
२८ असार, पोखरा । पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा बहुमतनिकट कम्युनिस्ट युवा संगठन नेपालको फ्याक्सन इन्चार्जसमेत रहेका विकलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको छ भने कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजिगरिरहेको छ ।
‘विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि कालोमोसो दलिएको देखिएको छ । विकलाई पक्राउ गरी अभद्र मुद्दामा अनुसन्धान अगाडि बढाएका छौं’, कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘अन्यमाथि पनि पक्राउ पुर्जी जारी गरी खोजि कार्य भइरहेको छ । मुख्य योजनाकार चाहिँ विक नै रहेको देखिन्छ ।’
विकको यसअघिको मुद्दा र विगतका घटना पनि अनुसन्धान भइरहको एसपी ओलियाले बताए । विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
पोखरा छोरेपाटनस्थित पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई सुम्पिएको भन्दै व्यवस्थापन समिति अध्यक्ष पहारीलाई शुक्रबार छोरेपाटन बजारमै विद्यार्थीले कालोमोसो दलेका थिए । कालोमोसो दलेपछि विज्ञप्ति जारी गर्दै बहुमतनिकट विद्यार्थी संगठनले जिम्मेवारी लिएको थियो भने पहारीलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।
छोरेपाटन माविमा नै लामो समय पढाएका र शिक्षण पेसाबाट अवकाशपछि अहिले सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका पहारीलाई कालोमोसो दलिएपछि चौतर्फी विरोध र आलोचना भएको छ ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । त्यहाँ प्रवेश गरेबापत उठ्ने रकम विद्यालय व्यवस्थापनमा खर्च हुँदै आएको थियो । तर, महालेखा परीक्षकको कार्यालयले बर्सेनि महानगरलाई विद्यालयबाट आफ्नो स्वामित्वमा ल्याउन र त्यहाँबाट उठेको रकमलाई बेरुजूका रुपमा प्रस्तुत गर्दै आइरहेको थियो ।
पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो । निजी कम्पनीलाई ४० वर्षका लागि सार्वजनिक सम्पदा सुम्पिन लागेको भन्दै चौतर्फी विरोध भएको थियो भने विद्यालयले पाताले छाँगो जाने गेटमा ताला लगाउनेसमेत गरेको थियो ।
विद्यालयले बर्सेनि आम्दानी गरिरहेको ३ करोड रुपैयाँ महानगरले दिने सहमति व्यवस्थापन समितिसँग गरेको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति निजी कम्पनीलाई दिन अध्यक्ष नै सहयोगी बनेको र भ्रस्टाचार गरेको आरोप लगाउँदै कालोमोसो दलेको थियो । तर, अहिले पाताले छाँगोबाट शुल्क उठाउने र व्यवस्थापन गर्ने काम पोखरा महानगरपालिका आफैंले गर्दै आएको त्यहाँका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले बताए ।
सेती क्यान्यन प्रालिले पाताले छाँगोमा संरचना बनाउन महानगरसँग सम्झौतासमेत गरिसकेको थियो । तर, स्थानीय र विद्यालयको विरोधले रोकिएपछि सेती क्यान्यन प्रालिका सञ्चालक कर्केन गुरुङ अदालत गएर मुद्धासमेत जितेका छन् ।
उनले अहिले आफूले पाताले छाँगोमा महानगरसँग सम्झौता गरेर केही लगानीसमेत भइसकेकाले छिटो वातावरण बनाउन माग गरिरहेका छन् । त्यसको ब्यवस्थापन भने महानगर आफैंले गर्दै आइरहेको भए पनि महानगर नेतृत्व निजी कम्पनीलाई नै पातालो छाँगोमा सिसाको पुल निर्माण तथा व्यवस्थापनको जिम्मा दिन चाहन्छ । तर, स्थानीय र विद्यालयकातर्फबाट भइरहेको विरोधका कारण निश्कर्षमा पुग्न सकेको छैन ।
गत साल मध्य माघ महिनादेखि महानगर आफैंले पातालो छाँगोको शुल्क उठाउन थालेको हो । विद्यार्थीका लागि ३०, नेपाली नागरिकसँग ५०, सार्क राष्ट्रका नागरिकसँग १०० र विदेशी नागरिकसँग १ सय ५० रुपैयाँ शुल्क उठाउने गरेको महानगरले विद्यालयसँग बार्षिक ३ करोड रुपैयाँ दिने सहमति गरेको छ । तर, विद्यालयले सो पैसा नपाउँदा पनि समिति चुप बसेको आरोप कालोमोसो लगाउने विद्यार्थीको छ ।
प्रतिक्रिया 4