+
+
Shares

डाँडापारि क्षेत्रलाई ‘कफी हब’ बनाउने दुई पालिकाको योजना

कपिल कोइराला कपिल कोइराला
२०८२ असार २८ गते २१:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकाले किसानलाई कफी खेतीमा आकर्षित गर्न अनुदान र प्रविधि तालिम प्रदान गर्दै आएका छन्।
  • महाभारत गाउँपालिकाले एक बोट कफी विरुवा रोप्ने किसानलाई २० रुपैयाँ अनुदान दिने अभियान सञ्चालन गरेको छ भने खानीखोलाले उत्पादन अनुसार अनुदान दिने कार्यक्रम ल्याएको छ।
  • खानीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ अनुदान वितरण गरी ३५ हजार थप विरुवा वितरण गरेको छ, जसमा १७ कृषक समूहका २०० किसानले अनुदान पाएका छन्।

२८ असार, काभ्रेपलाञ्चोक । किसानहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफी खेतीको विस्तार गर्न काभ्रेपलाञ्चोकको विकट क्षेत्रमा रहेका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्रोत्साहन गर्दै आएका छन् ।

महाभारत गाउँपालिकाले एक बोट कफीको विरुवा रोपेबापत २० रुपैयाँ दिने अभियान सुरु गरेको छ भने कफी खेतीमा आकर्षित गर्न खानीखोला गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने कार्यक्रम ल्याएको छ ।

महाभारत गाउँपालिकाका केही वडामा कृषकहरुले आफ्नै तरीकाले कफी खेती गर्दै आएपनि महाभारत गाउँपाकिालाई नै ‘कफी जोन’ बनाउने उदेश्यले गत वर्षदेखि सुरु गरिएको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान अन्तरगत २ लाख २४ हजार कफीका विरुवा वितरण गरिएको छ ।

महाभारत गाउँपालिकाले ५ वटा वडालाई कफी पकेट क्षेत्र घोषणा गरे पनि सबै वडालाई कफी जोन बनाउने र कृषकलाई आम्दानीसँग जोड्नको लागि एक बोट कफीको विरुवा रोप्ने किसानका लागि २० रुपैयाँ अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

पालिका अध्यक्ष जिम्बाले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने र अनुदानको नाममा बिचौलियाले केही नपाउने भएकाले पालिकाले कफी खेतिका लागि प्रोत्साहन अभियान सञ्चालन गरेको जानकारी दिए ।

‘नारा अनुसार कृषि शाखाले ‘जस्ले रोप्छ कफीको बोट उसलाई २० रुपैयाँको नोट’ अन्तर्गत खाल्डो खनेर प्रमाणित गरिएका किसानहरूलाई अनुदान रकम दिने गरिएको छ,’ अध्यक्ष लामाले भने, ‘किसानको घरमा पुगेर कृषि प्राविधिकले खाल्डो खनेको प्रमाणित गरेपछि कफीको बोट दिने र २० रुपैयाँ अनुदानको लागि पालिकामा माग गर्नुपर्ने छ ।’

यो वर्ष र गत वर्ष गरेर २ लाख २४ हजार कफीका विरुवा वितरण भइसकेको छ । पालिकाले उपलब्ध गराएको विरुवा मध्ये ४० हजार महाभारतमानै उत्पादन भएको विरुवा हो भने बाँकी विरुवा काभ्रेका अन्य क्षेत्र, दोलाखा, ललितपुरवाट २५ रुपैयाँ दरमा किनेर ल्याइएको पालिका प्रमुख जिम्बाको भनाइ छ ।

‘पहिले केहि केही ठाउँमा विरुवा लगेर पनि नरोपिएको पाइएपछि अहिले खाल्डो खनेको पालिकाको प्रविधिकले जाँचगरेर प्रमाणित भएपछि मात्र कफीको विरुवा उपलब्ध हुन्छ,’जिम्बाले भने, ‘जस्ले विरुवा रोप्न खाल्डो खन्छ उसैले पाउँछ ।’

बागमती प्रदेश सरकारले ‘एक वडा एक उत्पादन’ कार्यक्रम अघि सारेपछि जिल्लाको महाभारत गाउँपालिकाले कृषकलाई कफी प्रशोधन प्रविधि तालिम सुरुवात गरेको थियो ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय धुलिखेलको सहयोग तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई कफी खेतीतर्फ आकर्षित गराउन तालिम दिइएको थियो ।

