२६ सालमा रेखाकंन भएको पृथ्वी राजमार्ग धादिङको नौबीसेदेखि कास्कीको पोखरासम्म पर्छ ।

यो राजमार्गको कूल लम्बाइ १७३ किलोमिटर छ । जसमध्ये राजमार्ग निर्माण भएको ५० वर्षभन्दा बढी समयपछि मुग्लिनदेखि पोखरा खण्ड २ लेनबाट ४ लेनमा स्तरोन्नति भएको हो ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा स्तरोन्नति भएको सडकबाट प्रत्यक्ष रूपमा तनहुँ र पोखरा बढी लाभान्वित हुने देखिए पनि यो देशकै गौरवको परियोजना हो ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने सडक साँघुरो र कष्टकर हुँदा आन्तरिक र वाह्य पर्यटकमा नकारात्मक प्रभाव पर्ने खतरा सधैं रहन्थ्यो ।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पोखरा पुग्न गण्डकी बाहेक बाँकी प्रदेशका अधिकांश र विदेशी पर्यटकले स्थलमार्ग प्रयोग गर्दा यही बाटो भएर जानुपर्ने बाध्यकारी अवस्था छ । त्यसैले पनि यो सडकमा आवागमनको सहजताले महत्व राख्छ ।

पूर्वी खण्डमा ८५ प्रतिशत, पश्चिममा कति प्रगति ?

आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ७९ किलोमिटर सडक बजार क्षेत्रमा ६ र अन्यत्र ४ लेनमा विस्तार हुनेछ ।

राजमार्गअन्तर्गत मुग्लिनको पुल तरेपछि आँबुखैरेनीसम्म पहिलेकै २ लेन सडक छ । आँबुखैरेनीबाट सडक ४ लेनमा विस्तार भएको छ ।

डुम्रे, दमौली र पोखरा सहितका बजार क्षेत्रमा ६ लेनमा विस्तार भएको सडकले पृथ्वी राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको देखाएको छ ।

एरियल भ्यूमा यो राजमार्गले विकसित देशको झल्को दिन्छ ।

यसअघि ६ सेन्टिमिटर मोटाइ रहेको सडकमा ४ सेन्टिमिटर कालोपत्र थपेर स्तरोन्नति गरिएका पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले बताए ।

उनका अनुसार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ८५ प्रतिशत प्रगति भएको छ । विश्वस्तरीय र महँगो मानिने अस्फाल्ट प्रविधि प्रयोग गरेर कालोपत्रको काम भएको उनले बताए ।

पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ ।

मादी नदीको पुल अनप जेडआई जेभी कम्पनीले निर्माण गरिरहेको छ । सो पुलको ४ लेन ढलान सम्पन्न भएको २ लेन अर्को वर्षसम्म सकिने इञ्जिनियर पाण्डेले जानकारी दिए ।

पूर्वी खण्डमा धेरै घरहरू विस्तारित सडक क्षेत्रमा पर्दा विगतमा निर्माण कार्यमा कठिनाइ भएको बताउँदै उनले क्रमशः आयोजनाले पूर्णता पाउन लागेको बताए ।

पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद यही २९ असार सकिँदैछ । तर सडक सुरक्षा, फुटपाथ, नाला लगायतका काम अझै बाँकी रहेकाले आयोजनाको ठेक्का अवधि पुनः चौथो पटक थपिने सम्भावना बढेको छ ।

साढे १३ अर्बभन्दा बढी लागतमा आयोजनाको ठेक्का सम्झौता भएको छ । जसअनुसार चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता पाएको छ ।

२०८१ वैशाखसम्म काम सक्ने भनी सम्झौता भए पनि तोकिएको समय अवधिमा सम्पन्न नहुँदा तेस्रो पटक थपिएको म्याद समेत असार मसान्तमा सकिन लागेको हो ।

आयोजनाको पश्चिमी खण्ड जामुने-पोखरा सडक विस्तारका लागि ३ जेठ २०७८ मा चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो ।

मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका सूचना अधिकारी अनन्त बरालले ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

पश्चिम खण्डअन्तर्गत ३८ दशमलब ८८ किलोमिटर सडकको स्तरोन्नति कार्य चलिरहेको हो । सूचना अधिकारी बरालका अनुसार हालसम्म २५ किलोमिटर ४ लेन कालोपत्र भएको छ ।

पश्चिम खण्डमा पोखराको मौरीभीर, त्रिभुवन विश्व विद्यालय अगाडि (टीयू गेट), डाँडाको नाकको कल्भर्ट, विजयपुरको पुलसहित १ दशमलब ५ किलोमिटर सडक क्षेत्र कालोपत्रे हुन बाँकी छ ।

विजयपुर खोलामा स्तरोन्नति गर्न लागिएको पुलका लागि भारतबाट क्रेन मगाउनुपर्ने भएको सूचना अधिकारीले बताए ।

विजयपुर खोलामा प्रिकास्ट गिर्डर (पूर्वनिर्मित) आधारित पुल बन्न लागेको हो । जसअनुसार साइटभन्दा बाहिर कंक्रिटबाट पूर्वनिर्मित पुललाई क्रेनमार्फत फाउन्डेसनमा लगेर स्थापित गरिन्छ । यस्ता पुल स्थापित गर्न ठूला क्रेन प्रयोग हुने भएकाले भारतबाट ल्याउनपर्ने भएको बरालले बताए । परम्परागत पुल निर्माणभन्दा यो प्रक्रिया छिटो समेत हुन्छ ।

पश्चिम खण्डमा दोस्रो चरणको कालोपत्र भने केही ढिला हुने देखिन्छ । आगामी आर्थिक वर्ष सुरुभएपछि दोस्रो चरणको कालोपत्र गर्ने आयोजनाको तयारी छ ।

आयोजनाका अनुसार सेती नदीमाथिको पुलको झन्डै ५० प्रतिशत काम सकिएको छ । पश्चिम खण्डमा थपिएको ठेक्का म्याद ६ सेप्टेम्बर २०२५ मा सकिनेछ ।

यो सडकखण्ड साँघुरो र कष्टकर हुँदा विगतमा निकै सास्ती बेहोर्नुपरेको थियो । निर्माण सकिएपछि यात्रुले बेहोरिरहेको सास्ती त अन्त्य हुनेछ नै, गण्डकी प्रदेशमा आर्थिक गतिविधि र पर्यटन क्षेत्र समेत फस्टाउने अपेक्षा छ ।

हेर्नुस् थप तस्वीरहरू:

तस्वीरहरू :  शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर

लेखक
विशाल सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?