
News Summary
Generated by OK AI. Editorially reviewed.- गुरु पूर्णिमा विहिबार मनाइँदैछ र सेलिब्रेटीले सामाजिक संजालमार्फत गुरु प्रति सम्मान व्यक्त गरेका छन्।
- अभिनेता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई गुरु मान्दै आफ्नो जीवनको महत्वपूर्ण किस्सा सेयर गरेका छन्।
- गिरीले डीसीको मार्गनिर्देशनले अमेरिका जानबाट रोकिएको र नेपालमै संघर्ष गर्ने निर्णय गरेको उल्लेख गर्दै गुरु पूर्णिमामा धन्यवाद दिएका छन्।
काठमाडौं । विहिबार गुरु पूणिमा मनाइँदैछ । गुरुप्रति श्रद्धाभाव व्यक्त गर्दै मनाइने यो पर्वको विशिष्ट महत्व छ । सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आफ्नै शैलीमा गुरु पूर्णिमा मनाइरहेका छन् ।
सेलिब्रेटीले सामाजिक संजालबाट गुरुप्रति सम्मान व्यक्त गरेका छन् । यस्तोमा अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले गुरु पूर्णिमाको अवसरमा पोस्ट गर्दैै आफ्नो जीवनको महत्वपूर्ण किस्सा सुनाएका छन् ।
गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसीलाई गुरुको रुपमा मान्दै आएका छन् । आफ्नो उपलब्धिमा डीसीको योगदान उच्च रहेको बताउँदै गिरीले गुरुको रुपमा डीसीप्रति सम्मान व्यक्त गरेका छन् ।
उनले स्टाटसमा आफ्नो जीवनको मर्मस्पर्शी किस्सा सेयर गरेका छन् । २०५३ सालमा पारिवारिक बाध्यताले गर्दा आफू अमेरिका जाने तयारीमा रहेको, नेपालमै बसेर कला क्षेत्रलाई निरन्तरता दिने कि विदेशिने भन्ने दुविधामा निर्णय गर्न मुस्किल भएको बेला डीसीले आफ्नो क्षमता चिनेको र नेपालमै रहेर कामलाई निरन्तरता दिन भन्दै मार्ग निर्देशन गरेको गिरीले उल्लेख गरेका छन् ।
‘तिमी कलाकार मात्रै भएको भए तिमीलाइ जाऊ भन्थेँ तर तिम्रो कलम राम्रो चल्छ त्यसैले तिम्रो सम्भावना नेपालमा नै उच्च देख्छु’ भनेर डीसीले सम्झाएको पनि गिरीले उल्लेख गरेका छन् ।
‘यही शब्द थियो जसले मलाई अमेरिका जानबाट रोक्यो र यहिँ संघर्ष गर्ने निर्णय गरे, फलस्वरूप आज आफ्नै देशमा प्रसन्नतापूर्वक जीवन बिताउन पाएँ’ उनले लेखेका छन्, ‘ आज मेरो यो उपलब्धिमा उहाँको ठूलो योगदान रहेको छ ! आज गुरु पूर्णिमाको अबसरमा उहाँलाई पुनः एकपल्ट धन्यवादसहित सादर प्रणाम गर्दछु ।’
‘साथै प्रारम्भका दिनहरूमा रेडियो नेपालमा नाटक सिकाउने मदनदास श्रेष्ठ, स्व दीपक कोइराला, स्व बासुदेब मुनाललाई पनि सम्झना गर्न चाहन्छु’ दीपक लेख्छन्, ‘म अध्यात्मतिर नजोडिएको भए बीचमा म टुटी सकेको हुन्थेँ होला । त्यसैले मलाई अनुशासन र ध्यान सिकाउने गुरू आनन्द बिनोदलाई दन्डवत प्रणाम ।’
गिरीको पहिलो टेलिभिजन कार्यक्रम ‘ट्वाक्क टुक्क’ हो, जसको निर्देशन डीसीले गरेका थिए । डीसीकै कारणले दीपकराजले रेडियो कान्तिपुरमा पहिलो जागिर सुरू गरेका थिए । टेलिभिजन कार्यक्रमको पहिलो स्क्रिप्ट लेखन पनि डीसीबाटै सुरू भएको हो । त्यसैगरी, लोकप्रिय ‘छक्कापञ्जा’ सिरिजको पहिलो फिल्म ‘६ एकान ६’का निर्देशक पनि डीसी नै हुन् ।
कामको कुरा गर्दा, दीपक पछिल्लो समय एक फिल्मको तयारीमा ब्यस्त छन् भने उनी नयाँ बानेश्वरस्थित आइएनआई फिल्म हलका संचालक समेत हुन् ।
प्रतिक्रिया 4