
२७ असार, काठमाडौं । पाकिस्तानका बौद्ध सम्पदाहरू समेटिएको नेपाली भाषाको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ को काठमाडौंमा विमोचन गरिएको छ ।
ओम चरण अमात्यकृत पुस्तकको नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले विमोचन गरेका हुन् । नेता भीम आचार्यले जनस्तरको सम्बन्ध सुदृढ गर्न सांस्कृतिक सम्पदाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने, ‘बौद्ध सम्पदा नेपाल र पाकिस्तान दुवै देशको साझा धरोहर हो। सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन जनस्तरको सम्पर्क अझै विस्तार गर्नु जरुरी छ ।’
कार्यक्रममा म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङ र श्रीलंकाकी कार्यवाहक राजदूत चमेएरा मुनासिंह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न बौद्ध भिक्षुहरू, धार्मिक–सांस्कृतिक विज्ञहरू, राजनीतिकर्मी लगायतको उपस्थिति थियो। कार्यक्रममा पाकिस्तानका विभिन्न विश्वविद्यालय र थिंक ट्यांकहरूले भने अनलाइनमार्फत कार्यक्रममा सहभागिता जनाए ।
कार्यक्रममा पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धन दूत ए. इमरान शौकतले भर्चुअल सम्बोधन गर्दै पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहलबारे जानकारी गराएका थिए ।
पुस्तकका लेखक ओम चरण अमात्यले पाकिस्तानमा रहेका बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरू, तिनको नेपालसँगको ऐतिहासिक सम्बन्ध र नेपाली तथा विश्वभरका बौद्ध समुदायका लागि तिनको आध्यात्मिक र सांस्कृतिक महत्त्वबारे प्रकाश पारे ।
पाकिस्तानका नेपालस्थित राजदूत अब्रार एच. हाशमीले पाकिस्तानले आफ्नो सांस्कृतिक सम्पदालाई गौरवपूर्वक संरक्षण गर्दै आएको उल्लेख गरे। उनले उक्त सम्पदालाई अनुभूतिको रूपमा बौद्ध अनुयायी र पर्यटकहरूसँग बाँड्न चाहेको बताए ।
प्रतिक्रिया 4