+
+
Shares

रसुवा बाढीले बगाएका शव सनाखतमा डीएनएकै भर

चिकित्सक भन्छन्- सनाखत हुन महिनौं लाग्न सक्छ

रसुवा बाढीले बगाएका धेरै शव टुक्राटुक्रा छन् । शरीरका टुक्रा मात्रै भेटिएकाले पहिचान गर्न कठिन भएको छ । शव सनाखत गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थितको फरेन्सिक विभाग हड्डी वा दाँतबाट डीएनए नमुना संकलन गरी वैज्ञानिक परीक्षण प्रक्रियामा जुटेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ असार ३१ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु भएका शवको सनाखत प्रयास गरिरहेको छ।
  • फरेन्सिक विभागले शव क्षतविक्षत भएकाले डीएनए परीक्षणमार्फत मात्र सनाखत सम्भव हुने बताएको छ र मृतकका परिवारबाट रगतको नमुना संकलन गरिरहेको छ।
  • फरेन्सिक विभागका अनुसार डीएनए म्याचिङपछि मात्रै शव परिवारलाई बुझाउने नीति छ र प्रक्रिया केही समय लाग्न सक्ने छ।

३१ असार, काठमाडौं । रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शव सनाखत गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले प्रयास गरिरहेको छ ।

शव क्षतविक्षत अवस्थामा भएकाले सनाखत प्रक्रिया चुनौतीपूर्ण भएको फरेन्सिक विभाग चिकित्सक युजेन डोल्मा वालुङले बताइन् ।

‘अहिलेसम्म बाढीका कारण मृत्यु भएको भनेर ल्याइएका ९ वटा शव आएका छन्,’ डा. वालुङले अनलाइनखबरसँग भनिन्, ‘तीमध्ये ४ वटा शव मात्रै सग्लो खालका छन् । अरु सबै टुक्रा–टुक्रा छन् ।’

२५ असार बिहान ३ बजे आएको बाढीले बगाएका व्यक्तिको शवमध्ये धेरैको अवस्था यति बिग्रिएको छ, हेरेर पहिचान गर्न सम्भव नै छैन ।

कसैको टाउको छैन, कसैको खुट्टा मात्रै छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘म्याङ्गल्ड बडी’ भनिन्छ ।

फरेन्सिक विभागका अनुसार उच्च बेगको बाढीले शव क्षतविक्षत हुँदा सनाखत प्रक्रिया लम्बिएको हो ।

हालसम्म एकजनाको शव मात्रै सनाखत हुन सकेको छ । उक्त शव धादिङमा भेटिएको थियो ।

‘त्यो शवमा विशिष्ट ट्याटु भएकाले पहिचान गर्न सहज भयो,’ डा. वालुङले अनलाइनखबरसँग भनिन् ।

चिकित्सकका अनुसार घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर यस्तो विपदमा शव पहिचानको लागि केही अन्य प्रक्रिया अपनाएर परीक्षण गरिन्छ ।

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ ।

तर, यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छन्– फिङ्गर प्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण ।

शरीर चिन्न नसकिने भएका कारण सनाखतका लागि डीएनए परीक्षण प्रक्रियामा फरेन्सिक विभाग जुटिरहेको छ ।

डा. वालुङले भनिन्, ‘कतिपय परिवार सम्पर्कमा आइरहनुभएको छ । उनीहरूसँग एन्टिमोर्टम डाटा (पूर्व मृत्यु सूचना) संकलन संकलन गरिरहेको छौं । धेरै परिवारले काम लाग्ने खालको सूचना दिन सक्नुभएको छैन । त्यसैले हामी डीएनए प्रक्रियामै भर परिरहेका छौं ।’

फरेन्सिक विभागले शवबाट हड्डी वा दाँतको नमुना संकलन गरी डीएनए परीक्षणका लागि प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाएको छ ।

यस्तै, मृतकका परिवारबाट पनि रगतको नमुना संकलन गरी डीएनए प्रोफाइल म्याच गरिनेछ ।

‘डीएनए प्रोसेस सुरु गरिसकेका छौं, तर म्याचिङ र अन्तिम पुष्टि भने प्रयोगशालाको प्रक्रियामा निर्भर हुन्छ,’ वालुङले भनिन्, ‘यस प्रक्रियामा केही समय लाग्न सक्छ ।’

विभागमा ल्याइएका शव रसुवा, धादिङ, नुवाकोट र चितवनमा भेटिएका थिए ।

मृतकका आफन्त भने शव फेला पारेर पहिचान हुने आशामा फरेन्सिक विभागमा सम्पर्क गरिरहेका छन् ।

डीएनए म्याचिङ भएपछि मात्रै शव सम्बन्धित परिवारलाई बुझाउने फरेन्सिक विभागको नीति छ ।

‘हामी अनुमानमा शव दिन सक्दैनौं,’ उनले प्रष्ट पार्दै भनिन्, ‘एकछिन चाँडो शव पाउँदा पीडित परिवारलाई राहत होला । तर केही कारणवश गलत शव पर्न गएको अवस्थामा ठूलो मेडिकल इस्यू बन्न सक्छ ।’

