
२९ असार, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर सडक आन्दोलन थालेका नवराज सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आफूलाई अन्यायपूर्वक निष्कासित गरिएको गुनासो गरेका छन् ।
आन्दोलन घोषणा गर्दा राप्रपाको साधारण सदस्य नरहने बताएका सुवेदीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निष्कासन गरेका थिए । त्यसविरुद्ध उजुरी लिएर निर्वाचन आयोग पुगेका सुवेदीले आइतबार पत्रकारहरुसँग कुरा गर्दै आफूलाई पार्टीको केन्द्रीय समितिको निर्णयविना, व्यक्तिगत रूपमा अध्यक्षले हटाएको आरोप लगाए ।
‘अध्यक्षको स्वेच्छाचारिताले मलाई हटाइयो,’ सुवेदीले भने, ‘केन्द्रीय समितिबाट निर्णय भएको छैन । त्यसैले यो प्राकृतिक न्यायको खिलाफमा उहाँले निर्णय गर्नुभयो ।’
उनले आफूमाथि प्राकृतिक न्यायविपरीत व्यवहार भएको दाबी गरे । ‘निर्णय गर्नुअघि मलाई सोध्नुपनि पर्थ्यो । मलाई सोधिएको पनि छैन । मलाई चिठी लेखेर दिइएको पनि छैन,’ सुवेदीले भने, ‘मैले त खाली मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकाल्नुभयो र अर्को मान्छे ल्याउनुभयो भनेर । त्यसैले निर्वाचन आयोगमा उजुरी दिन आएको हुँ ।’
२०८१ चैत ४ गते डिल्लीबजारको भोजनगृहमा आयोजित जनआन्दोलन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै सुवेदीले ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु’ भनेका थिए ।
तर उनले नेतृत्व गरेको राजावादीको आन्दोलन हिंसात्मक र सिथिल समेत भयो । आन्दोलन निष्कृयप्राय रहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले उनलाई अनुशासन समितिबाट हटाएका थिए ।
निर्वाचन आयोगमा पत्रकारहरुले सुवेदीलाई ‘राप्रपा छाडेँ भन्नुभएको होइन र ?’ भनेर प्रश्न गरे । तर सुवेदीले आफ्नो अभिव्यक्तिलाई अलग सन्दर्भमा बुझिनु नहुने बताए । ‘त्यो भाषणको अगाडि र पछाडि पढ्नुपर्छ । त्यो भाषणको आसय संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रको निम्ति म जुनसुकै बलिदान दिन पनि तयार छु । इभन मैले मेरो पार्टीबाट राजीनामा दिनुपर्यो, छोड्नुपर्यो भने पनि म तयार छु । तर यो कद (संघर्ष) म छोड्दिनँ भनेको थिएँ,’ उनले भने, ‘अघिपछिको सबै कुरा हटाएर बीचमा उहाँहरूको सुविधाअनुसार त्यही पोर्सन मात्र आयो ।’
उनले आफूले पार्टी अनुशासनविपरीत कुनै गतिविधि नगरेको पनि दाबी गरे । ‘मैले पार्टी बलियो होस्, षड्यन्त्र नहोस् भनेर आवाज उठाएको हुँ,’ सुवेदीले भने, ‘राप्रपा फुट्दैन । तर आन्तरिक अन्यायको विरोध गर्नुपर्छ ।’
राजावादी आन्दोलन कमजोर हुँदै गएको टिप्पणीप्रति पनि उनले असहमति जनाए । ‘राजावादी आन्दोलन हराएको छैन, त्यो त गडगडाएर आउँछ,’ उनले भने, ‘यो आन्दोलन राप्रपाले मात्रै होइन, ४४/४५ वटा संगठनले मिलेर चलाएको हो ।’
सुवेदीले निष्पक्ष न्याय पाएपछि आफूले आगामी कदम तय गर्ने पनि बताए ।
प्रतिक्रिया 4