महाभारत गाउँपालिकामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन सुरु भएसँगै किसानहरूले गर्दै आएको कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाले एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको जनाएको छ । पालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत बनाएको छ ।

कफी खेती विस्तार गर्न गाउँपालिका र प्रदेश सरकारसँगको साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र विकास गर्न बिरुवा रोप्ने, प्रविधि हस्तान्तरण र सिँचाइका लागि आवश्यक सहयोग कृषि विकास कार्यालय काभ्रेले गरेको छ ।

यो वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि विकास कार्यालयकाभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।

त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि कृषि विकास कार्यालयकाभ्रेले सहयोग गर्नेछ ।

कफी खेतीबाट महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका शङ्खलाल थोकरले मात्र कफी खेती गरेर वार्षिक रु १६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै खेती छाडेर कफी खेतीमा लागेका छन् । ‘ ६ वर्ष अगाडिबाट कफी रोपेर खेती सुरु गरेका थोकरले नर्सरी पनि संचालन गरेका छन् ।

हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खनेकाछन् । ‘यसवर्ष मात्रै २ टन किलो फल्यो’, उनले भने, ‘केही गाउँपालिकाले केही बजार लगेर बिक्री भयो,’ उनले भने दाजुभाईकोसहित गरेर आफूहरूले १८ रोपनीमा कफी लगाएको बताएका छन् ।

कफी काँचो प्रतिकिलाे रु १३० र सफा गरेर सुकाएपछि प्रतिकिलाे रु ८३० सम्ममा बिक्री हुने जानकारी दिए ।

‘जसको उत्पादन, उसैलाई अनुदान’

केही वर्षअघिसम्म खाद्यबालीमा आश्रित काभ्रेकै खानीखोला गाउँपालिकाका किसानहरु कफी खेतीमा आकर्षित भएका छन् ।

मकै, कोदो, फापर लगायत बालीले वर्षभरि जीविका धान्न मुस्किल परेपछि दुई वर्षदेखि व्यवसायिक कफी खेतीमा रमाउँदै आएका उनीहरुलाई पालिकाले समेत कफीमा अनुदान दिएको छ ।

गाउँपालिकाले कफीखेतीलाई प्राथमिकतामा राख्दै दिगो आयस्रोतका रूपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अघि सारेको थियो ।

किसानले उत्पादन गरेको कफीमा एक किलो बराबर रु ३५ अनुदान दिँदै आएको छ। किसानले बढी उत्पादन गर्छन् उनैलाई बढी अनुदान दिने योजना रहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ बताउँछन् ।

पालिकाभित्र ६० देखि ७० टन सम्म कफी उत्पादन भएको छ । ‘नेपालको कृषिको अनुदान पँहुचमुखि, सम्बन्धमुखी र चिनजानमुखी छ, त्यसलाई तोड्दै खानीखोलामा उत्पादनको आधारमा अनुदान दिईरहेका छाैं,’ पालिका अध्यक्ष थिङले भने, ‘जसको घरमा जति फलायो उसले त्यतिनै अनुदान पाउँछ ।’

चालु आवमा अनुदान कार्यक्रमअनुसार ३५ लाख बजेट विनियोजन गरिएकोमा ३० लाख रकम वितरण भएको थियो ।

बाँकी बजेटबाट किसानलाई थप ३५ हजार विरुवा वितरण गरी नर्सरी प्रवर्द्धनमा लगानी गरिएको थिङले जानकारी दिए ।

गत वर्ष ६५ टन कफी उत्पादन भएकोमा यो वर्ष ५२ टन कफी उत्पादन भएको छ । पालिका क्षेत्रमा लगाइएको कफी एक वर्ष कम, अर्को वर्ष बढी फल्ने देखिएको भन्दै पालिका अध्यक्ष थिङले आम्दानीमा पनि असमानता देखिएको बताए ।

यस वर्ष गाउँपालिकाकाले १७ वटा कृषकसमूह अन्तर्गतका झन्डै २ सय किसानले ३० लाख सम्म अनुदान पाएका छन् ।

पालिकाको बेशी क्षेत्रका जगथली, तालढुंगा, महाँकाल तथा माझीटारबाहेक सबै क्षेत्रमा कफी उत्पादन हुँदै आएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?