अब हराएका व्यक्तिका परिवारबाट रगतको नमुना लिएर डीएनए म्याचिङ गरिन्छ । यो प्रक्रियाले मात्रै पहिचान सम्भव डा. वालुङले बताइन् ।

यसका लागि प्रहरी र फरेन्सिक विभागले समन्वय गरिरहेका छन् ।

‘जति सकिन्छ, हामी प्रक्रिया पारदर्शी र वैज्ञानिक तरिकाले गरिरहेका छौं । तर यस्तो अवस्थामा परिवारले केही धैर्य गर्नुपर्ने अवस्था आउँछ,’ डा. वालुङले अनलाइनखबरसँग भनिन् ।

अस्पतालमा पोस्टमार्टमका लागि राखिएको शव/फाइल तस्वीर

‘डीएनए नै अन्तिम उपाय हो’

शवसँग कपडा, परिचय खुल्ने सामग्री, टाउको छैन । हात–खुट्टा, हड्डीको टुक्रा वा शरीरको कुनै भाग भएको यस्तो अवस्थामा ती शव कसका हुन् ? कसरी पहिचान गर्ने ?

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग पूर्वप्रमुख डा. हरिहर वस्तीको जवाफ छ– डीएनए बाहेक अर्को कुनै विकल्प छैन ।’

उनका अनुसार बाढीमा बगेर मृत्यु भएका व्यक्तिको अवस्था यति भयावह हुन्छ कि, शारीरिक संरचनाको पहिचान समेत सम्भव हुँदैन।

‘शवका टुक्रा होलान्, कपडा छैनन् होला, साथमा केही पनि छैन, जुन हेरेर चिन्न सकियोस्,’ डा. वस्ती भन्छन्, ‘यस्तोमा सनाखत गर्न हामीसँग डीएनए टेक्नोलोजीबाहेक अरू विकल्प छैन ।’

शवबाट हड्डी वा दाँतको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाउने काम भइरहेको छ । मृतकका आफन्तबाट पनि रगत संकलन सुरु गरिएको छ । फरेन्सिक विज्ञका अनुसार यस्तो अवस्थामा डीएनए परीक्षण नै एक मात्र भरपर्दो प्रक्रिया हो ।

उनका अनुसार शवको पहिचानका लागि हराएका व्यक्तिका नजिकका आफन्त  बाबुआमा, छोराछोरी वा दाजुभाइबाट रगत वा थुकको नमुना संकलन गरी डीएनए प्रोफाइल बनाइन्छ ।

त्यसपछि शवबाट लिइएको हड्डी वा दाँतबाट बनाइएको डीएनएसँग मिलाइन्छ । यदि मेल खायो भने त्यो शव कसको हो भन्ने प्रमाणित हुन्छ ।

यदि पहिचान हुन सकेन भने त्यस्ता शव ‘बेवारिसे’ श्रेणीमा पर्छन् ।

‘सनाखत हुन नसकेका शव कसैलाई दिन मिल्दैन’ डा. वस्तीले भने, ‘यस्ता शव बेवारिसे रूपमा दर्ज हुन्छन् र राज्यको जिम्मेवारीमा व्यवस्थापन गरिन्छ ।’

उनले विगतका अनुभव सुनाउँदै भने, ‘हामीले पहिले पनि बाढीपहिरोका कैयौं केस देखेका छौं । कतिपय शव पहिचान नहुँदा अन्त्य बेवारिसे नाममै हुन्छ ।’

डा. वस्तीका अनुसार यस अवस्थामा शरीरको मासु गलेको वा कुहिएको हुनसक्छ । त्यस्ता भाग डीएनए परीक्षणका लागि उपयुक्त हुँदैन । त्यसैले  प्रायः दाँत र हड्डीबाट नमुना लिइन्छ ।

उनका अनुसार जिउँदो व्यक्तिका स्याम्पल भने थुक, रगत वा कपालबाट पनि लिन सकिन्छ । तर मृत अवस्थामा विशेषतः यस्तो अवस्थामा हड्डी र दाँत नै भरपर्दो माध्यम हो ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती

डा. वस्ती भन्छन्, ‘यदि सबै हराएका व्यक्तिका आफन्तहरू आएर स्याम्पल दिए भने सम्भावना बलियो हुन्छ । २०–२५ जना हराएको भनिएको छ भने ती सबैको डीएनए प्रोफाइल चाहिन्छ । उता शवका नमुनाहरूको प्रोफाइल पनि बनाउने र त्यसपछि म्याचिङ गर्दा कसैको मिलिहाल्छ ।’

तर, चुनौती भनेको सबै आफन्त सम्पर्कमा नआउनु हो । सबैले नमुना दिनुपर्छ । यसका लागि प्रहरी, स्थानीय प्रशासन र अस्पतालबीच सहकार्य जरुरी हुन्छ ।

डीएनए परीक्षण सरल भए पनि प्रक्रिया लामो हुन्छ ।

डा. वस्ती भन्छन्, ‘नमुना लिनु, ल्याबमा पुर्‍याउनु, एनालाइसिस गर्नुपर्ने हुन्छ । सम्पूर्ण प्रक्रिया सुरु गरेर परिणाम ल्याउन भने दुई–चार महिना पनि लाग्न सक्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?